महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक, वरिष्ठ उपाध्यक्षमा सहमतिको सम्भावना क्षीण
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ । निर्वाचन समितिको शनिबार बसेको बैठकले यही २९ गते हुने निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो ।
मतदान कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुनेछ । मतदान केन्द्रभित्र कुनै पनि उम्मेदवार वा समूहको फ्लेक्स, ब्यानरहरु टाँस्न, झुन्ड्याउन र भड्किलो प्रदर्शन गर्न निशेष गरिएको छ ।
मतदान बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म चल्नेछ । तर, उक्त समयभित्र मतदान स्थलभित्र प्रवेश गर्ने मतदातालाई जतिसुकै समय लागे पनि भोट खसाल्न दिइने मुख्य निर्वाचन अधिकृत लीलामणि पौडेलले जानकारी दिए । त्यस्तै तोकिएको समयावधिमा मतदात सुरु हुन नसके त्यति नै समय थप गरिने कार्यालयले जनाएको छ ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारले निर्वाचित हुन पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन नसके दोस्रो चरणको निर्वाचन चैत ३० गते बिहान ११ बजेदेखि ५ बजेसम्म हुनेछ ।
मतदान गर्न जाँदा मत संकेत गर्ने कोठामा मोबाइल, क्यामेरा तथा सलाइ, लाइटर, प्रज्वलनशील पदार्थ र तरल पदार्थ लिएर जान निषेध गरिएको छ । मतदान गर्न जाँदा मुख्य प्रतिनिधि परिचय पत्रका साथै आफ्नो परिचय पत्र खुल्ने फोटोसहितको परिचय पत्र अनिवार्य गरिएको छ ।
जिल्ला/नगर तथा वस्तुगत संघ समूहका लागि १-१ तथा एसोसिएटका लागि ३ वटा मतदान केन्द्र कायम गरिएको निर्वाचन समितिको कार्यालयले जनाएको छ । जिल्ला/नगर समूहका सबै पदका लागि रातो रंगको मतपत्र, वस्तुगत समूहका सबै पदका लागि निलो रंगको मतपत्र र एसोसिएट समूहका सबै पदका लागि सेतो रंगको मतपत्र निर्धारण गरिएको छ । प्रदेश सदस्य र संस्थागत समूह सदस्य पदको मतपत्र भने पहेँलो रंगको हुनेछ ।
मतगणना स्थलमा मादक पदार्थ सेवन गरी होहल्ला गरेमा सुरक्षाकर्मीको सहायता लिएर हल बाहिर पठाइने निर्वाचन समितिको कार्यालयले स्पष्ट पारेको छ । मतदान र मतगणना स्थलमा वरिष्ठ उपाध्यक्ष र उपाध्यक्ष पदका उम्मेदवारले तीन-तीन जना प्रतिनिधि राख्न सक्नेछन् ।
६४ पदमा ११६ प्रतिस्पर्धी, २ निर्विरोध निर्वाचित
महासंघको नयाँ नेतृत्व चयनका लागि ६४ पदमा ११८ जनाले मनोनयन दर्ता गराएका छन् । उम्मेदवारी दर्ता गराएकामध्ये लुम्बिनी प्रदेश सदस्यमा जमशेर मियाँ र द्विराष्ट्रिय सदस्यमा नेपाल-भारत उद्योग वाणिज्य संघका प्रतिनिधि सुनिल केसी निर्विरोध निर्वाचित भएका छन् । ती दुई पदका लागि एकल उम्मेदवारी परेको हो ।
निर्वाचनमा विभिन्न ६४ पदका लागि ११६ जनाले प्रतिस्पर्धा गर्नेछन् । वरिष्ठ उपाध्यक्ष पदका लागि ३, जिल्ला/नगरतर्फको उपाध्यक्षका लागि ३, वस्तुगततर्फको उपाध्यक्षका लागि ३ र एसोसिएटतर्फको उपाध्यक्षका लागि २ जनाको उम्मेदवारी परेको छ ।
वरिष्ठ उपाध्यक्षका लागि महासंघका वस्तुगततर्फका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, वस्तुगततर्फका वर्तमान उपाध्यक्ष अञ्जन श्रेष्ठ र एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघईले आ-आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन् ।
उमेशलालको प्यानलबाट जिल्ला/नगरतर्फ उपाध्यक्षमा दिनेश श्रेष्ठले मनोनयन दर्ता गराएका छन् भने वस्तुगततर्फको उपाध्यक्षमा हेमराज ढकाल र एसोसिएटतर्फको उपाध्यक्षमा भरतराज आचार्यले उम्मेदवारी दिएका छन् ।
त्यस्तै अञ्जन श्रेष्ठको प्यानलबाट जिल्ला/नगरतर्फ उपाध्यक्षमा अरुणराज सुमार्गी र वस्तुगततर्फ उपाध्यक्षमा मनीषलाल प्रधानले उम्मेदवारी दिएका छन् । श्रेष्ठले एसोसिएटतर्फको उपाध्यक्षका लागि उमेशलालकै प्यानलका भरतराज आचार्यलाई समर्थन गरेका छन् ।
संघईको प्यानलबाट उपाध्यक्ष पदमा जिल्ला नगरतर्फ सुरकृष्ण वैद्य, वस्तुगततर्फ सकुन्तलाल हिराचन र एसोसिएटतर्फ ज्योत्स्ना श्रेष्ठ उठेका छन् ।
जिल्ला/नगरतर्फ १८ सदस्यका लागि ३२, वस्तुगततर्फ १४ सदस्यका लागि २८ र एसोसिएटतर्फ १९ सदस्यका लागि २९ जनाको उम्मेदवारी परेको छ । प्रदेश सदस्यतर्फ कोशीमा १ सदस्यका लागि ३, मधेसमा १ सदस्यका लागि २, बागमतीमा १ सदस्यका लागि २, गण्डकीमा १ सदस्यका लागि २, कर्णालीमा १ सदस्यका लागि ३ र सुदूरपश्चिममा १ सदस्यका लागि २ जनाको उम्मेदवारी परेको छ ।
सर्वसम्मतिको सम्भावना क्षीण
निर्वाचन समितिको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न १ दिन मात्र बाँकी रहँदा वरिष्ठ उपाध्यक्ष पदमा सर्वसम्मतिको सम्भावना क्षीण बन्दै गएको छ ।
चैत २७ गते साँझ ५ बजे अन्तिम नामावली प्रकाशन हुनेछ । अन्तिम नामावली प्रकाशन हुनु अघिसम्ममा दाबी विरोध गर्ने र उम्मेदवारी फिर्ता लिन चाहनेले फिर्ता लिन सक्ने व्यवस्था छ ।
स्वत: अध्यक्ष बन्न लागेका हालका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सर्वसम्मतिको प्रयास भइरहेको बताएका छन् । बुधबार पनि उनले वरिष्ठ उपाध्यक्षका तीनै जना प्रत्यासीलाई लाजिम्पाट स्थित ले हिमालय होटलमा बोलाएर सहमतिको प्रयास गरेका थिए ।
ढकालले महासंघलाई सबै उद्योगी व्यवसायीको साझा प्ल्याटफर्म बनाउनका लागि पनि सकेसम्म सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने परम्परा बसाल्नुपर्ने बताउँदै आएका छन् । अहिले मुलुकको अर्थतन्त्र र व्यवसायी पनि समस्यामा रहेकाले यस्तो अवस्थामा निजी क्षेत्रबीच एकता र सहमतिको झनै ठूलो महत्व रहने उनको भनाइ छ ।
‘हामी एक भयौँ भने मात्र निजी क्षेत्र बलियो हुन्छ, हाम्रो महत्व बढ्छ, हाम्रा माग सम्बोधन गराउन सकिन्छ, अहिलेको अवस्थामा झन् हामी एक हुनुको विकल्प छैन,’ ले हिमालय होटलमा भएको भेटवर्तामा वरिष्ठ उपाध्यक्षका तीनै उम्मेदवारलाई उनले भनेका थिए ।
तर, सर्वसम्मतिको सम्भावना भने क्षीण बन्दै गएको छ । वरिष्ठ उपाध्यक्षका उम्मेदवारलाई ढकालले महासंघको ३ बर्से कार्यकाललाई विधान संशोधन गरेर २ वर्षमा झार्ने र तीनै जनालाई २-२ वर्ष नेतृत्व गर्न आग्रह गरेका थिए ।
तर, उम्मेदवार संघईले आफूलाई अहिलेकै विधानमा भएको ३ बर्से व्यवस्था ठिक लागेको धारणा राखेका थिए । क्लिकमान्डुसँगको अन्तर्वार्तामा पनि उनले आफूलाई पहिलो कार्यकाल दिइए सहमति हुनसक्ने पनि बताएका थिए । तर, वरिष्ठ उपाध्यक्षका अरु २ उम्मेदवारहरु अञ्जन श्रेष्ठ र उमेशलाल श्रेष्ठ संघईलाई पहिलो कार्यकाल दिन तयार देखिँदैनन् ।
मतदाता र मतभार
हाल महासंघमा जिल्ला/नगर उद्योग वाणिज्य संघतर्फ १२१, वस्तुगततर्फ १२३, द्विराष्ट्रियतर्फ १२ र एसोसिएटतर्फ १ हजार ७६२ गरी २ हजार १८ सदस्य छन् । मतभार पनि फरक-फरक हुन्छ ।
जिल्ला/नगर उद्योग संघको ५०, वस्तुगतको २० तथा द्विराष्ट्रिय र एसोसिएटको १५-१५ प्रतिशत मतभार हुन्छ ।
महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था छ । त्यसकारण पनि वरिष्ठ उपाध्यक्ष पदमा कडा प्रतिस्पर्धा हुने गर्छ । ढकाल साधारण सभाबाट स्वत: अध्यक्ष बन्नेछन् ।