एमडीएमएसमा दर्ता नभएका मोबाइल आजबाट नचल्ने
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले जेठ १ गतेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) लागू गरेको छ।
वैशाख २६ को मन्त्रिपरिषद् बैठकले एमडीएमएस प्रणाली कार्यान्वयनमा ल्याउने निर्णय गरेसँगै प्राधिकरणले शनिबार सार्वजनिक सूचना जारी गर्दै जेठ १ बाट एमडीएमएस व्यवस्था सञ्चालनमा आउने जानकारी दिएको थियो ।
व्यक्तिगत प्रयोजनका लागि विदेशबाट ल्याई भन्सार कार्यालयमा जाँच पास भएका मोबाइल सेटहरू एमडीएमएस प्रणालीमा स्वतः दर्ता हुने व्यवस्था गरिएको प्राधिकरणले जनाएको छ ।
त्यस्तै, नेपाल सरकारको ‘निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश २०७७’ बमोजिम व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू सम्बन्धित व्यक्ति स्वयंले कागजातहरू प्रणालीमा प्रविष्ट गरी दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ ।
एमडीएमएसमा दर्ता गर्नका लागि राहदानी/नागरिकता र प्रस्थान र आगमन टिकट देखिने राहदानीको पृष्ठ वा बोर्डिङ पास हुनुपर्ने उल्लेख छ ।
नेपालभित्र मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट प्रणालीमा दर्ता भए/नभएको यकिन गरी मात्र खरिद गर्न नेपाल दूरसञ्चार प्राधिकरणले अनुरोध गरेको छ । साथै, मोबाइल आयातकर्ता/बिक्रेताहरूले मोबाइल आयात गर्नु अघि अनिवार्य रूपमा प्राधिकरणको पूर्व स्वीकृति लिई प्रधिकरणमा दर्ता भएका मोबाइलमात्र बिक्री वितरण गर्न निर्देशन दिएको छ ।
सरकारले वैदेशिक रोजगारीबाट फर्केका नेपालीले दुईवटा मोबाइल ल्याउन पाउने व्यवस्था गरेसँगै एमडीएमएस लागू हुन लागेको हो ।
यात्रुहरूले आफ्नो साथमा ल्याउन र लैजान पाउने निजी प्रयोगका मालवस्तु सम्बन्धी आदेश बमोजिम विदेशवाट फर्किने यात्रुहरुले आफूले प्रयोग गरिरहेको महसुल नतिरी ल्याउन पाउने १ थान मोबाइल फोनको घोषणा भन्सार कार्यालयमा गर्नु नपर्ने व्यवस्था गरेको छ । उक्त फोन नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएमएस प्रणालीमा व्यक्ति स्वयंले अनलाइन माध्यमबाट दर्ता गर्नुपर्नेछ ।
तर, श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई कम्तीमा लगातार ६ महिना काम गरी फर्केका नेपाली नागरिकले महसुल सुविधामा ल्याउन पाउने थप १ थान मोबाइल फोनको सम्बन्धमा आफू आएको भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया पुरा गर्नु पर्नेछ ।
भन्सार विभागका निर्देशक पुण्यविक्रम खड्काले श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा गएका नेपालीले एउटा चलाइरहेको र एउटा ‘सिलप्याक’ वा दुवै चलाइरहेको मोबाइल ल्याउन पाउने बताए ।
उनका अनुसार अध्ययन तथा अन्य प्रयोजनका लागि विदेशीएका नेपालीले भने एक थान मात्रै फोन ल्याउन पाउनेछन् । ‘श्रम स्वीकृति लिएर वैदेशिक रोजगारमा गई लगातार कम्तीमा छ महिनासम्म काम गरी फर्केका नेपाली नागरिकले महसुल सुविधामा ल्याउन पाउने थप एक थान मोबाइल फोनको भन्सार कार्यालयमा घोषणा गरी भन्सार प्रक्रिया पूरा गर्नुपर्छ’, जारी सूचनामा भनिएको छ, ‘अन्य प्रयोजनका लागि विदेशीएका नेपालीले एक थान मोबाइल फोन सेटको घोषणा भने भन्सार कार्यालयमा गर्नुपर्दैन ।’
के हो एमडीएमएस ?
नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल आयात तथा प्रयोगलाई व्यवस्थापन गर्न लागू गरिएको प्रणालीलाई एमडीएमएस भनिन्छ । अवैधरुपमा राज्यमा भित्रिने मोबाइलहरुलाई प्रतिबन्ध गर्न र सर्वसाधारणको मोबाइल तथा सीमको अनधिकृत प्रयोगलाई कानूनी दायरामा ल्याउन एमडीएमएसको भूमिक रहन्छ ।
मोबाइल सेटको गैरकानुनी आयात, विक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गरी थप व्यवस्थित गर्न, चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ/ब्लकिङ गरी नेपाल भित्र त्यस्ता मोबाइल नचल्ने व्यवस्था गर्न एमडीएमस प्रणालीको लागू गर्ने भएको हो ।
नेपालभित्र प्रयोगमा रहेका मोबाइल डिभाइसहरूको आईएमईआइ नम्बर अनलाइनबाट दर्ता गर्ने प्रयोजनका लागि एमडीएमएस सिस्टम ल्याइएको हो । मोबाइल डिभाइसहरू पत्ता लगाउन र अनधिकृत सेटहरूको सेवा बन्द गर्न एमडीएमएसको प्रयोग गरिन्छ ।
त्यस्तै, विदेशबाट फोन ल्याएर मोबाइल नेटवर्कमा जोडिन चाहनेले एमडीएमएस प्रणालीमा फोन दर्ता गर्नुपर्छ । विदेशबाट आएका व्यक्ति मात्रै नभएर व्यवसायीहरुले मोबाइल फोन भित्र्याउने बेलामा एमडीएमएस प्रणालीको इम्पोटर्स पोर्टलबाट आइएमइआइ नम्बरहरू दर्ता गराउनुपर्छ । उक्त नम्बर दर्ता भएपछि प्राधिकरणले त्यसको परीक्षण गर्छ ।
विदेशबाट ल्याएका वा पठाएका फोनको हकमा प्रयोगकर्ता स्वयंले आइएमइआइ नम्बर दर्ता गर्नुपर्छ । प्राधिकरणको वेबसाइटमा गएर मोबाइल दर्तामा क्लिक गरी दर्ता गर्न सकिन्छ । यसका लागि शुल्क लाग्दैन । एमडीएमएस डट एनटीए डट जीओभी डट एनपीमा गएर आफ्नो मोबाइल डिभाइसको आइएमइआइ नम्बर दर्ता भए/नभएको थाहा पाउन सकिन्छ । सीम प्रयोग हुने उपकरणमा १५ अंकको आइएमइआइ नम्बर हुन्छ । त्यस्तो उपकरणको आइएमइआइ एक अर्कासँग मेल खाँदैन । उक्त आइएमइआइ नम्बर उक्त उपकरणको परिचय प्रदान गर्ने गुण हो ।
विदेशबाट आउँदा यात्रुले बढीमा दुइटा मोबाइल सेट ल्याउन पाउँनेछन् । त्यसभन्दा बढी ल्याएमा शुल्क लाग्नेछ ।
विदेशबाट ल्याइएका फोनमा सीम हालेपछि ती डिभाइस एमडीएमएसमा दर्ता नभएको पाइएमा दर्ताका लागि १५ दिनको अवधि दिइने प्राधिकरणले जनाएको छ । त्यो अवधिमा दर्ता नगरे मोबाइल सेवा बन्द हुन्छ । अवैध रूपमा भित्रिने मोबाइलहरूलाई प्रतिबन्ध गर्न र सर्वसाधारणको मोबाइल तथा सिमको अनधिकृत प्रयोगलाई कानुनी दायरामा ल्याउन एमडीएमएसको भूमिका रहनेछ ।