भ्याट लगाएसँगै आयात हुन छाड्यो किवी, दोब्बरले बढ्यो मूल्य



काठमाडौं । सरकारले तरकारी तथा फलफूलमा भ्याट छुट हटाएसँगै किवी आयात हुन छोडेको छ । बजारमा दैनिक ३ हजार केजी भित्रिने किवीको आयातमा सरकारले भ्याट छुट हटाएसँगै पैठरी हुन छोडेको हो ।

सरकारले आयातित कृषिजन्य वस्तुमा भ्याट छुट खारेज गरेपछि तरकारी तथा फलफूलको आयातमा उच्च प्रभाव परेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत कृषिजन्य वस्तुको आयात निरुत्साहित गर्न भन्दै भ्याट छुट खारेज गरेको थियो ।

सरकारले यसअघि तरकारी तथा फलफूलसहित अन्य १७० वटा वस्तु आयातमा मूल्य अभिवृद्धि कर (भ्याट) छुट दिएको थियो । तर, अर्थमन्त्री प्रकाशशरण मतहले आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै ती वस्तुमा दिँदै आएको छुट खारेज गरेको घोषणा गरेका थिए ।

सरकारले तरकारीसहित एभोकेडो, स्याउ, किवी, नास्पती, क्विन्स (श्रीफल), खुर्पानी, चेरीहरु, अमिलो चेरीहरु, स्ट्रबेरी, रैस्पबेरी, ब्ल्याकबेरी, मलबेरी र लोकानबेरी, कालो, सेतो वा रातो किसमिस वा दाख वा मुनक्का र गुस्बेरीहरु, क्रेनबेरी, बिलबेरी, अन्य भ्याक्सिननियम जातिका फलहरुको छुट भ्याट खारेज गरेको छ । उक्त भ्याट खारेजपछि किवीको आयात हुन छोडेको कुलेश्वर फलफूल थोक व्यवसायी संघका अध्यक्ष अम्बर बानियाँले बताए ।

उनकाअनुसार सरकारले बजेटमा व्यवसायीहरुसँग छलफल नगरी उक्त व्यवस्था गर्दा उपभोक्तालाई बढी असर पुगेको छ । ‘दैनिक ३ हजार केजी बजारमा भित्रिने किवीको आयातमा बजेटपछि ठप्प छ,’ उनले क्लिकमान्डुसँग भने, ‘अब कहिलेदेखि आयात सहज हुने भन्ने व्यवसायीहरुलाई नै थाहा छैन । आयातमा सबै व्यवसायीहरु अन्यौल छन् ।’

व्यवसायीहरुले यसअघि कृषिजन्य वस्तुको आयात गर्दा भ्याट लाग्दैनथ्यो । तर, अहिले सरकारले कृषिजन्य वस्तुको आयातमा भ्याटको व्यवस्था गरेको छ । उक्त व्यवस्थाले व्यवसायीलाई आयातमै झन्झट भएको उनको भनाइ छ ।

व्यवसायीहरुलाई भ्याट लाग्दा के–के गर्नुपर्छ भन्ने ज्ञान छैन । जसले गर्दा आयात नै बन्द भएको अवस्था आएको उनले बताए । व्यवसायीहरुले बजेटअघि प्रति क्यारेट (१० केजी) ३ हजारदेखि ३२ सय रुपैयाँमा आयात गर्दै आएको थियो । तर, अहिले सोही परिमाणमा किवी आयात गर्दा होलसेल बजारमा नै ७२ सयमा बिक्री हुन थालेको कुलेश्वरमा किवी बिक्री गर्ने एक व्यवसायीले बताए ।

बजेटपछि किवी आयात हुन बन्द भएको बताउँदै विगतका दिनमा अन्य व्यवसायीले आयात गरेको सिमित मात्राको किवी बिक्री गरिरहेको बताए ।

अध्यक्ष बानियाँले भ्याट तिरेर ल्याउनका लागि व्यवसायीहरु डराइरहेको बताए । ‘किवी तथा फलफूल आयात गर्दा उच्च जोखिम मोलेर ल्याउनुपर्छ । कतिपय अवस्थामा ल्याउँदा ल्याउँदै कुहिने तथा कुच्चिने गर्छ,’ उनले भने, ‘उक्त जोखिम मोलेर ल्याउँदा बजारमा महंगो हुन गई बिक्री हुन्छ वा हुँदैन भन्ने अर्को जोखिम छ । त्यसैले व्यवसायीहरुले जोखिम मोलेर ल्याउनेभन्दा आयात नगर्ने मनसायमा छन् ।’

सरकारले भ्याट बढाउनेभन्दा करको दायर बढाउनुपर्नेमा ध्यान दिनुपर्ने उनी बताउँछन् । फलफूलजन्य वस्तु समयमै बिक्री हुन नसक्दा कुहिने तथा विग्रिने भएकाले सरकारले उक्त प्रकारका वस्तुमा भ्याट लगाउन नहुने उनको भनाइ छ ।

त्यस्तै, अहिले कुलेश्वर बजारका व्यवसायीहरुले प्रतिकेजी नै स्टकमा भएको किवी बिक्री गरिरहेका छन् । एकातिर आर्थिक मन्दी छ भने अर्कोतर्फ फलफूलमा लगाएको भ्याटले महंगी बढाएकाले किवी ल्याएर बिक्री गर्न नसक्ने अवस्थामा व्यवसायीहरु पुगेका छन् ।

व्यवसायीअनुसार पछिल्ला समय नेपालमा नै किवीको उत्पादन बढ्दा बजारमा सस्तो मूल्यमा उपभोक्ताले उपभोग गरिरहेका छन् । तर, गुणस्तरको भने उत्पादन हुन सकेको छैन । अहिले तत्कालका लागि किवी आयात ठप्प हुँदा व्यवसायीहरुले नेपाली उत्पादनलाई कुरिरहेका छन् ।

‘अहिले किवी ल्याएर बिक्री गर्न सक्ने अवस्थामा छैन,’ अध्यक्ष बानियाँले भने, ‘अबको ५,६ महिनामा नेपाली किवी पर्याप्तमा मात्रामा भित्रिन थाल्छन् । सोही बेला मात्रै व्यवसायीहरुले किवीको व्यापार गर्ने मनसाय बनाएका छन् ।’ विगतका दिनमा फलफूल पसलमा किवी पाइन्थ्याे । तर, अहिले सिमित पसलमा मात्रै उपलब्ध छन् ।

नेपालमा किवीको उत्पादन बढ्दै गएपनि ग्रेडिङ तथा प्याकेजिङमा ध्यान दिन नसक्दा गुणस्तरमा निकै कमजोर रहेको व्यवसायीहरुको भनाइ छ ।

नेपालमा किवी उत्पादन भइसकेपनि सिजनमा प्रतिकेजी २५० रुपैयाँमा खरिद गरी उपभोग गर्न सक्ने अवस्था पुगेका छन् । तर, सिमित समयमा मात्रै उत्पादन हुँदा आयातमा भर पर्नुपर्ने बाध्यता छ ।

त्यसैगरी, होलसेल बजारमा नै किवीको मूल्य प्रतिकेजी ७५० रुपैयाँ पुग्दा उपभोक्ताले अधिकतम ९ सय रुपैयाँ केजीमा खरिद गरी उपभोग गर्नुपर्ने भएको छ ।

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले किवीको मूल्य औसतमा प्रतिकेजी ८५० रुपैयाँ तोकेको छ भने अधिकतम मूल्य ९ सय रुपैयाँ तोकेको छ । बजारमा ९ सय रुपैयाँमा बजारम उपलब्ध हुन थालेपछि उपभोक्ताले किवी किन्न नै छोडेको उनको भनाइ छ ।

बजेटअघि सोही किवी नेपाली बजारमा प्रतिकेजी अधिकतम मूल्य ५ सय थियो भने औसत मूल्य ४५० रुपैयाँ थियो । नेपालले चालु आर्थिक वर्षको ११ महिनाको अवधिमा ७ करोड २० लाख ९७ हजार रुपैयाँको ४ लाख ३ हजार केजी किवी आयात गरेको छ ।

नेपालले उक्त अवधिमा सबैभन्दा बढी किवी भारतबाट आयात गरेको छ । नेपालले भारतबाट ११ महिनाको अवधिमा ३ करोड २ लाख रुपैयाँको ६८ हजार केजी किवी आयात गरेको छ ।

भारतपछि नेपालले चीनबाट २ करोड २ लाख रुपैयाँ, चिलेबाट १ करोड ९ हजार रुपैयाँ, ग्रिसबाट ८४ लाख रुपैयाँ र युएईबाट २२ लाख रुपैयाँको आयात गरेका छन् । उक्त आयातित किवीबाट नेपालले ६२ लाख रुपैयाँ राजस्व संकलन गरेको छ ।


अरिष्मा मोक्तान