यी हुन् नेपाल र भारतबीच भएका महत्वपूर्ण सम्झौता र समझदारी



काठमाडौं । नेपाल र भारतबीच विभिन्न विषयमा सम्झौता र समझदारी भएका छन् । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा पारवहन सम्झौतालगायत विभिन्न विषयमा समझदारी भएको हो ।

हैदराबाद हाउसमा बिहीबार नेपाल-भारत पारवहन सम्झौता नवीकरण गरिएको छ । तल्लो अरुणको पीडीए गर्ने, परराष्ट्र मामिला अध्ययन प्रतिष्ठान र सुष्मा स्वराज इन्स्टिच्युटबीच सहकार्य गर्ने, नेपालगन्ज, भैरहवा तथा चाँदनी दोधारामा एकीकृत जाँच चौकी बनाउने र फुकोट कर्णाली भारतीय कम्पनीले बनाउने सहमति दुई देशबीच भएको छ ।

भ्रमणमा नेपालले जलमार्ग बनाउन सक्ने, नयाँ रेल लिंक स्थापना गर्ने, भारतीय रेल संस्थानमा नेपाली कर्मचारीले तालिम लिने, सुदूरपश्चिममा २ वटा पुल बनाउने, क्रस बोर्डर पेमेन्ट, रासायनिक मल कारखाना खोल्न सहयोग गर्नेलगायतका विषयमा समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीबारे प्रधानमन्त्री प्रचण्ड र समकक्षी नरेन्द्र मोदीले संयुक्त पत्रकार सम्मेलनमा जानकारी गराएका छन् ।

पत्रकार सम्मेलनमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीले विराटनगर भन्सारको कस्टम यार्डसम्म कार्गो रेलको सुरुवात गरेका छन् । लगत्तै कार्गो रेल विराटनगर आइपुगेको छ । २०७६ सालमै रेलको लिक परीक्षण गरेर विराटनगरको कस्टम यार्ड तयारी अवस्थामा थियो । तर, भारतको बथनाहाबाट मोरङको कटहरीसम्म कार्गो रेल सञ्चालन भएको थिएन ।

यस्तै अमलेखगन्जबाट चितवनको लोथरसम्म पेट्रोलियम पाइपलाइन विस्तार गर्ने र सिलिगुडीबाट झापाको चारआलीसम्म पाइपलाइन निर्माण गर्ने सहमति भएको छ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीले संयुक्त रुपमा पाइपलाइन निर्माण र विस्तारको शिलान्यास गरेका छन् ।

नेपाल आयल निगमले यसअघि नै अमलेखगन्ज-लोथर पेट्रोलियम पाइपलाइनको सम्भाव्यता अध्ययन सकिएर पहिलो चरणको काम गरिरहेको छ । आयोजनाको डीपीआर तयार गर्ने काम भइरहेको छ । लोथरमा १ लाख किलोलिटर पट्रोलियम पदार्थ भण्डारण क्षमताको निर्माण गरिँदै छ ।

भारतको मोतीहारीबाट अमलेखगन्जसम्म सञ्चालित पेट्रोलियम पाइपलाइनलाई चिवतनको लोथरसम्म विस्तार गरिने भएको हो । करिब ६५ किलोमिटर पाइपलाइन विस्तारका लागि सरकारले आर्थिक वर्ष २०७७/७८ मा बजेट विनियोजन गरेको थियो ।

भारततर्फ ३५ र नेपालमा १५ किलोमिटर गरी करिब ५० किलोमिटर लम्बाइ भएको चारआली-सिलिगुडी पेट्रोलियम पाइपलाइनको शिलान्यास भएको छ । पाइपलाइनबाट आएको पेट्रोलिमय पदार्थलाई चारआलीमा भण्डारण गरिनेछ भने भण्डारण क्षमता पनि वृद्धि गरिनेछ । पाइप लाइनसँगै चारआलीमा ४१ हजार किलोलिटर क्षमताको भण्डारण स्थल निर्माण हुनेछ । जसको लेआउट तयार गर्ने काम भइरहेको छ ।

चारआलीमा मटितेल, डिजेल र पेट्रोलको भण्डारणका लागि १५ वटा ट्यांकी निर्माण हुनेछन् । जसमा तीनवटा अन्डरग्राउन्ड हुनेछन् । चारआलीमा रहेको निगमको २३ बिघा जग्गामा भण्डारणका संरचना बनाइनेछ ।

यस्तै बुटवल-गोरखपुर ४०० केभीए क्षमताको डलब सर्किट पावर प्रसारणलाइन उद्घाटन भएको छ । बुटवलदेखि भारतको गोरखपुरसम्म १२० किलोमिटर लामो प्रसारणलाइनको सम्झौता भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीले संयुक्त रुपमा उद्घाटन गरेका छन् । यो सम्झौतासँगै नेपालमा उत्पादन विद्युत भारतमा बिक्री गर्न थप सहज भएको छ ।

भ्रमणका क्रममा क्यूआर कोडबाट भुक्तानी गर्न सकिनेगरी अन्तरदेशीय भुक्तानी सम्झौता भएको छ । यससँगै नेपाली नागरिक भारत जाँदा या भारतीय नागरिक नेपाल आउँदा क्यूआर कोडबाट भुक्तानी गर्न सक्ने भएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र समकक्षी मोदीको उपस्थितिमा अन्तरदेशीय भुक्तानी सम्झौतासँगै क्यूआर कोडबाट भुक्तानी गर्न बाटो खुलेको हो । सम्झौतामा नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निलेशमानसिंह प्रधान र नेसनल पेमेन्ट कर्पोरेसन अफ इन्डियाका सीईओ रितेश शुक्लाले हस्ताक्षर गरे ।

क्यूआर कोडमार्फत भुक्तानी गर्नसक्ने युनिफाइड पेमेन्ट्स इन्टरफेस (यूपीआई) प्रणाली लागू भएको छ । अब मोबाइल बैंकिङ तथा मोबाइल वालेटको क्यूआर कोडमार्फत भुक्तानी गर्न सकिनेछ ।


क्लिकमान्डु