यी हुन् नाफाका आधारमा ‘टप फाइभ’ विकास बैंक



काठमाडौं । विभिन्न सूचकहरुका आधारमा बैंकहरुको अवस्था कस्तो छ भनेर विश्लेषण गर्न सकिन्छ । जस्तैः चुक्ता पुँजी, सञ्चित कोष, नाफा, निक्षेप, कर्जा, खराब कर्जा, प्रतिसेयर आम्दानी, रिटर्न अफ इक्वीटी र सेयर मूल्य आदि ।

यस समाचारमा भने विकास बैंकहरुको नाफालाई मात्रै आधार मानेर विश्लेषण गरिएको छ । सञ्चालनमा रहेका राष्ट्रियस्तरका सबै विकास बैंकहरुको त्रैमासिक वित्तीय विवरणलाई विश्लेषण गरिएको छ । चालू आर्थिक वर्षको तेस्रो त्रैमास अर्थात् चैत मसान्तसम्मको बैंकहरुले प्रकाशित वित्तीय विवरणमा उल्लेखित नाफालाई यहाँ समावेश गरिएको छ ।

जुनसुकै व्यवसायको मुख्य उदेश्य नाफा कमाउनुसँग जोडिएको हुन्छ । बैंकिङ क्षेत्रपनि एउटा व्यवसाय नै हो । लगानीकर्ताको चासो पनि बैंकको नाफासँगै जोडिएको हुन्छ । बैंकले जतिधेरै नाफा कमाउँछन्, उक्त बैंकका लगानीकर्ताहरुले पनि त्यति नै धेरै लाभांश पाउँछन् । अर्थात् जुन बैंकले जति धेरै नाफा कमायो त्यो बैंकमा लगानी गर्ने लगानीकर्ताहरुले त्यति नै धेरै लाभांश पाउँछन् । सूचीकृत कम्पनीहरुले दिने लाभांशले सो कम्पनीको सेयरको माग बढाउँछ । माग बढेपछि मूल्य पनि स्वभाविकरुपमा बढ्छ । नाफाबाटै कम्पनीले आगामी दिनमा दिन सक्ने लाभांशको आंकलन समेत गर्न सकिने हुनाले विभिन्न सूचकहरुमध्ये लगानीकर्ताका लागि नाफा निकै महत्वपूर्ण सूचक हो ।

त्यसैले हाल सञ्चालनमा रहेका राष्ट्रियस्तरका विकास बैंकहरुले प्रकाशित गरेको चालू आर्थिक बर्षको तेस्रो त्रैमाससम्मको नाफाका आधारमा कुन कुन बैंक अब्बल देखिएका छन् भनेर यहाँ प्रस्तुत गरिएको हो ।

चालू आर्थिक वर्षको ९ महिनाको अवधिमा सञ्चालनमा रहेका ८ वटा राष्ट्रियस्तरका विकास बैंकहरुले कुल ३ अर्ब ६१ करोड ३२ लाख रुपैयाँ नाफा कमाएका छन् । बैंकहरुले गत आवको सोही अवधिको तुलनामा २६.८० प्रतिशतले नाफा बढाएका हुन् । गत आवको तेस्रो त्रैमाससम्मको अवधिमा ४ अर्ब ९३ करोड ५९ लाख रुपैयाँ नाफा कमाएका थिए ।

राष्ट्रियस्तरका ८ वटा विकास बैंकहरुमध्ये शिर्ष पाँचमा मुक्तिनाथ विकास बैंक, गरिमा विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, लुम्बिनी र महालक्ष्मी विकास बैंक परेका छन् । बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार यी बैंकहरु नाफाको सूचकमा शिर्ष पाँचमा परेका हुन् ।

मुक्तिनाथ पहिलो, गरिमा दोस्रो, पछ्याउँदै साइन

बैंकहरुले प्रकाशित गरेको वित्तीय विवरणअनुसार ८ विकास बैंकहरुमध्ये मुक्तिनाथले सर्वाधिक नाफा कमाएको छ । मुक्तिनाथले चालू आवको तेस्रो त्रैमाससम्मको अवधिमा ८० करोड ६२ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको हो ।

यस्तै, धेरै नाफा कमाउनेको दोस्रो सूचीमा गरिमा विकास बैंक परेको छ । गरिमा विकास बैंकले यस अवधिमा ६५ करोड १८ लाख ७१ हजार रुपैयाँ नाफा कमाएको छ । सर्वाधिक नाफा कमाउनेको शिर्ष स्थानमा रहेका मुक्तिनाथ र गरिमालाई साइन रेसुङ्गाले पछ्याएको छ । मुक्तिनाथ र गरिमालाई पछ्याउँदै साइन रेसुङ्गा धेरै नाफा कमाउने विकास बैंकको तेस्रो नम्बरमा परेको हो । साइनले यस अवधिमा ५५ करोड ४५ लाख रुपैयाँ नाफा कमाएको हो ।

धेरै नाफा कमाउने बैंकको चौथो नम्बरमा लुम्बिनी विकास बैंक परेको छ । लुम्बिनी विकास बैंकले ४६ करोड ८१ लाख ५१ हजार रुपैयाँ नाफा कमाएको छ । यस्तै, महालक्ष्मी विकास बैंकले ३७ करोड ८९ लाख ४९ हजार रुपैयाँ नाफा कमाएको छ । महालक्ष्मी पाँचौ नम्बरमा परेको हो ।

यस्तै, छैठौ नम्बरमा कामना सेवा विकास बैंक परेको छ । यस अवधिमा कामना सेवा विकास बैंकले ३० करोड ५६ लाख ७९ हजार रुपैयाँ नाफा कमाएको छ । यस्तै, सातौ नम्बरमा सांग्रिला डेभलपमेन्ट बैंक परेको छ । सांग्रिला डेभलपमेन्ट बैंकले तेस्रो त्रैमासको अवधिमा २४ करोड ६१ लाख ४८ हजार रुपैयाँ नाफा कमाएको छ । आठौ नम्बरमा ज्योति विकास बैंक परेको छ । यस अवधिमा ज्योति विकास बैंकले २० करोड १६ लाख १८ हजार रुपैयाँ नाफा कमाएको छ ।


क्लिकमान्डु