अब विद्युत निर्यातको समस्या समाधान हुन्छः अर्थमन्त्री
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले विद्युत निर्यातको समस्या समाधान हुने बताएका छन् ।
आइतबार नयाँ बानेश्वरस्थित संसद भवनमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै अर्थमन्त्री महतले प्रधानमन्त्रीको भारत भ्रमणसँगै अब विद्युत निर्यातको समस्या समाधान हुने दाबी गरेका हुन् ।
विद्युत निर्यातको समस्या नहुनुलाई नेपालले ठूलो उपलब्धिको रुपमा लिनुपर्ने उनको भनाइ थियो । विद्युतको उत्पादन बढाएसँगै आन्तरिक खपत पनि बढाउनुपर्नेमा उनले जोड दिए । विद्युत निर्यातलाई बढाउन सकेमा व्यापार घाटा घट्ने अर्थमन्त्रीले बताए ।
‘भ्रमण अत्यन्त सौर्हादपूर्ण भयो । अब दीर्घकालमा विद्युत निर्यातको जुन समस्या थियो त्यो समस्यालाई समाधान गर्ने काम अगाडि बढेको छ । हामीले विद्युत उत्पादन गर्न सक्नुपर्यो । अब बजारको समस्या हुन्न भन्नेकुरा यो ठूलो उपलब्धिको कुरा हो। यद्यपी यो विषयमा पहिलादेखि नै काम भइराखेको थियो । अहिले आएर यसले मूर्त रुप लिएको छ’ उनले भने ।