‘ब्ल्याक सी’को व्यापार सम्झौताबाट पछि हट्यो रुस, विश्वमा खाद्यान्न वितरण प्रणाली प्रभावित हुने



एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सोमबार जुन निर्णय गरेका छन्, यसले पूरै विश्वलाई नै गम्भीर असर पर्ने सम्भावना बढेको छ। रुस युक्रेन युद्धको सुरुवात भएपछि पनि युक्रेनले ‘ब्ल्याक सी’ अर्थात कालो सागरबाट खाद्यान्नको सुरक्षित निर्यात गरिरहेको थियो। तर, रुस अब भने यो सम्झौताबाट पछि हटेको छ । रुसले सम्झौताबाट पछि हट्ने निर्णय लिएसँगै विगतमा भएको यो सम्झौताको पनि अन्त्य भएको छ ।

रुसले सोमबार संयुक्त राष्ट्र (युएन), टर्की र युक्रेनलाई आफूले ‘ब्याक सि’मा भइरहेको व्यापार र आयातनिर्यातको विषयको सम्झौतालाई थप निरन्तरता नदिने बताएको थियो । रुसले पश्चिमा देशहरुले आफ्नो भागको जिम्मेवारी ननिभाएका कारण यस्तो निर्णय लिएको बताएको थियो ।

रुसको यो फैसलालाई थुप्रै देशका नेताहरुले संसारका गरिब देशहरुमा प्रभाव पर्ने भन्दै आलोचना गरेका छन् । रुसले भने शर्तहरुको पालना गर्ने भएमा मात्रै पुनः यो सम्झौता गर्ने र यसलाई निरन्तरता दिने बताएको छ ।

यो सम्झौता इस्तानबुलको समयअनुसार मंगलबार राति १२ बजे समाप्त हुनेछ । यो सम्झौता रहँदा मालवाहक जहाजहरु ‘ब्ल्याक सी’ को बाटो हुँदै त्यसैको किनारमा रहेका ओडेसा, कार्नोमोस्र्क, युज्नी, पिव्डेन्यीजस्ता विभिन्न बन्दरगाहसम्म पुगिरहेको थियो । तर, सम्झौताको अन्य भएपछि भने जहाजले यो बाटोको प्रयोग गर्न पाउने छैनन् ।

रुसी राष्ट्रपति पुटिनले लामो समयदेखि रुसले आफ्नो खाद्यान्न र रासायनिक मलजस्ता वस्तुहरुको निर्यातका लागि अनुमति दिने सम्झौताका मापदण्डहरुको पालना नभएको भन्दै गुनासो गरिरहेका थिए । उनले मुख्य गरि यो सम्झौताको शर्तअनुसार गरिब देशहरुमा अनाज पुर्‍याइने भए पनि त्यस्तो नभएको भन्दै आलोचना गरिरहेका थिए ।

पश्चिमा देशहरुले लगाएको प्रतिबन्धका कारण आफ्नो कृषि उत्पादनहरुको निर्यात गर्न नपाएको गुनासो पुटिनले गरेका थिए ।पुटिनले विगतमा पनि यो सम्झौतालाई अन्त्य गर्ने धम्की दिएका थिए ।

रुसको विदेश मन्त्रालयले सोमबार आफ्ना यीनै गुनासा र आलोचनाहरुलाई दोहोर्‍याउँदै पश्चिमा देशहरुले ‘खुला रुपमा हमला गरेको’ र आफ्नो व्यवसायिक हितलाई मानवीय उद्देश्यभन्दा माथि राखेको भनेको छ ।

रुसका राष्ट्रपति पुटिनले यस्तो निर्णय लिँदा यसले विश्वभरका धेरै देशहरुमा खाद्यान्नको उपलब्धता तथा वितरण प्रणालीमा नै असर गर्नेछ । तर, टर्कीका राष्ट्रपति रेचेप तेयेप आर्दोआनले भने पुटिनसँग कुराकानी गरेर सम्झौतालाई निरन्तरता दिन राजी गराउने बताएका छन् । उनले सम्झौतालाई निरन्तरता दिने चाहना सहित आगामी महिना पुटिनसँगको भेटवार्तामा यो विषय उठाउने र यसलाई पुनः लागु गराउने बताएका हुन् ।

खाद्य अनाजको निर्यातका लागि यो निकै महत्वपूर्ण सम्झौता हो । यहि सम्झौताकै आधारमा युक्रेनले सूर्यमुखी, मकै, गहुँ र कोदोको निर्यात गरिरहेको थियो । युक्रेन यी कृषि उत्पादनहरुको निर्यात गर्ने संसारकै सबैभन्दा ठूलो निर्यातक हो ।

फेब्रुअरी २०२२ मा युक्रेनमाथि रुसले आग्रमण गरेसँगै रुसका सैनिक जहाजहरुले युक्रेनका बन्दरगाहहरुमा कब्जा जमाएका थिए । जसकारण त्यहाँ दुई सय टनसम्म खाद्यान्न रोकिएका थिए । यो घेराबन्दीका कारण विश्वभरमा नै खाद्य पदार्थको मूल्य बढ्ने देखि खाद्य संकट नै आउन सक्नेसम्मको अवस्था सिर्जना भएको थियो ।

हाल रोकिएको यो सम्झौताको निरन्तरता मध्य–पूर्व र अफ्रिकाका कैयौं देशहरुमा खाद्य संकट पनि देखा पर्न सक्छ । विगतमा पनि युक्रेनबाट हुने निर्यात रोकिएको समयमा विभिन्न सरोकारवाला संस्था तथा निकायहरुले यी क्षेत्रमा खाद्य संकट आउन सक्ने जोखिमबारे जानकारी गराएका थिए । हाललाई पनि सम्झौताको निरन्तरता नभएमा यी देशहरु गम्भीर रुपमा प्रभावित हुन्छन् । किनकी युक्रेनबाट निर्यात हुने खाद्यान्नमा नै यी देशहरुको निर्भरता रहेको छ ।

लामो समयसम्म चलेको प्रयास र टर्की तथा संयुक्त राष्ट्र संघको मध्यस्थतापछि मात्रै गतवर्ष जुलाईमा रुस र युक्रेनबीच खाद्यान्न निर्यातका लागि सम्झौता भएको थियो ।

रुसले सम्झौतालाई अन्य गर्ने भए पनि युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले भने आफूहरु नडराएको बताएका छन् । उनी आफ्नो देशबाट खाद्यान्नको निर्यात गरिरहन चाहन्छन् । उनले यो विषयलाई महत्व दिँदै सम्झौता हुँदा एकै किसिमका दुई सम्झौतामा आधारित भएर हस्ताक्षर गरिएको पनि बताए । जसमध्ये एकमा युक्रेन र दोस्रोमा रुसले हस्ताक्षर गरेको थियो ।

‘हामी डराएका छैनौं,’ रुसले सम्झौताबाट पछि हट्ने घोषणा गरेपछि जेलेन्स्कीले भनेका छन्, ‘जहाजको सञ्चालन गर्ने कम्पनीहरुसँग हामीले कुराकानी गरेका छौं । युक्रेनले उनीहरुलाई अनुमति दिएमा उनीहरु खाद्यान्नको परिवहनलाई जारी राख्नका लागि तयार छन् । उनीहरु टर्कीको बाटो हुँदै जानेछन् ।’

जेलेन्स्कीका सल्लाहकार मिखायलो पोडोल्याकले युक्रेनबाट निर्यातका लागि पठाइने खाद्यान्नको सुरक्षाका लागि एक अन्तर्राष्ट्रिय गस्तीसहितको सैनिक तैनाथ गर्न सकिने पनि संकेत गरेका छन् । तर, उनले यो गस्ती टोलीमा सामेल हुनका लागि धेरै देश इच्छुक नहुने पनि बताए ।

युक्रेनको खाद्य संघका अध्यक्ष निकोले गोर्बाचोभ भने आफ्ना सदस्यहरुले वैकल्पिक बाटोको पहिचान गरेको बताउँछन् । उनी डेन्यूब नदीमा बनेको बन्दरगाह पनि सामेल रहेको बताउँछन् । तर, यी बन्दरगाहहरुको क्षमता सीमित रहेका कारण यहाँबाट खाद्य अनाजको निर्यात गर्दा लागत बढ्ने र महंगो हुने उनको भनाइ छ ।

रुसले गरेको निर्णयले विश्वभरमा नै असर पर्ने भएका कारण यसले विभिन्न देशको ध्यान पनि तानेको छ । रुसको फैसला लगत्तै पश्चिमा देशका नेताहरुले भने यसको आलोचना गरेका छन् ।

युरोपेली आयोगका अध्यक्ष उर्सुला वोन डेर लेयेनले रुसको यो कदमलाई ‘पागलपन’को संज्ञा दिएका छन् । संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले रुसको निर्णय ‘क्रुरता’ भएको बताएकी छिन् ।

त्यस्तै, विश्व व्यापार संगठन (डब्ल्युटिओ)का प्रमुख गोजी ओर्कोजो इवियेलाले ब्ल्याक सीको बाटो र बाटो प्रयोग अनुमतिबारेको सम्झौता खाद्य पदार्थ, अन्न, रासायानिक मललगायतका लागि विश्वभरमा नै मूल्यलाई स्थिर राख्नका लागि महत्वपूर्ण रहेको बताए । उनले रुसले सम्झौताबाट पछि हट्ने निर्णयलाई पुनः विचार गर्नु पर्ने उनी बताउँछन् ।

संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गोटेरेसले रुसको निर्णयका कारण विश्वभर उत्पन्न हुने मानवीय संकटको विषयमा समाधान निकाल्न संस्थाले कोसिस गर्ने बताए । उनले भने, ‘भोक र दु:खले भरिएको संसारमा धेरै कुराहरु जोखिममा देखिएका छन् ।’

पश्चिमा देशहरुले आलोचना गरिरहँदा रुसले भने यो निर्णयलाई रुसमाथि भएको हमलासँग जोडेर हेर्न नमिल्ने बताएको छ । रुसका राष्ट्रपति पुटिनका प्रवक्ता दिमित्री पेस्कोवले यो सम्झौता खारेज गर्नु र रुसले युक्रेनमाथि गरेको हमलाबीच सम्बन्ध नभएको बताए । मस्कोमा आयोजित पत्रकार सम्मेलनमा उनले भनेका छन्, ‘यो हमलाभन्दा पहिले नै राष्ट्रपति पुटिनले रुसको पक्षलाई स्पष्ट गरिसकेका थिए ।’

बीबीसीबाट


क्लिकमान्डु