बर्खे तरकारी बेचेर शान्तिले कमाइन् एक लाख ९५ हजार



बाँके । बाँके बैजनाथ गाउँपालिका–८ टिटीहिरियाकी ५२ वर्षीया शान्ति चौधरीको दैनिकी २३ किलोमिटरको दूरी पार गर्दै आफ्नै बारीमा फलेको तरकारी लिएर नेपालगन्जको बजारमा बेच्नमै व्यस्त छ ।

साँझ परेपछि बारीमा फलेको तरकारी टिपेर घरको छानामाथि शीतमा राख्ने र भोलिपल्ट बिहानै ती तरकारीलाई बोरामा बाँधेर नेपालगन्जको बजारसम्म ल्याउनमै उनको दिन बित्ने गर्दछ । शान्ति तरकारी बोकेर बिहानै नेपालगन्ज आइपुग्छिन् ।

‍लगेजति तरकारी सबै बेचेर उनी घर फर्कन्छिन् । ‘‍आफ्नै बारीमा फलेको तरकारी ल्याउँछु त्यसैले यति उति हिसाब गर्दिन ल्याएको जति सबै बेचेर फर्किन्छु,’ उनले भनिन् ।

शान्तिले नेपालगन्जको सडक छेउमा बसेर विगत पाँच वर्षदेखि हिउँदे, बर्खे र बाह्रैमासे तरकारी बेच्दै आएकी छन् ।

प्रत्येक बिहान सडक छेउमा तरकारी बेजेर शान्तिले दैनिक चारदेखि पाँच हजारसम्म कमाउने गरेको बताउँछिन् ।

उनले यसपटक बर्खे तरकारी बेचेर एक लाख ९५ हजार कमाई गरेको बताइन् ।

‘दैनिक आम्दानी थोरै भनेको तीन हजार हुन्छ, नत्र त प्रायः चारदेखि पाँच हजारसम्मको भइरहन्छ । हामी बूढाबूढीले अस्ति भर्खरै हिसाब गरेको बर्खे तरकारी बेचेर एक लाख ९५ हजारको कमाई भएको रहेछ,’ उनले भनिन् ।

तरकारीबाट कमाएको पैसाले छोरीको पढाइ खर्च र घर खर्च दुवै चलेको उनले बताउनुभयो । शान्तिको चार छोरीसहित छ जनाको परिवार छन् ।

Ncell
शान्तिले जस्तै शोभारानी थारूले पनि आफ्नै बारीमा फलेको तरकारी बेचेर विगत चार वर्षदेखि घर चलाउँद आएकी छन् ।

५५ वर्षीया शोभारानीले तरकारी बेचेर दैनिक २ देखि पाँच हजारसम्म आम्दानी गर्छिन् । उनी बर्खामा भन्दा हिउँदमा बढी कमाउँछिन् ।

‘हिजोआजको समयमा फलेको तरकारीबाट भन्दा हिउँदे बालीबाट उत्पादन भएका चना, केराउ, मसुरोको दानासँगै जाँतोमा पिसेको दाल र अन्य गेडागुडीबाट मैले दिनको र पाँच हजार पाँच सयसम्मको आम्दानी गरेकी छु,’ उनले भनिन् ।

शोभारानी र शान्ति एउटै गाउँका भएको हुनाले उनीहरू बिहान ७:०० बजे नै गाउँबाट तरकारी बोकेर बेच्नका लागि नेपालगन्जको धम्बौझीमा आइपुग्छन् ।

बर्खाको समयमा शोभारानीले कटहर, आलु, प्याज, बर्खे खुर्सानी, भान्टा, कर्मुलाको सागलगायतका हरियो तरकारी बेचिरहेकी छन् । साथीको देखेर आफूले पनि बारीमा फलेको तरकारीलाई नेपालगन्जको बजारसम्म ल्याएर बेच्न सुरु गरेको उनले बताइन् ।

तरकारी व्यापार गर्न थालेको सुरुवातका दिनहरूमा केही लाज लागेपनि अहिले त्यस्तो नहुने उनले बताइन् ।

‘सडकको छेउमा तरकारीका थुप्रो लगाएर बेच्न मलाई पहिला त लाज लागेको थियो । तर अहिले त आफ्नै व्यापार हो भन्ने बुझेको छु । अब त सकुञ्जेल यही नै गर्ने हो,’उनले भनिन् ।

शोभारानीले आठ कठ्ठा जग्गामा लगाइएको तरकारीलाई बजारसम्म ल्याएर बिक्री गर्छिन् ।

शान्ति र शोभारानीलाई पछ्याउँदै ३० वर्षीया सुबिनाकुमारी थारूले पनि आफैँले बारीमा फलाएको हरियो तरकारीलाई बजारमा ल्याएर बेच्छिन् ।

उनले यसरी तरकारी बेच्न लागेको तीन वर्ष भयो । तरकारी बेच्नुभन्दा पहिला उनीले ज्याला मजदुरी गर्थिन् । आफूले दिनभरि काम गर्दा जम्मा पाँच सय पाउने र तरकारी बेचेर शोभारानी अनि शान्तिले २५ सयदेखि ५५ सयसम्म आम्दानी गरेको थाहा पाएपछि उहाँले पनि बारीमा फलेका तरकारीलाई बजारमा ल्याउन थालेकी हुन् ।

‘अर्काको काम गर्दा बिहानदेखि बेलुकासम्म नै खटिनुपर्थ्यो । सानै भए पनि यो त आफ्नै व्यापार हो । बिहानभरि तरकारी बेचेर दिउँसो घरको काम गर्न पनि पाइन्छ,’ उनले भनिन् ।

तरकारी बेचेरै सुबिनाले दैनिक ३ हजार ५ सयसम्म कमाएकी छन् । राम्रो कमाई भएपछि ‍तरकारी खेती र व्यापारमा सन्तुष्ट छिन् ।

‘पहिला घरमै मात्र खानका लागि तरकारी लगाइन्थ्यो । अहिले तरकारीबाट सोचेको भन्दा राम्रो आम्दानी हुन थालेपछि गोडमेलका लागि दुईदेखि तीन जनासम्म मान्छे लाग्छ,’ उनले भनिन् ।

तरकारी खेतीमा श्रीमान र छोराछोरीले पनि सहयोग गर्छन् । उनका एक छोरा र एक छोरी छन् । जनाको परिवारलाई सुबिनाकै तरकारीले पालेको छ ।

‘अहिले म निकै खुसी छु । अर्कैकामा काम गर्छु भन्नुभन्दा आफ्नै व्यापार गर्छु भन्नुमा छुट्टै मज्जा छ,’ उनले भने, ‘सडककै छेउमा बोरो ओछ्याएर तरकारी बेच्दा पनि यसले हामीलाई आत्मनिर्भर बन्न सिकाएको छ ।’

नेपालगन्जको धम्बोझी चोक नजिकै प्रत्येक बिहान सडकको छेउमा अर्ग्यानिक तरकारी किन्ने ग्राहकको भीड देखिन्छ ।

प्रायः मर्निङ वाक गर्नेले तरकारी किनेर लैजान्छन् । बिहान सडक सुनसान हुने र १०:०० बजेपछि सरकारी कामसँगै चहलपहल पनि बढ्ने भएकाले ५/६ बजेदेखि १०:०० बजेसम्म तरकारी बेच्ने वातावरण मिलाइदिएको नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख सूर्य बोगटीले बताए ।

विगत केही वर्षदेखि नेपालगन्जका सडक छेउमा गाउँघरका अर्ग्यानिक मौसमी तरकारीले बजार लिन थालेका छन् ।


क्लिकमान्डु