रामचन्द्र संघईले कसलाई गर्लान् समर्थन ? यी हुन् २ सम्भावना
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको इतिहासमा पहिलो पटक वरिष्ठ उपाध्यक्षको चयन दोस्रो चरणको निर्वाचनबाट हुँदै छ । महासंघको विधानअनुसार अहिले निर्वाचित हुने वरिष्ठ उपाध्यक्षले तीन वर्षपछि महासंघको नेतृत्व गर्ने भएकाले दोस्रो चरणको निर्वाचन थप रोचक हुनेछ ।
पहिलो चरणमा ३७.९९ प्रतिशत मत ल्याएका अन्जन श्रेष्ठ र ३१.५१ प्रतिशत मत ल्याएका उमेशलाल श्रेष्ठ दोस्रो चरणमा प्रवेश गरेका छन् भने ३०.४६ प्रतिशत मत पाएका रामचन्द्र संघई बाहिरिएका छन् ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष निर्वाचित हुन ५० प्रतिशत मत कटाउनु पर्छ । जसले गर्दा, दोस्रो चरणको निर्वाचनमा रामचन्द्र संघईलाई मत दिएका मतदाता निर्णायक हुने भएका छन् ।
पहिलो चरणको निर्वाचनमा जिल्ला/नगरतर्फ अन्जन, एसोसिएटतर्फ रामचन्द्र र बस्तुगततर्फ उमेशलाल पहिलो भएका थिए ।
जिल्ला नगरको मतभार ५० प्रतिशत, एसोसिएटको मतभार ३० प्रतिशत र बस्तुगततर्फको मतभार २० प्रतिशत मतभार हुने महासंघको विधानमा व्यवस्था छ ।
महासंघको निर्वाचनमा जिल्ला/नगरतर्फ ११७, बस्तुगततर्फ १२३ र एसोसिएटतर्फ १ हजार ६५९ मतदाताले मतदान गरेका थिए ।
महासंघको ५४ औं महाधिवेशनबाट बस्तुगत तर्फको उपाध्यक्ष निर्वाचित भएका अन्जन श्रेष्ठले यसपटक ४१ मत प्राप्त गरे । बस्तुगततर्फ कुल १२३ मत गणना हुँदा संघईले १२ मत पाउँदा उमेशलालले ५६ प्रतिशत अर्थात् ६९ मत पाए ।
यस्तै, एसोसिएटमा पहिलो भएका रामचन्द्रले ६१० मत ल्याउँदा ५५८ मत सहित अन्जन दोस्रो स्थानमा रहे । तेस्रो स्थानमा रहेका उमेशलालले ४१५ मत प्राप्त गरे ।
कुल मत परिणामा ५० प्रतिशत मतभार रहेको जिल्ला/नगरतर्फ अन्जनले ४७ (४० प्रतिशत), रामचन्द्रले ३९ (३३.३३ प्रतिशत) र उमेशलालले २८ (२३.९३ प्रतिशत) मत पाएका छन् ।
यदी अन्जनले पहिलो चरणमा पाएको मत दोस्रो चरणमा जोगाउन सके भने जितका लागि थप १२.०२ प्रतिशत मत आवश्यक पर्छ । उमेशलालले पहिलो चरणमा ल्याएको मत जोगाउन सके भने जित निकाल्न थप १८.५ प्रतिशत मत आवश्यक हुन्छ ।
जिल्ला नगरको २.५६ मत बराबर एक प्रतिशत हुन्छ । संघईलाई मतदान गरेका ३९ जना जिल्ला नगरका अध्यक्ष मध्ये ३१ जनाले मात्रै अन्जनलाई मत दिए भने उनी विजयी हुने छन् ।
संघईलाई मत दिएका सबै जिल्ला नगरका अध्यक्षले उमेशलाललाई मत दिए पनि उनले जित निकाल्न बस्तुगत र एसोसिएटबाट थप मत ल्याउनु पर्छ ।
३७.९९ प्रतिशत मत ल्याएका अन्जनले संघईंले प्राप्त गरेको ४० प्रतिशत मात्रै मत ल्याउँदा पनि विजयी हुन सक्छन् । तर, पहिलो चरणमा ३१.५१ प्रतिशत मत ल्याएका उमेशलालले जित निकाल्न संघईले ल्याएको मतबाट ६० प्रतिशतभन्दा बढी मत पाउनु पर्छ।
संघईले चाहना राख्दा पनि ६० प्रतिशत भोट एकै ठाउँमा खसाल्न कठिन हुने भएकाले दोस्रो चरणमा अन्जन बलियो देखिएका छन् । तर, महासंघको हुँदै गरेका अध्यक्ष चन्द्र ढकाल र केही पूर्व अध्यक्षहरुले जिल्ला नगरका साथैं एसोसिएट तर्फको भोट पनि उमेशलालको पक्षमा खसाउन सहयोग गरे भने नजिता अन्जनको पक्षमा नआउन पनि सक्छ ।
महासंघको निर्वाचनलाई नजिकबाट नियालिरहेका एक उद्योगीकाअनुसार ठूला उद्योगी सदस्य रहेको एसोसिएटबाट उमेशलालले कति मत चोर्ने सक्छन् र जिल्ला नगरमा पहिलो चरणमा पाएको २८ बाट कति मत बढाउन सक्छन् त्यसमा उमेशलालको जित निर्भर हुने छ ।
महासंघको जिल्ला नगर तर्फको उपाध्यक्षमा संघईं प्यानलबाट उठेका सुरकृष्ण श्रेष्ठ विजयी भए । श्रेष्ठ नेपाली कांग्रेसको तर्फबाट बागमती प्रदेश सभा सदस्यको समानुपातिक सूचीमा थिए ।
महासंघको राजनीतिलाई बुझ्नेहरु यसपटक ७० भन्दा बढी जिल्ला/नगरका मतदाता कुनै न कुनै रुपमा कांग्रेस राजनीतिमा जोडिएकाहरु रहेको बताउँछन् ।
जसले गर्दा कम्युनिस्ट पारिवारिक पृष्ठभूमि भएका उमेशलालभन्दा कांग्रेस पृष्ठभूमि भएका अन्जनलाई जिल्ला नगरको मत तान्न सहज हुने केही व्यवसायीको बुझाइ छ ।
एसोसिएटतर्फ भने पशुपति मुरारका र हालका अध्यक्ष शेखर गोल्छाबाट सहयोग पाउने व्यक्तिले दोस्रो चरणमा बढी मत ल्याउन सक्छ ।
बस्तुगतबाट राजनीति गरेर पनि अन्जनले उमेशलाललाई बस्तुगतमा जित्ने सम्भावना छैन । बस्तुगतको मतभार २० प्रतिशत मात्रै भएकाले संघईले पाएको जिल्ला नगर र एसोसिएटको मत ल्याउन सक्ने व्यक्ति विजयी हुने निश्चित छ ।
दुबै उम्मेदवारको राजनीतिक पृष्ठभूमि, मारबाडी समुदायको उमेशलाल र अन्जनसँगको विगतको सम्बन्ध हेर्दा यो निर्वाचन अन्जनको पक्षमा जान सक्ने आधार देखिएको व्यवसायीहरुको दाबी छ । तर, पछिल्लो समय संयमित हुँदै सबै व्यवसायीसँग मिजासीला बन्दै गएका र पहिलो चरणमा एसोसिएटतर्फ अनुमानभन्दा बढी मत पाएका उमेशलाल कमजोर भने छैनन् ।