आर्थिक मन्दीले क्रयशक्ति घट्यो, महँगो मोबाइल बिक्रीमा भारी गिरावट



काठमाडौं । आर्थिक मन्दीका कारण अहिले मानिसको क्रयशक्ति घटेको छ । कोरोनाले थलिएको अर्थतन्त्रमा रुस-युक्रेन द्वन्द्वको असरले विश्वभर महँगी बढायो । महँगीले मानिसको क्रयशक्ति घट्दै गयो ।

नेपालमा पनि आर्थिक मन्दीको प्रभाव उच्च छ । आर्थिक मन्दीका कारण स्मार्ट मोबाइल फोनको व्यापार पनि ह्वात्तै घटेको छ । व्यवसायीले चालू आर्थिक वर्षमा स्मार्ट मोबाइल फोनको व्यापारमा व्यापक कमी आएको बताएका छन् ।

कोभिडको समयमा पनि जुनसुकै प्रकारका स्मार्टफोनको बिक्री बढेको थियो । कोभिडपछि भने स्मार्ट फोनको व्यापार ह्वात्तै घटेको छ । मध्यम र प्रिमियम मूल्यको मोबाइल फोनको बिक्री सबैभन्दा सुस्ताएको छ ।

चालु आर्थिक वर्षमा मध्यम र प्रिमियम मूल्यको स्मार्ट फोन बिक्रीमा ठूलो गिरावट नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई बताउँछन् । उनका अनुसार विगतमा मध्यम मूल्यका स्मार्टफोन बढी बिक्री हुन्थे भने प्रिमियम ब्रान्डको व्यापार पनि राम्रै थियो । तर, अहिले २० हजारदेखि २५ हजारसम्म मूल्यको व्यापारमा खासै कमी नआए पनि २५ हजारभन्दा माथि मूल्य पर्ने स्मार्ट फोन बिक्री हुनै छोडेको छ ।

‘आर्थिक मन्दीले निम्न वर्ग र मध्यम वर्गलाई उच्च प्रभाव परेको छ । जसले गर्दा दैनिक उपभोग्य वस्तुको खरिदमै कमी आएको छ,’ उनले भने, ‘मोबाइल फोन भनेको दोस्रो श्रेणीमा पर्ने भएकाले प्राथमिकतामा पर्ने त कुरै आउँदैन ।’

मन्दीले मध्यम र प्रिमियम ब्रान्डको मोबाइल बिक्री नहुँदा व्यवसाय नै धराशयी बनेको उनको भनाइ छ । ‘व्यवसायीहरुले बजारको अवस्था हेरेर आयात गरेका हुन्छन् । तर, बजारमा मध्यम र प्रिमियम ब्रान्डको मोबाइल बिक्री हुन नसक्दा ठूलो संख्या मौज्दात छ,’ भट्टराईले भने ।

आर्थिक मन्दीले व्यापारमा सुधार हुन नसके धेरै व्यवसायी पलायन हुन सक्ने उनको भय छ । ‘व्यवसायीले चर्को भाडा तिरेर व्यवसाय गर्नुपर्ने अवस्था छ । व्यापार भने छैन । अहिलेको अवस्थामा कसरी खर्च उठाउने भन्नेमा मात्रै ध्यान छ,’ उनले क्लिकमान्डुसँग भने, ‘यस्तै अवस्था धेरै लम्बिए सयौं व्यवसायी पलायन हुनेछन् ।’

भन्सार विभागको तथ्यांकले पनि स्मार्टफोनको व्यापार ह्वात्तै घटेको स्पष्ट गर्छ । नेपालले चालु आर्थिक वर्षको ११ महिनामा २४ अर्ब ४९ करोड ७१ लाख रुपैयाँबराबरको ३७ लाख २० हजार ६७३ वटा मोबाइल फोन आयात गरेको छ ।

गत वर्षको सोही अवधिमा नेपालले ३९ अर्ब १३ करोड ४५ लाख रुपैयाँको ५८ लाख ७० हजार ८३६ वटा मोबाइल फोन आयात गरेको थियो । ११ महिनाको अवधिको तुलनामा यो वर्षको सोही अवधिमा ३७.४ प्रतिशतले आयातमा कमी आएको हो ।

सरकारले उच्च आयातका कारण विदेशी सञ्चिति घटेको भन्दै मोबाइल फोनको आयातमा कडाइ पनि गरेको थियो । सरकारले मोबाइल फोन आयातमा चरणबद्ध रुपमा कडाइ गरेको थियो । सुरुवाती चरमणमा आयातमा मार्जिनको व्यवस्था गरिएको वस्तुमा एलसी खोल्न नपाउने व्यवस्था गरियो । वैशाख १३ गते राजपत्रमा सूचना प्रकाशित गर्दै आयातमा प्रतिबन्ध लगाइयो । सरकारले ६ सय अमेरिकी डलरभन्दा महँगो मोबाइल फोन आयातमा प्रतिबन्ध लगाएको थियो ।

चीनबाट मात्रै साढे १५ अर्बको आयात

नेपालले आयात गर्ने मोबाइल फोनमा चीनको मात्रै आधाभन्दा बढी हिस्सा छ । नेपाली बजारमा मध्यम र कम मूल्यको मोबाइल फोन खरिद गर्ने मानिसको संख्या उच्च हुँदा चीनबाट आयात हुने मोबाइल बढी बिक्री हुँदै आएको छ ।

नेपालले यो वर्षको ११ महिनाको अवधिमा २४ अर्बको मोबाइल फोन आयात गर्दा चीनबाट मात्रै १५ अर्ब ५१ करोड ९६ लाख रुपैयाँको ३० लाख ५४ हजार मोबाइल फोन आयात गरेको तथ्यांक छ । भारतबाट उक्त अवधिमा ७ अर्ब ४० करोड ३५ लाख रुपैयाँका ६ लाख ३९ हजार वटा मोबाइल फोन आयात भएका छन् ।

त्यस्तै भियतनामबाट ८३ करोड ५७ लाख रुपैयाँका १३ हजार ६४० वटा, यूएईबाट १८ करोड ३५ लाख रुपैयाँका ३८ सय ११ वटा, अमेरिकाबाट १५ करोड ७५ लाख रुपैयाँका १५ सय ७१ वटा, कतारबाट ४ करोड ७५ लाख रुपैयाँकोा ४७१ वटा र  दक्षिण कोरियाबाट ५ करोड २३ लाख रुपैयाँका ८३६ वटा फोन आयात भएका छन् ।

जापानबाट ९ करोड ७२ लाख रुपैयाँका १३ सय ५२ वटा, अस्ट्रेलियाबाट ९ करोड ३२ लाख रुपैयाँका ८७९ वटा र हङकङबाट २ करोड ५० लाख रुपैयाँका २४३ वटा मोबाइल फोन आयात भएको भन्सार विभागको तथ्यांकले देखाउँछ ।


अरिष्मा मोक्तान