उत्पादनमूलक क्षेत्रलाई पुनर्कर्जा दिने गभर्नरको आश्वासन, वैशाखमै ३५ अर्ब दिने
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले उत्पादनमूलक उद्योगलाई पुनर्कर्जामार्फत् सहजीकरण गर्ने बताएका छन् ।
गभर्नर अधिकारीलाई भेट्न पुगेका उद्योगी व्यवसायीलाई होटल, जलविद्युत् लगायतका उत्पादनमूलक क्षेत्रमा कोरोना महामारीको क्रममा दिए जस्तै पुनर्कर्जा सुविधा दिने योजनामा केन्द्रीय बैंक रहेको बताएका हुन् ।
‘हामीसँगको भेटमा गभर्नरसा’बले उत्पादनमूलक क्षेत्रलाई पुनरुकर्जा दिएर संकटबाट उकास्छु भन्नुभएको छ,’ एक व्यवसायीले भने ।
बैंक तथा वित्तीय संस्थाले लगानी गरेको कर्जाको सुरक्षणमा नेपाल राष्ट्र बैंकबाट उपलब्ध गराइने कर्जालाई ‘पुनर्कर्जा’ भनिन्छ । केन्द्रीय बैंकले बनाएको पुनर्कर्जा कार्यविधि २०७७ अनुसार साधारण प्रकृतिको पुनर्कर्जामा केन्द्रीय बैंकले बैंक वित्तीय संस्थासँग ३ प्रतिशत ब्याज लिने बैंकले ऋणीलाई उक्त रकम ५ प्रतिशत ब्याजदरमा लगानी गर्नुपर्ने व्यवस्था छ ।
स्रोतका अनुसार केन्द्रीय बैंकले वैशाखमा ३५ अर्ब रुपैयाँ पुनर्कर्जामार्फत् बजारमा पठाउने तयारी गरेको छ । तर, उक्त रकम उत्पादनमूलक क्षेत्रमा मात्रै लगानी गर्न मिल्ने सर्त केन्द्रीय बैंकले राख्ने राष्ट्र बैंकका एक अधिकारी बताउँछन् ।
कोरोना महामारीको क्रममा राष्ट्र बैंकले पुनर्कर्जा कार्यविधि बनाएर सहुलियत पूर्णब्याजदरमा प्रवाह गरेको थियो ।
तर, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले राष्ट्र बैंकले सरकारबाट वित्तीय स्रोत नलिई सहुलियतपूर्ण ब्याजदरमा पुनर्कर्जा लगानी गर्नु उपयुक्त नभएको बताउँदै आएपछि पुनर्कर्जाको रकम घट्दै आएको थियो ।
२०७८ माघमा राष्ट्र बैंकले १ खर्ब ५३ अर्ब ६९ करोड रुपैयाँ सहुलियतपूर्ण ब्याजदरमा पुनर्कर्जा लगानी गरेको थियो । २०७९ माघ मसान्तमा उक्त रकम ७ अर्ब ८६ करोड रुपैयाँमा झरेको छ ।
गत मंसिर मसान्तसम्म नेपाल राष्ट्र बैंकले सहुलियत दरमा १ खर्ब ३७ करोड रुपैयाँ पुनर्कर्जा प्रवाह गरेकोमा पुस मसान्तमा उक्त रकम ११ अर्ब ७५ करोडमा झरेको थियो ।
गत असार मसान्तमा राष्ट्र बैंकले १ खर्ब ११ अर्ब ७६ करोड रुपैयाँ पुनर्कर्जा लगानी गरेको थियो । केन्द्रीय बैंकले आफ्नो क्षमताभन्दा बढी पुनर्कर्जा लगानी गरेको आईएमएफको आपत्तिपछि असारयता पुनर्कर्जाको रकम घट्दो थियो ।
तर, बजारमा आर्थिक गतिविधिमा आएको सुस्तताले केही उत्पादनमूकल उद्योगलाई समस्या भएको भन्दै राष्ट्र बैंकले आफ्नो क्षमताभित्र हुने गरी पुनर्कर्जा दिने योजना बनाएको राष्ट्र बैंकका एक अधिकारी बताउँछन् ।
राष्ट्र बैंकसँग अहिले ५६ अर्ब रुपैयाँ पुनर्कर्जा दिने क्षमता भए पनि माघसम्म ७ अर्ब ८६ करोड रुपैयाँमात्रै पुनर्कर्जा दिएको छ । कोरोना महामारीभन्दा अगाडि पुनर्कर्जामार्फत् बजारमा तरलता पठाउने गरिएको थिएन ।
२०७७ असारमा राष्ट्र बैंकबाट सहुलियतपूर्ण ब्याजदरमा ७ अर्ब ४९ करोड रुपैयाँ पुनर्कर्जा लगानी भएको थियो । त्यसबखत भूकम्पपीडितलाई १ अर्ब ६१ करोड र साधारणतर्फ ५ अर्ब ८८ करोड पुनर्कर्जा लगानी भएको थियो ।
अहिले वित्तीय प्रणालीमा केही कठिनाइ भएलगत्तै केन्द्रीय बैंकबाट सहजीकरण खोज्ने विकृति बढ्दो क्रममा छ ।
‘सरकारले आर्थिक गतिविधि बढाउने गरी काम गर्ने कुनै सम्भावना नरहेकाले केन्द्रीय बैंकसँग सहुलियत माग्ने अवस्थामा हामी पुगेका हौं,’ एक व्यवसायीले भने, ‘गभर्नरसा’बले ३५ अर्ब पुनर्कर्जामार्फत् उत्पादनमूलक क्षेत्र चलायमान बनाउने आश्वासन दिनुभएको छ । हामीलाई विश्वास छ, उहाँले सहुलियतपूर्ण ब्याजदरमा कर्जा दिएर हाल देखिएका समस्या समाधान गर्न सहयोग गर्नुहुन्छ ।’