अर्थमन्त्रीलाई गभर्नरको जवाफ: राष्ट्र बैंकले ठूलो भारी बोके अर्थतन्त्र डुब्छ



काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंकले क्षमताभन्दा ठूलो भारी बोक्न नसक्ने बताएका छन्।

आइतबार बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन) ले आयोजनाको गरेको नेपाल बिजनेस समिट २०२३ अर्थमन्त्री डा प्रकाश शरण महतले फिस्कल स्पेश नभएकाले लचिलो मौद्रिक नीतिमार्फत् अर्थतन्त्र चलायमान बनाउनु पर्ने बताएका थिए ।

सोही कार्यक्रमको अन्तिम सत्रमा प्रमुख वक्ताको रुपमा बोलेका गभर्नर अधिकारीले राष्ट्र बैंकप्रति निकै धेरै अपेक्षा बढेको बताए।

‘अन्य क्षेत्रबाट कुनै सहारा नपाएकाले राष्ट्र बैंकसँग धेरै अपेक्षा गरिएको छ । मौद्रिक नीतिका आफ्नै सीमा छन्, सीमा बाहिर गएर मौद्रिक नीतिले केही गर्न सक्ने अवस्था छैन,’ गभर्नर अधिकारीले कसैको नाम नलिई भने,‘ यदि हामीले आफ्नो सीमाभन्दा बाहिर गएर केही काम गर्न खोज्यौं भने समग्र वित्तीय प्रणाली संकटमा पर्न सक्छ ।’

राष्ट्र बैंकले व्यवसायी स्वार्थका विषय कसैको केही कुरा नसुनेको तर समग्र वित्तीय प्रणालीका हितमा आएका सबै सुझाव अनुसार नीतिगत निर्णय गरिरहेको अधिकारीले बताए ।

‘आफ्ना स्वार्थका विषय सम्बोधन भएको छैन भन्दैमा राष्ट्र बैंकले कसैको कुरा सुनेन भन्न मिल्दैन,’ अधिकारीले भने,‘राष्ट्र बैंकले निक्षेपकर्ता र ऋणी दुबैको हितमा आवश्यक नीतिगत निर्णय गरिरहेको छ ।’

नेपालका वित्तीय क्षेत्र निकै सुरक्षित भएकोका कयौं विदेशी लगानीकर्ताले नेपालमा लगानी गरिरहेको गभर्नर अधिकारीले बताए। राष्ट्र बैंकले सबै संस्थाहरुको दैनिक रिपोर्टिङ लिन प्रणाली बनाएको भन्दै कुनै बैंक जोखिमा नरहेको दावी गरे ।

‘अहिले बैंक तथा वित्तीय संस्थाको खराब कर्जा बढे पनि अन्य देशको तुलनामा निकै सहज अवस्था हो,’ अधिकारीले भने,‘विगतका वर्षहरुभन्दा खराब कर्जा बढेकाले केही बैंकको समस्या बढेको हो । तर, त्यो समस्या भनेको बैंक वित्तीय संस्थामा ठूलो असर गर्ने होइन ।’

बैंक वित्तीय संस्थाले स्थाई तरलता सुविधा लगायतका उपकरणमार्फत् पछिल्लो डेढ महिनादेखि एक रुपैयाँ पनि नलिएकाले बैंकिङ प्रणालीमा तरलता अभाव छ भन्न नमिल्ने अधिकारीले बताए ।

‘बैंकलाई तलरताको अभाव भएको भए उहाँहरुले हामीसँग पैसा लिनु हुन्थ्यो । उहाँहरु पैसा लिन आउनु भएको छैन भन्नुको अर्थ बजारमा तरलता अभाव छैन भन्ने हो,’ अधिकारीले भने, ‘वित्तीय प्रणाली सबल नहुँदासम्म समग्र आर्थिक सुधार हुन सक्दैन । सबल वित्तीय प्रणाली बनाउन केन्द्रीय बैंकले जिम्मेवार भएर काम गरिरहेको छ ।’

बैंक, व्यवसायी लगायतका समग्र वित्तीय प्रणालीलाई जोगाउनका लागि राष्ट्र बैंकले कोरोना महामारीको सुविधा दिएको अधिकारीले बताए ।

‘कोरोना महामारी र अहिलेको अवस्था फरक छ,’अधिकारीले भने,‘राष्ट्र बैंकले जहिले पनि तथ्यांकका आधारमा नीतिगत निर्णय गर्छ । अहिले पनि त्यसरी काम गरिरहेको छ । यो महिनाको अन्त्यसम्ममा मौद्रिक नीतिको समीक्षामार्फत् राष्ट्र बैंकले उपयुक्त तथ्यांकले सुझाए अनुसारको लिन्छ ।’


क्लिकमान्डु