सफलताको शिखरमा पुगेको ‘बायजुस’ कसरी संकटमा फस्यो ?



काठमाडौं ।  संसारभरमा कम्पनीहरुमा लगानी गर्ने समूह ‘प्रोसस’ले भारतको एडटेक स्टार्टअप कम्पनी बायजुसको भ्यालुएसनलाई घटाएर हाल ५.१ अर्ब अमेरिकी डलरमा सीमित बनाएको छ ।

समाचार एजेन्सी रोयटर्सकाअनुसार नेदरल्यान्डमा सूचीकृत रहेको संसारकै सबैभन्दा ठूलो प्रविधि क्षेत्रको लगानीकर्ता प्रोससले बायजुसको भ्यालुएसनलाई २२ अर्ब अमेरिकी डलरबाट घटाएर ५.१ अर्ब अमेरिकी डलर बनाइदिएको छ । तथ्यांकअनुसार यो गिरावट ७५ प्रतिशतभन्दा धेरैको हो ।

प्रोसस समूह बायजुसको सबैभन्दा ठूलो लगानीकर्ता हो । रोयटर्सको रिपोर्टमा बताइएअनुसार ३१ मार्चमा सकिएको आर्थिक वर्षमा प्रोससले बायजुसमा आफ्नो ९.३ प्रतिशत लगानीको मूल्य घटाएर ४९३ मिलियन अमेरिकी डलर बनाएको छ ।

सन् २०११ मा सुरु भएको बायजु रवीन्द्रनको कम्पनी बायजुसका लागि अहिले नाजुक समय चलिरहेको छ । अहिले कम्पनीले भारतमा कर्मचारी हटाइरहेको छ भने अन्तर्राष्ट्रिय स्तरमा कम्पनी कर्जाको विषयलाई लिएर कानुनी लडाइँ लडिरहेको छ ।

केही दिनपहिले डेलाइट हस्किनस एन्ड सेल्सले बायजुसको अडिटरको पदबाट राजीनामा दिएको थियो, जसले २०२५ बायजुसको सम्पूर्ण आर्थिक क्रियाकलापको लेखापरीक्षण गर्ने भनिएको थियो । डेलाइटको तर्फबाट बताइएअनुसार उनीहरुले बायजुसको लेखापरीक्षण गर्न नै पाएका छैनन्, किनकि उनीहरुलाई कम्पनीले आर्थिक वर्ष २०२१-०२२ को वित्त विवरण नै उपलब्ध गराएको छैन ।

डेलाइट हास्किन्स एन्ड सेल्सले बायजुसका लागि लेखेको पत्रमा भनिएको छ, ‘हामीलाई आजसम्म लेखापरीक्षणको विषयमा कुनै टिप्पणी आएको छैन । यस्तो हुँदा लेखापरीक्षणको सिद्धान्तका अनुसार लेखापरीक्षणको योजना बनाउने, डिजाइन गर्ने, प्रदर्शन गर्ने र पूरा गर्ने हाम्रो क्षमतामै महत्वपूर्ण प्रभाव परेको छ । यही कुरालाई मध्यनजर गर्दै हामी तत्काल कम्पनीको सेक्युरिटी अडिटरको रुपमा आफ्नो राजीनामा पेस गरेका छौं ।’

रोयटर्सका अनुसार अडिटरको राजीनामापछि कम्पनीका लगानीकर्ताहरुले यो वर्ष सेप्टेम्बर महिनादेखि सन् २०२२ को आय र डिसेम्बरसम्मको आयको विवरण दाखिला गर्ने बताएका छन् ।

हालका लागि बायजुसलाई नयाँ लेखापरीक्षक प्राप्त त भएको छ । कम्पनीले बीडीओ (एमएसकेए एन्ड एसोसिएट्स)सँग आगामी पाँच वर्षसम्म कम्पनीको लेखापरीक्षण गर्ने लेखापरीक्षकको रुपमा नियुक्त गरेको छ ।

अंग्रेजी समाचार पत्र द हिन्दी बिजनेस लाइनको एक रिपोर्टमा दाबी गरिएअनुसार बायजुसका कयौं पूर्वकर्मचारीले कम्पनीले आफ्नो ईपीएफ (कर्मचारी सञ्चय कोष) जम्मा नगरिदिएको आरोप पनि लगाएका छन् । आरोपअनुसार कम्पनीले हरेक महिना कर्मचारीको तलबबाट पीएफको रकम काट्ने गरेको थियो । तर, यो धनराशिलाई कर्मचारी सञ्चय कोषको खातामा जम्मा नगरेको पाइएको छ ।

रिपोर्ट बाहिर आएसँगै बायजुसको मूल कम्पनी ‘थिंक एन्ड लर्न प्राइभेट लिमिटेड’ले अगस्ट २०२२ देखि मे २०२३ सम्मको सञ्चय कोषको रकम भुक्तानी गरेको छ । यसरी भुक्तानी गरेको रकम भारतीय रुपैयाँमा १२३.१ करोड रुपैयाँ रहेको बताइएको छ । बाँकी रहेको ३.४३ करोड भारतीय रुपैयाँ पनि केही समयमा नै दाखिला गर्ने कम्पनीले बताएको छ ।

गत हप्ता अंग्रेजी पत्रिका ‘द इकोनोमिक टायम्स’को रिपोर्टमा बायजुसका बोर्ड सदस्यहरुमध्ये तीन निर्देशकहरुले राजीनामा दिइएको पुष्टि गरिएको थियो । रिपोर्टमा लेखिएअनुसार बोर्ड सदस्यबाट ‘पिक एक्स वी पार्टनर्स’ का जीवी रविशंकर, चैन जुकरबगका विवियन वु र पैोससका रसेल ड्रेसेनस्टाकले राजीनामा दिएका छन् ।

तर, बायजुसले भने यस्ता सबै रिपोर्टहरुको खण्डन मात्रै गरिरहेको छ । बायजुसले भनेको छ, ‘बायजुसको बोर्डका सदस्यहरुले राजीनामाको समाचार सम्प्रेषण गर्ने हालैको एक मिडिया रिपोर्ट पूर्णरुपमा काल्पनिक छ । बायजुस यी दाबाहरुलाई खण्डन गर्छ र मिडियालाई प्रमाणित नभएका जानकारी फैलाउने वा आधारहीन अनुमानलाई प्रमाणको रुपमा लिनबाट बच्न आग्रह गर्छ ।’

विभिन्न रिपोर्टका अनुसार बायजुसका संस्थापकहरुले सेयरधनीहरुलाई बाहिरिनबाट बचाउनका लागि लगानीकर्ताहरुबाट फन्ड जुटाउने कोसिस गरिरहेको छ । अमेरिकी मिडिया संस्था ब्लुमबर्गका अनुसार बायजुसका नयाँ सेयरधनीहरुबाट एक अर्ब अमेरिकी डलर फन्ड जुटाउने कोसिस गरिरहेको छ । यसका लागि अन्तिम चरणको छलफल भइरहेको छ ।

कम्पनीले हाल यसका संस्थापक बायजु रवीन्द्रनको कम्पनीमाथिको नियन्त्रणलाई कम गर्न खोजिरहेका केही लगानीकर्ताको प्रयासलाई रोक्ने कोसिस गरिरहेको छ । अंग्रेजी पत्रिका ‘मिन्ट’ मा प्रकाशित एक रिपोर्टका अनुसार यो वर्ष जुन महिनामा लगभग १ हजार कर्मचारीलाई बायजुसले जागिरबाट बर्खास्त गरेको छ । यसअघि बायजुसले गत वर्ष मात्रै ३ हजार कर्मचारीलाई जागिरबाट निकालेको थियो । हाल कम्पनीमा लगभग ५० हजारले काम गरिरहेका छन् ।

यसबाहेक बायजुसले अमेरिकाको अदालतमा कानुनी लडाइँ पनि भोगिरहेको छ । अमेरिकामा बायजुसमाथि १.२ अमेरिकी डलर कर्जाको विषयलाई लिएर न्युयोर्क उच्च अदालतमा मुद्दा दायर भएको छ । कम्पनीले यो कर्जा तिर्नुपर्ने थियो । तर, हाल कम्पनी उक्त अवस्थामा नभएका कारण यो विषय अदालतसम्म पुगेको छ ।

कम्पनीका संस्थापक रवीन्द्रनले बताएअनुसार उनीमाथ ‘टर्म लोन बी (टीएलबी)’ को पुनः भुक्तानीमा तीव्रता ल्याउनका लागि ऋणदाता रेडवुड कम्पनीले दबाब सिर्जना गरिरहेको छ ।

सफलताको शिखरमा पुगेको थियो बायजुस

मार्च २०२० । कोरोना महामारीका कारण भारतमा देशव्यापी रुपमा लकडाउन लगाइएको थियो । स्कुल, कलेजदेखि पसल तथा अफिस सबै बन्द थिए । यो समयमा मानिस आ-आफ्ना घरमा र इन्टरनेटमा सीमित भएका थिए ।

महामारीका कारण स्कुल बन्द भएका कारण बच्चाहरुको भर्ना अनलाइन एडटेक कम्पनीहरुमा हुन थालेको थियो । यसबेला नै बायजुसको सफलताको सुरुवात भएको थियो ।

कम्पनीले एक वर्षमा नै बजारबाट १ अर्ब अमेरिकी डलरभन्दा धेरै रकम जुटाएको थियो । यो आम्दानीबाट कम्पनीले सोही क्षेत्रमा प्रतिस्पर्धिका रुपमा रहेका एक दर्जनभन्दा धेरै कम्पनीलाई अधिग्रहण गरेर बजारमा एकछत्र राज गर्न खोजेको थियो ।

बायजुसले अधिग्रहण गरेका कम्पनीहरुमा आकाश एजुकेसनल सर्भिसेस, ग्रेट लर्निङ र ह्वाइट ह्याट जुनियरजस्ता कम्पनी थिए । यस्तो गर्दै अघि बढेको बायजुसले बालबालिकाका लागि कोडिङको क्लासदेखि प्रतियोगी परीक्षाहरुको तयारी गराउने एकछत्र राज भएको ‘अब्रेला होल्डिङ कम्पनी’ बनेको थियो ।

विज्ञापनमाथि खर्च गर्ने विषयमा पनि बायजुसले कुनै कसर छाडेको थिएन । एक समय बायजुस सम्भवतः सम्पूर्ण भारतीय टेलिभिजन च्यानलमा सबैभन्दा धेरै देखिने ब्रान्ड थियो । बलिउड अभिनेता शाहरुख खान कम्पनीको ब्रान्ड एम्बेसडर थिए । अर्कातिर, बायजुसको कोडिङ प्लेटफर्म ‘ह्वाइट ह्याट जुनियर’का ब्रान्ड एम्बेसडर अर्का बलिउड अभिनेता हृतिक रोशन थिए ।

कम्पनी यतिमा मात्रै रोकिएन । नोमेम्बर २०२२ मा प्रायः विश्वभर नै कर्मचारी निकाल्न सुरु भइरहेका बेला बायजुसले चर्चित फुटबल स्टार लियोनल मेस्सीलाई आफ्नो ‘ग्लोबल ब्रान्ड एम्बेसडर’को रुपमा नियुक्त गर्‍यो । यसबाहेक कम्पनीले भारतीय क्रिकेट कन्ट्रोेल बोर्ड (बीसीसीआई), आईसीसी र फिफाजस्ता विभिन्न खेलकुद गराउने चर्चित निकायसँग पनि ब्राडिङका लागि साझेदारी गरेको थियो ।

लगभग तीन वर्षसम्म बायजुस बीसीसीआईको प्रमुख स्पोन्सर थियो भने सन् २०२२ को फिफा विश्वकपको पनि स्पोन्सर गरेको थियो । बायजुस त्यस्तो पहिलो भारतीय कम्पनी बन्यो, जसले विश्वकपमा स्पोन्सर गरेका थियो ।

हाल भने बायजुसले यी तीनै वटा प्रमुख कम्पनीहरुसँगको आफ्नो ब्रान्डिङको साझेदारीलाई अन्य गरेको छ ।

संकटमा किन छ बायजुस ?

बायजुस अहिले लगातार विभिन्न समस्यामा परिरहेको छ । पत्रकार तथा अनुसन्धान गर्ने कम्पनी ‘मर्निङ कन्टेक्स्ट’का सहसंस्थापक प्रदीप साहका अनुसार बायजुसमा हाल जे भइरहेको छ, यो अचानक भएको नभएर पूर्वनिर्धारित नै हो ।

‘आममान्छेलाई लागेको छ, बायजुस तीव्र रुपमा विकास भइरहेको थियो र राम्रो प्रदर्शन गरिरहेको थियो,’ उनी भन्छन्, ‘हामीलाई निश्चित रुपमा नै यस्तै भएको थियो कि थिएन भन्ने थाहा छैन । त्यसबेला कम्पनीमा सब्सक्रिप्सन (सदस्यता) बढिरहेको थियो र यही बढिरहेको संख्यालाई देखाएर कम्पनीले धेरै पैसा जुटाएको थियो । जुटाएको पैसाबाहेक कुनै प्रमाण छैन, जसले कम्पनीले कोरोना महामारीमा राम्रो प्रदर्शन गरिरहेको थियो भनेर देखाउँछ ।’

साहका अनुसार आर्थिक वर्ष २०२०-०२१ को कमाईलाई हेर्दा राजस्व स्थिर थियो र घाटा १९ गुणाले बढेको थियो । बायजुसमा नगद प्रवाहमा समस्या भएको उनी बताउँछन् । उनी भन्छन्, ‘बायजुस आफ्नो टर्म लोन बी लाई लिएर ऋणदातासँग कानुनी लडाइँमा अल्झिरहेको छ र व्यापारको गति पनि सुस्त छ । जबसम्म कम्पनी आर्थिक वर्ष २०२२ र २०२३ को रिपोर्ट पेस गर्दैन, तबसम्म हामी यो कम्पनी कस्तो अवस्थामा छ भन्न सक्दैनौं ।’

‘एन्जल इन्भेस्टमेन्ट’का रुपमा रहेको बिजनेस मोडलका आलोचक डा. अनिरुद्ध मालपानी भने ग्राहक र कर्मचारीसँग कम्पनीले गरेको दुर्व्यवहार नै बायजुसको संकेटको प्रमुख र ठूलो कारण हो । उनी भन्छन्, ‘बायजुसका लागि सुरुवातबाट नै यस्तो अवस्था सिर्जना भइरहेको थियो । उनीहरुले बजारबाट लगातार पैसा उठाए । उनीहरुसँग पैसा हुँदैन थियो भने उनीहरु धेरै पहिले नै नाङ्गिसकेका हुन्थे । ग्राहकको पैसा रिफन्ड नगर्ने र कर्मचारीलाई मेसिनका रुपमा काम गराउने भएको थियो ।’

उनी यस्ता घटनाहरुको परिणाम राम्रो र नराम्रो दुवै किसिमको भएको बताउँछन् । ‘दुःखद कुरा एउटा ठूलो एडटेक स्टार्टअप एउटा संकटको कहानी बनेको छ,’ उनी भन्छन्, ‘राम्रो कुराचाहिँ अरुले यसबाट पाठ सिक्नेछन् । अब भ्यालुएस धेरै होस् भनेर मात्रै होइन कि वास्तवमै कम्पनीको भ्यालू राम्रो होस् भनेर मान्छेले सोच्नेछन् ।’

के छन् बायजुसका विकल्प ?

हाल कम्पनीले भोगिरहेका समस्या र त्यसबाट बाहिर निस्किने समाधानको विषयमा प्रदीप साहा कम्पनीले नाफा कमाउन सफल भएमा अहिलेको अवस्थाबाट बाहिर निकिस्ने बताउँछन् ।

‘बायजुस आफूले भोगिरहेको समस्याबाट बाहिर आउन सक्छ कि सक्दैन भन्ने कुरा कयौं पक्षमा निर्भर हुन्छन्,’ उनी भन्छन्, ‘पहिलो अमेरिकामा टर्म लोन बी को संकटलाई कसरी हल गर्ने भन्ने हो । दोस्रो, के भेन्चर क्यापिटल (बीसी) फन्डबाट अरु रकम जुटाउन सक्छ कि सक्दैन भन्ने हो । तेस्रो, कति छिटो कम्पनी नाफा कमाउने अवस्थामा पुग्छ भन्ने हो । र, सबैभन्दा महत्वपूर्ण, कम्पनीले आकाशको आईपीओ कति छिटो ल्याउन सक्छ भन्ने हो ।’

डा. अनिरुद्ध मालपानी भने बायजुस होस् वा अरु कुनै एडटेक स्टार्टअप कम्पनी नै होस्, उनीहरुले लगानीकर्ताको सट्टा ग्राहकलाई प्राथमिकतामा राख्ने हो भने निश्चित रुपमा एडटेक स्टार्टअप सफल हुने बताउँछन् ।

‘भनिन्छ नि, भविष्य अनिश्चित र अप्रत्यासित हुन्छ,’ उनी भन्छन्, ‘बायजुससँग आफ्नो ओरिजिनल सोच थिएन । बायजुसभन्दा अगाडि नै अनएकेडेमी एक स्थापित ब्रान्ड भइसकेको थियो । हाल भारतमा शिक्षा प्रणाली भनेको पैसा कमाउन मेसिन जस्तो भएको छ । म आशा गर्छु, सामाजिक एडटेक उद्यमशीलताका लागि अहिले अघि बढ्ने मौका भएका कारण बाँकी एडटेक कम्पनीहरु यो दिशातर्फ सोचेर अघि बढ्छन् ।’

दुवै विज्ञहरु एउटा कुरामा भने सहमति जनाउँछन् । अहिलेको अवसथामा बायजुसले भोगिरहेको संकटलाई पार गर्न र अवस्थालाई केही सहज बनाउन कम्पनीले लगानीकर्ताका सँगै ग्राहकको विश्वास जित्न उत्तिकै महत्वपूर्ण छ ।

(बिबिसी हिन्दीबाट)


क्लिकमान्डु