पेट्रोलियम गाडीको आयात ७६ प्रतिशतले घट्यो, राजस्व संकलनमा धक्का



काठमाडौं । उच्च आयातका कारण विदेशी सञ्चिति घट्दै गएको र बजारमा तरलता अभाव भएको भन्दै पैठरीमा लगाएको प्रतिबन्ध र आर्थिक मन्दीले बजारमा माग नहुँदा पेट्रोलियम सवारी साधनको आयात ह्वात्तै घटेको छ ।

भन्सार विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७८/७९ को तुलनामा सन् २०७९/८० मा पेट्रोलियम सवारी साधनको आयात ह्वात्तै घटेको हो ।

सरकारले उच्च आयातका कारण अर्थतन्त्रमा समस्यामा देखिएको भन्दै विलासिताका सवारी साधन आयातमा कडाइ गरेको थियो । सरकारले विशेषगरी विलासिताको वस्तुको रुपमा पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको आयातमा लामो समयसम्म प्रतिबन्ध गरेको थियो । प्रतिबन्धसँगै अर्थतन्त्रमा देखिएको समस्याले बजारमा माग नहुँदा पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयातमा कमी आएको विभागले जनाएको छ ।

तर, विद्युतीय सवारी साधनको आयात ह्वात्तै बढेको छ । सरकारले विद्युतीय गाडीमा प्रोत्साहन गरेकाले पनि उक्त प्रकारका गाडी उच्च बढेको विभागले जनाएको छ ।

नेपालले हरेक वर्ष अर्बौं रुपैयाँको पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधनको आयात गर्दै आएको छ । तर, गत वर्ष सबैभन्दा कम सवारी साधन आयात भएको तथ्यांकले देखाउँछ ।

तथ्यांकअनुसार आव २०७८/७९ मा नेपालले विभिन्न मुलुकबाट १५ हजार ६१० वटा गाडी आयात गरेको थियो । गत वर्ष सरकारले गरेको कडाइ र आर्थिक मन्दीले माग नहुँदा ३ हजार ७२५ वटा गाडी आयात भएको छ, जुन ७६.१४ प्रतिशतले कमी हो ।

नेपालले २०७८/७९ मा १५ हजार बढी गाडी ल्याउँदा १७ अर्ब ९७ करोड ९४ लाख रुपैयाँ रकम बाहिरिएको थियो । गत वर्ष आयात घट्दा नेपालबाट ५ अर्ब ५७ करोड २८ लाख रुपैयाँ रकम बाहिरिएको छ ।

तथ्यांकमा पेट्रोलियम पदार्थको गाडी आयात हुन नसक्दा राजस्व संकलनमा ठूलो धक्का पुगेको छ । गत वर्ष नेपालले ३० अर्ब रुपैयाँ राजस्व संकलन गुमाएको छ । विभागका अनुसार आव २०७८/७९ मा नेपालले आयातित पेट्रोलियम पदार्थबाट चल्ने गाडीको आयातबाट नेपालले ३९ अर्ब ४४ करोड ६६ लाख रुपैयाँ राजस्व संकलन गरेको थियो । गत वर्ष भने सरकारले ९ अर्ब ५१ करोड ९६ लाख रुपैयाँ मात्रै संकलन गरेको छ ।

नेपालले गत वर्ष १ अर्ब १ करोड ७२ लाख रुपैयाँका ४९९ वटा २५ सिटभन्दा बढी क्षमताका बस आयात भएको छ । त्यस्तै, नेपालले गत वर्ष २० करोड ९५ लाख रुपैयाँको १३८ वटा १५ देखि २५ सिट क्षमताको मिनी बस र ५ करोड ८१ लाख रुपैयाँ ४३ वटा गाडी आयात गरेको छ ।

नेपालले गत वर्ष २५ सिटको २ वटा र ४५ करोड ६७ लाख रुपैयाँको आयात गरेको छ ।  त्यस्तै, १८ करोड रुपैयाँको ५० वटा २००० सीसीभन्दा बढीको जिप, कार र भ्यान, ३१ करोड ९२ लाख रुपैयाँको ३९६ वटा १ हजार सीसीका गाडी र १ अर्ब ९१ करोड ३५ लाख रुपैयाँको १६८० वटा १ हजार सीसीदेखि १५ सय सीसीसम्मका गाडीको आयात भएको छ ।

विभागका अनुसार सो अवधिमा ११ करोड ४० लाख रुपैयाँक ५२ वटा १५ सय सीसीदेखि २ हजार सीसीसम्मका गाडी, २ करोड रुपैयाँका २ हजार सीसीदेखि २५ सय सीसीका १० वटा, ६ करोड ६ लाख रुपैयाँका ३ हजार सीसीका ११ वटा, १७ करोड रुपैयाँका १५ सय सीसीसम्मका १३९ वटा, ६४ करोड रुपैयाँको १५ सय सीसीदेखि २५ सय सीसीका ४१९ वटा, ४१ करोड ४० लाख रुपैयाँका २५ सय सीसी क्षमताका ९९ वटा र ३ करोड ७६ लाख रुपैयाँको २ हजार सीसीको १६ वटा गाडी आयात गरेको छ ।

भारतबाट मात्रै ३५ सय गाडी आयात

नेपालले पेट्रोलियम पदार्थबाट चल्ने सवारी साधन भारतबाट उच्च आयात गर्ने गरेको छ । गत वर्ष नेपालले ३७ सय गाडी आयात गर्दा भारतबाट मात्रै ३५ सय गाडी आयात गरेको छ ।

भारतपछि जापानबाट ११५ वटा, चीनबाट ३६ वटा, जर्मनीबाट ५ वटा, फ्रान्सबाट २ वटा, सेज रिपब्लिकबाट २ वटा,  इन्डोनेसियाबाट १३ वटा, दक्षिण कोरियाबाट १३ वटा, मेक्सिकोबाट २ वटा, स्लोभाकियबाट ४ वटा, स्पेनबाट २ वटा,  थाइल्यान्डबाट १५ वटा, बेलायतबाट ४ वटा र अमेरिकाबाट ५ वटा गाडी आयात भएका छन् । तर, विद्युतीय सवारी साधन भने नेपालले चीनबाट उच्च रुपमा आयात गर्दै आएको छ ।


क्लिकमान्डु