राष्ट्र बैंकको सञ्चालकमा ६ जना आकांक्षी



काठमाडौं । रिक्त रहेको नेपाल राष्ट्र बैंकको सञ्चालक बन्न ६ जनाले आकांक्षा देखाउँदै सक्रियता बढाएका छन् । यही बैशाख ११ गते सुवोधलाल कर्णको कार्यकाल सकिएपछि राष्ट्र बैंकमा एउटा सञ्चालक खाली भएको हो ।

आकांक्षा देखाउनेमा बैंकका अध्यक्ष, सञ्चालक, पूर्वडेपुटी गभर्नरदेखि राष्ट्र बैंककै पूर्वक्याडरसमेत रहेका छन् ।

बैंकर्स संघका अध्यक्षसमेत रहेर काम गरिसकेका उपेन्द्र पौडेल र राजनसिंह भण्डारीले राष्ट्र बैंकको सञ्चालक बन्न आकांक्षा देखाएका छन् । पौडेल एनएमबि बैंकका पूर्वसीइओ हुन् भने अहिले नविल बैंकका अध्यक्ष हुन् । भण्डारी राष्ट्र बैंककै कार्यकारी निर्देशकबाट रिटायर्ड तथा सिटिजन्स बैंकका पूर्वसीइओ र अहिले अध्यक्ष हुन् । भण्डारी अहिले बैंक तथा वित्तीय संस्था परिसंघ (सिबिफिन)को महासचिव हुन् ।

त्यसैगरी, राष्ट्र बैंकको डेपुटी गभर्नरबाट अवकास पाएका शिवराज श्रेष्ठ र कार्यकारी निर्देशकबाट अवकास पाएका रविन्द्र पाण्डे पनि सञ्चालक बन्ने दौडमा छन् । राष्ट्र बैंकको सञ्चालक भएर काम गरिसकेका रामजी रेग्मी पनि फेरि सञ्चालक बन्ने दौडमा छन्।

त्यसैगरी, प्राइम बैंकका सञ्चालकसमेत रहेका नेपाल आर्थिक पत्रकार समाजका पूर्वअध्यक्ष डा. गजेन्द्र विष्ट पनि रेसमा छन् । उनले पूर्वअर्थमन्त्री डा. रामशरण महतको सल्लाहकार भएर पनि काम गरिसकेका छन् ।

आकांक्षीहरुले विभिन्न माध्यमको प्रयोग गरी अर्थमन्त्री डा. प्रकाशशरण महत र कांग्रेस सभापति शेरबहादुर देउवासँग आफूलाई नियुक्ति गर्नुपर्ने प्रस्ताव पुर्याएका छन् । कांग्रेसका अर्थमन्त्री भएकाले राष्ट्र बैंकके सञ्चालक पनि उसैको भागमा पर्ने देखेर कांग्रेसनिकट विषय विज्ञहरुले आकांक्षा देखाएका हुन् ।

पाण्डेलाई नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका अध्यक्ष पृथ्वीबहादुर पाँडेको ब्याकिङ छन् । पाँडे डा. रामशरण महतका सम्धी हुन्, जसकारण अहिलेका अर्थमन्त्री प्रकाशशरण महतका पनि सम्धी नै हुन् । कांग्रेस केन्द्रिय सदस्यसमेत रहेका सांसद् विनोद चौधरीले पौडेललाई ब्याकिङ गरेको चर्चा छ भने शिवराज श्रेष्ठलाई कांग्रेस नेता प्रकाशमान सिंहले।

पछिल्लो एक वर्षदेखि अर्थतन्त्र संकुचनमा परेका कारण आम मान्छेहरु पीडामा छन् । अर्थतन्त्र सुधारका लागि सरकारले कुनै ठोस कदम नचालिरहेको अवस्थामा सबैको ध्यान राष्ट्र बैंकतर्फ छ । त्यसैले राष्ट्र बैंकमा सरकारले कसलाई सञ्चालक बनाएर पठाउँछ भन्ने चासो सरोकारवालाहरुमा अलि बढी नै छ ।

अर्थतन्त्र बुझेको व्यक्ति सञ्चालक समितिमा पुग्यो भने उसले राम्रो नीति बनाउन योगदान गर्ने र राम्रो नीतिले अर्थतन्त्रमा सुधार आउने भएकाले चासो बढेको सरोकारवालाहरु बताउँछन् ।

राष्ट्र बैंकले मौद्रिक उपकरण प्रयोग गरेर बजारलाई सहज बनाउनु पर्ने आवाजहरु सडकदेखि सदनसम्म बुलन्द भइरहेका सरकारले नियुक्ति गर्ने सञ्चालकको भूमिका ठूलो हुने अपेक्षा गरिएको छ ।

‘राष्ट्र बैंकको सञ्चालक समितिमा बसेर गभर्नरको यस म्यान होइन कि गभर्नरलाई नै सही दिशानिर्देश गर्नसक्ने व्यक्तिको खाँचो छ,’ एक पूर्वगभर्नरले क्लिकमान्डुसँग भने, ‘अदालतबाट फर्किएका गभर्नर बेलगाम जस्तै छन्, सरकारले उनलाई लगाम लगाउन सक्ने सञ्चालक नियुक्ति गर्नुपर्छ ।’

गभर्नरले अर्थतन्त्र बचाउन चालिएका कदमहरु ठीकै भएपनि त्यसले पारेको र पार्ने प्रभावको गम्भीर समीक्षा सञ्चालक समितिमा गर्नसक्ने व्यक्ति अहिलेको आवश्यकता भएको ती पुर्वगभर्नरको भनइ थियो ।

राष्ट्र बैंकमा ७ जनाको सञ्चालक समिति रहने व्यवस्था छ । जसमा गभर्नर अध्यक्ष हुन्छन् भने दुई जना डेपुटी गभर्नर र अर्थसचिव पदेन सञ्चालक समितिको सदस्य हुन्छन् ।

बाहिरबाट ३ जना सञ्चालक अर्थमन्त्रीको प्रस्तावमा मन्त्रिपरिषदले गर्छ । अहिले सरकारले बाहिरबाट नियुक्ति गरेका दुई जना चिन्तामणि शिवाकोटी र शंकर आचार्य सञ्चालक छन् भने एउटा सञ्चालक खाली छ ।


क्लिकमान्डु