रुसको ‘वागनर समूह’ जस्तै निजी सैनिकको बजार ३३७ खर्ब, यस्तो छ इतिहास
एजेन्सी । रुसको प्राइभेट आर्मी ‘वागनर’का प्रमुख येवगेनी प्रियोजिन दुई साताअघिको असफल विद्रोहपछि बेलारुस पुगेका छन् । बेलारुसका नेता अलेक्जेन्टर लुकासेंकोले गत मंगलबार यसको पुष्टि गरेका थिए ।
गत मंगलबार नै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना सेनालाई सम्बोधन गर्दै वागनर समूहको विद्रोह विफल हुनुले आफूले ‘गृह युद्धलाई रोकेको’ बताएका छन् । वागनर समूहको विद्रोहले युक्रेनमा भइरहेको युद्धमा व्यस्त रहेका राष्ट्रपति पुटिनलाई जुन किसिमको कठिन परिस्थितिमा पुर्याएको छ, त्यसले प्राइभेट आर्मीको भूमिकामाथि नै प्रश्न उठाउन सुरु गरेको छ । भाडामा राख्न सकिने यस्ता निजी सेनाको अराजकतामाथि अहिले विश्वभरबाट टिकाटिप्पणी भइरहेका छन् ।
यस्ता निजी सेनाको संसार नै युद्धभूमिको संसार हो । जहाँ युद्ध हुन्छ, त्यहाँ उनीहरु उपस्थित हुन्छन् । यस्ता निजी सेनाले संसारका ठूला देशहरुका लागि काम गर्छन् भने कतिपय अवस्थामा केही गैरसरकारी संगठनहरुले पनि यिनीहरुको सेवा लिने गरेको पाइन्छ ।
निजी सेना (प्राइभेट आर्मी) कयौं देशमा सक्रिय छन् । यिनीहरुको संख्या निरन्तर घट्ने र बढ्ने भइरहेको छ । तर, आमरुपमा रुसमा रहेको वागनर समूह र अमेरिकामा रहेको एकेडेमी (पुरानो नाम ब्ल्याकवाटर) विश्वभरमै चर्चित प्राइभेट सैनिक कम्पनी हुन् ।
अमेरिकाको वासिंगटन डीसीमा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेसनल डिफेन्स युनिभर्सिटी)मा प्राध्यापक रहेका तथा विगतमा वर्षौंसम्म निजी सेनाको हिस्सा बनेका सन मैकफेटले यो क्षेत्रसँग सम्बन्धित दुई पुस्तक र केही उपन्यास लेखिसकेका छन् । उनी निजी सेना वा भाडाका सेना आफैंमा एउटा उद्योग भएको बताउँछन् ।
उनी भन्छन्, ‘मैले किताब लेख्नुको कारण भनेको अरुलाई मर्सेनरिज (भाडाका सैनिक) वा प्राइभेट आर्मीको जीवनको बारेमा बताउनु हो, जुन खतराले भरिएको छ । यो उद्योग बिनाकुनै बन्देज अघि बढ्दै गइरहेको छ, जसलाई संसारका ठूला देशले पनि गम्भीरतापूर्वक लिएका छैनन् ।’
संसारभरमा व्यावसायिक रुपमा निजी सैनिकका लागि विभिन्न कम्पनीको सुरुवात हुने चलन सन् १९९० मा सुरु भएको हो । तर, सबैतिर सरकारले यसमाथि बन्देज लगाउन ढिलाइ गरिरहेको छ । निजी सैनिकको उद्योग यसरी नै अघि बढ्दै जाने हो भने यसले अन्तर्राष्ट्रिय सम्बन्धमाथि नै असर पर्ने देखिन्छ ।
मैकफेट भन्छन्, ‘हरेकले आफ्नै निजी सेना बनाउन सोच्न सक्छन् । भोलि एलन मस्क (ट्विटर र टेस्लाका मालिक)ले आफ्नै निजी फौज बनाउन सक्छन् । जोसुकैले पनि निजी सेना राख्न सक्छ । यसले संसारभरको राजनीतिक र सामाजिक अवस्थालाई फेर्छ । अराजकता फैलिनेछ ।’
रुसको वागनर समूहका प्रमुख ६२ वर्षीय प्रियोजिन रुसका राष्ट्रपति पुटिनकै उत्पादन हुन् । पुटिनले नै सन् २०१४ मा वागनर समूह गठन गरेका थिए किनकि उनी संसारमै रुसको प्रभाव पुनः स्थापित गर्ने सपना देख्छन् ।
भारतको दिल्लीमा रहेका राजनीतिक तथा विदेशी मामलामा जानकारी राख्ने विशेषज्ञ डा. सुवरोकमल दत्ता वागनर समूहको विद्रोहले पुटिनको शासनमाथि नै संकट आउने संकेत देखाएको बताउँछन् ।
वागनर समूहमा लडाकुको संख्या २० देखि ३५ हजारको बीचमा छ । यो समूहको सहायताले रुसले दक्षिण र पूर्वीयुक्रेनमा ठूलो मात्रामा सफलता हासिल गरेको थियो । युक्रेनको सेनाको विरुद्धमा युद्धमा रहँदा वागनर समूहको भूमिका प्रभावशाली थियो । सन् २०१४ मा क्राइमियामाथि रुसले कब्जा गर्दा पनि यो समूहको ठूलो भूमिका थियो ।
तर, यस्ता निजी सैनिकका गतिविधि निरन्तर विवादास्पद बनेका छन् । सन् २००७ मा इराकको राजधानी बगदादमा एक नरसंहार भएको थियो । यसमा अमेरिकाको निजी सुरक्षा कम्पनी ब्ल्याकवाटर वर्ल्डवाइड (हाल एकेडेमी) का सैनिक सामेल थिए । उनीहरुलाई अमेरिकी सरकारले नै इराकमा सुरक्षा दिनका लागि ठेक्का दिएको थियो ।
सामुन्नेबाट आइरहेको एक सवारीसँग असुरक्षित महसुस गर्दा भीडभाड रहेको क्षेत्रमा जथाभावी गोली चलाएको आरोप ब्ल्याकवार्टरका सेनामाथि छ । उनीहरुले व्यस्त क्षेत्रमा विभिन्न सवारी साधन र पैदलयात्रीमाथि अन्धाधुन्ध गोलाबारी गरेका थिए । गोलाबारीमा १७ इराकी नागरिकको मृत्यु भएको थियो भने कयौं घाइते भएका थिए ।
ब्ल्याकवार्टरका सेनाले चलाएको गोली लाग्नेहरुमा धेरै जना निहत्था थिए र सेनाका लागि उनीहरुबाट कुनै पनि रुपमा स्पष्ट खतरा थिए । यो घटनाको इराकी सरकारले कडा विरोध गरेको थियो । साथै, अन्तर्राष्ट्रियस्तरमा पनि अमेरिका र अमेरिकाले राखेका निजी सैनिकको आलोचना भएको थियो ।
नरसंहारको विषयमा अमेरिकाले नै गरेको अनुसन्धानमा पनि ब्ल्यावार्टरका ठेकेदारहरुले बल प्रयोग अत्यधिक र अनुचित रुपमा गरेको भन्ने निष्कर्ष निकालिएको थियो । अमेरिकाको न्यायिक विभागले पछि यो घटनामा सामेल रहेका ब्ल्याकवार्टरका सेनामाथि हत्याको आरोप लगाएको थियो ।
यो घटनाले इराकमा निजी सुरक्षा ठेकेदारका रुपमा रहेका प्राइभेट आर्मीहरुको विवादास्पद भूमिकालाई सतहमा ल्याएको थियो । त्यसपछि नै युद्धभूमिमा सक्रिय रहेका निजी सैनिक कम्पनीमाथि निगरानी गर्ने विषयमा व्यापक बहस सुरु भयो ।
प्राध्यापक सन मैकफेट अफ्रिकासँगै अन्य कयौं देशमा निजी सेनाको भाग बनेर काम गरिसकेका छन् । उनका अनुसार यी सैनिकको कुनै जवाफदेहिता नहुने भएकाले पनि सरकारहरुले उनीहरुको प्रयोग गर्ने गर्छन् ।
उनी भन्छन्, ‘यही नै भाडाका सैनिकलाई काममा राख्नुको मुख्य कारण हो । कुनै सरकारी सैनिक कसैको हत्या गर्छ भने उसमाथि कोर्टमार्सल हुन्छ । तर, निजी सैनिकको समूहको कुनै सैनिकले त्यही काम गरेमा ऊ आफ्नो घर मात्र फर्किनुपर्ने हुन्छ ।’
निजी सैनिकको इतिहास
निजी सैनिक वा भाडाका सैनिकको भूमिका उत्तिकै पुरानो छ , जति हाम्रो इतिहास छ । शताब्दी अघिबाटै आफ्नो व्यक्तिगत फाइदा, राजनीतिक कारण वा वैचारिक कारणजस्ता लडाइँमा यस्ता सेना सामेल हुँदै आएका छन् ।
निजी सैनिकलाई फरक-फरक कारणले प्रयोग गर्दै आइएको छ । जसमा राज्यको सैनिकलाई सहयोग गर्नेदेखि आर्थिक हितको रक्षा गर्न वा विशेष सैन्य अभियान चलाउनेजस्ता कारण छन् ।
प्राचीन मिश्रमा फिरौनले छिमेकी क्षेत्रबाट भाडाका सैनिक नियुक्त गरेका थिए र एक स्थायी सेनाका रुपमा राखेका थिए । प्राचीन ग्रिसमा एथेन्स र स्पार्टाजस्ता सहर तथा राज्यमा पनि प्रायः आफ्नो सैनिक समूहलाई सहयोग गर्नका लागि भाडामा सैनिक राख्ने गरिन्थ्यो । यसलाई ‘हापलाइट्स’को नाम दिइएको थियो । प्राचीन रोमन साम्राज्यले आफ्ना सेनाको पूर्तिका लागि जर्मनीका जनजातिलाई भाडाका सैनिकको रुपमा राखेको थियो । सम्राटहरुले व्यक्तिगत अंगरक्षक इकाइ पनि गठन गरेका थिए ।
औपनिवेशिक युग र पुनर्जागरणको समयमा युरोपेली र फ्रान्सेली सहर तथा राज्यहरुमा पनि निजी सेना राखिएका थिए । डच इस्ट इन्डिया कम्पनी र ब्रिटिस इस्ट इन्डिया कम्पनीजस्ता निजी कम्पनीले व्यापारिक हितको रक्षाका लागि निजी सेनाको स्थापना गरेका थिए । त्यस्तै पुनर्जागरणको समयमा वेनिस र फ्लोरेन्सजस्ता शक्तिशाली सहर तथा राज्यहरुले पनि आफ्नो तर्फबाट युद्ध लड्नका लागि भाडाका सैनिक नियुक्त गरेका थिए ।
साम्राज्यवादको युगमा युरोपेली साम्राज्यको उपनिवेशवाद चरम रहँदा युरोपेली शक्तिहरुले आफ्ना उपनिवेशलाई विस्तार गर्न र उनीहरुमाथि नियन्त्रण राखिरहनका लागि निजी सैनिक तथा भाडाका सैनिकलाई नियुक्त गरेका थिए । ब्रिटिस साउथ अफ्रिका कम्पनी र कांगो फ्रि स्टेटले फोर्स पब्लिकजस्ता कम्पनीसँग निजी सैनिक राखेका थिए ।
अमेरिकी क्रान्तिकारी युद्धका क्रममा पनि अमेरिकी उपनिवेशवादीहरुले र बेलायती साम्राज्य दुवैले भाडाका सैनिकको प्रयोग गरेका थिए ।
आधुनिक युगमा आइपुग्दा निजी सैनिक कम्पनी (पीएमसी)लाई २० औं शताब्दीको अन्त्यमा प्रमुखता प्राप्त भएको थियो । उनीहरु सरकार तथा गैरसरकारी संस्थाहरुका लागि कयौं युद्धमा हिस्सा बनेका थिए । इराक र अफगानिस्तानको युद्धका क्रममा अमेरिका र सहयोगी राष्ट्रहरुले ब्ल्याकवार्टरजस्ता निजी सैनिक कम्पनीको प्रयोग गरेका थिए । यस्ता कम्पनीमाथि सरकारको धेरै विश्वास थियो । उनीहरुले सुरक्षा, सहायता तथा सेवासम्बन्धी काम गरेका थिए ।
निजी सैन्य कम्पनीहरु संसारभरमा भएका संघर्ष र संघर्षपछिको समयमा प्रमुख भूमिका निभाउँदै आएका छन् । तर, जवाफदेही, पारदर्शिता र सम्भावित मानवअधिकार हननका विषयमा भने यस्ता कम्पनीले चिन्ताजनक अवस्था सिर्जना गर्ने गरेको पाइन्छ ।
कस्तो छ प्राइभेट आर्मिको उद्योग ?
अहिले विश्वभरका विभिन्न देशमा निजी सैनिक कम्पनी तथा प्राइभेट आर्मी छन् । बेलायतमा ६ वटा यस्ता कम्पनी छन् भने अमेरिकामा यस्ता १५ भन्दा धेरै कम्पनी छन् । विभिन्न युद्धमा सामेल हुनेदेखि अन्य सहायताका लागि पनि राज्यले नै यस्ता कम्पनीको प्रयोग गर्दै आएको छ ।
यस्ता निजी सैनिकको माग र प्रयोग पनि बढ्दै गएको छ । भ्यान्टेज मार्केट रिचर्सका अनुसार सन् २०२२ सम्ममा निजी सैनिकको बजार ३३७ खर्ब २० अर्ब ३९ करोड ३७ लाख नेपाली रुपैयाँ (२५८.११ बिलियन अमेरिकी डलर) छ । यो सन् २०३० सम्ममा बढेर ५८३ खर्ब ७२ अर्ब ८२ करोड २२ लाख नेपाली रुपैयाँ (४४६.८१ बिलियन अमेरिकी डलर) पुग्ने उक्त रिचर्सले प्रक्षेपण गरेको छ ।
(बीबीसी हिन्दीसहित विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको सहयोग)