नेपालका बैंकहरु सुरक्षित छन्, डराउनुपर्ने अवस्था छैन



राष्ट्र बैंकको कसिलो नियमनले नेपालका बैंक सुरक्षित छन् । ब्याजदर बैंकले भन्दा पनि माग र आपूर्तिको नियमले बढाएको हो ।

नेपाल सरकारले खुला प्रतिस्पर्धा युक्त उदारीकरणको नीति लिएपछि नेपालमा बैंक वित्तीय संस्थाको संख्या बढेको हो । बैंकले ब्याज पनि लिन्छ ब्याज पनि दिन्छ । निक्षेपकर्तालाई कति ब्याज दिने र ऋणीसँग कति ब्याज लिने भन्ने विषय बजारले निर्धारण गर्ने गर्छ ।

हामीले जनताको पैसाको संरक्षक भएर सुरक्षित क्षेत्रमा लगानी गर्ने काम गर्छौं । हिजोको दिनमा निक्षेपको ब्याजदर कम थियो । जसले गर्दा आधार दर पनि कम थियो । र, हामीले सस्तो ब्याजदरमा कर्जा दिएका थियौं ।

तर, पछिल्लो समय निक्षेपको स्रोत घट्यो । सस्तो ब्याजदरमा निक्षेप पाइने अवस्था नरहेपछि बैंकले ब्याज बढाउनु पर्‍यो ।
७/८ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याजदर ११/१२ प्रतिशत पुग्यो । २/३ प्रतिशतमा रहेको बचतको ब्याजदर ७/८ प्रतिशत पुग्यो । र, बैंक वित्तीय संस्थाको आधारदर बढ्यो । जसले गर्दा हामीले कर्जाको ब्याज बढाउनु पर्ने अवस्था आएको हो । यो सबै खुल्ला बजारको नियमअनुसार भएको हो ।

बैंकले जनताबाट संकलन गरेको पैसालाई सुरक्षित क्षेत्रमा लगानी गर्ने गर्छन् । अहिले कर्जा र निक्षेपको औषत ब्याजदर अन्तर ४ प्रतिशतभन्दा बढी राख्न मिल्दैन । विगतमा भने यस्तो स्प्रेड दर नै थिएन । जसले गर्दा बैंकले कर्जा दिँदा जति बढी ब्याज दिए पनि हुन्थ्यो । निक्षेपमा कम दिएपनि हुन्थ्यो ।

यस्तो बिकृति रोक्न राष्ट्र बैंकले स्प्रेड दर सम्बन्धी नीति ल्याएको हो । हाल ४.४ प्रतिशत रहेको स्प्रेड दर आगामी असारदेखि ४ प्रतिशत पुर्याउनु पर्नेछ । यो निर्णयले ब्याजदर घटाउन सहयोग गर्छ । यदी बैंकले कर्जाको ब्याज बढी लिए भने निक्षेपकर्तालाई पनि बढी पैसा दिनै पर्छ ।

नेपाल राष्ट्र बैंकले हामीलाई नियमित सुपरभिजन गरेको हुन्छ । प्रत्येक तीन महिनामा बैंकहरुले वित्तीय बिवरण प्रकाशित गरेका हुन्छ । नेपालमा सञ्चालित व्यवसाय मध्ये बैंक जत्तिको पारदर्शी कुनै पनि क्षेत्र छैन । राष्ट्र बैंकले जारी गर्ने सबै सर्कुलर बैंकले मान्नै पर्छ ।

बैंकले अर्बौं रुपैयाँ नाफा भरे भनिन्छ । तर, हाम्रो लगानीसँग तुलना गर्दा बैंकको नाफा औषतमा ११/१२ प्रतिशत भन्दा बढी छैन । जुन अस्वभावक होइन ।

कोरोना महामारीसँग तुलना गर्दा हाल कर्जाको ब्याज बढेको छ । निक्षेपको ब्याज बढ्दै आधार दर बढेकाले बैंकले कर्जाको ब्याजदर बढाउनु परेको हो ।

कोरोनोको समयमा कर्जाको माग थिएन । बैंकसँग पर्याप्त निक्षेप थियो । त्यसबखत निक्षेपको ब्याजदर घट्दा आधार दर पनि कम भएको थियो । र, बैंकले सस्तो ब्याजमा कर्जा लगानी गरेका थिए । त्यखबखत केही बैंकले त आधार दरमै कर्जा दिएका थिए ।

कोरोना मत्थर भएसँगै कर्जाको ह्वात्तै माग बढ्यो । बैंकमा निक्षेप घट्दै गयो । हामीले निक्षेपको ब्याज बढायौं । जसले गर्दा कर्जाको ब्याजदर पनि बढ्यो ।

यदी बैंकले गलत गरेका छन् र नियम विपरित ब्याज लिएका छन् भने बसेर छलफल गर्दै समस्या समाधान गर्नु पर्छ । तर, जसरी बैंकलाई आक्रमण गर्ने, बैंकले आफ्नो नाफाका लागि अराजकता निम्त्याए भन्ने आरोप छ त्यो गलत हो । यसले कसैलाई राम्रो गर्दैन् ।

बैंकले नियम विपरिक काम गरेको भए नियामक निकायले कारबाही गर्न सक्छ । त्यसैले सडक आन्दोलन मार्फत् आन्दोलन गर्नु भन्दा नियामक निकायलाई गलत गर्ने र नियम विपरित काम गर्ने बैंकको विषयमा जानकारी दिनु पर्छ ।

पछिल्लो समय बैंकिङ क्षेत्रमा खराब कर्जा बढेको छ । बजारमा आर्थिक गतिविधी चलायमान नभएकाले सबैको आम्दानी घटेको छ । यस्तै, ब्याजदर बढेकाले पनि निश्चित आय हुने ब्यक्तीलाई कर्जाको सावाँ ब्याज भुक्तानी गर्न कठिन भएको हो । सरकारले पुँजीगत खर्च बढाउन नसक्दा निर्माण व्यवसायीले समयमा कर्जा तिर्न सकेको छैनन् । तर, सरकारले आगामी दिनमा खर्च बढायो भने बजार चलायमान हुन्छ भन्ने विश्वास छ ।

बैंक वित्तीय संस्थाको खराब कर्जा केही बढे पनि नेपालको बैंकिङ क्षेत्र जोखिममा छैन । अमेरिका र नेपालको बैंकिङ नै फरक छ । हामीले धितो लिएर मात्रै कर्जा दिन्छौं । राष्ट्र बैंकले बनाएको सेफ्टी भल्भले सानोतिनो धक्का लाग्दैमा नेपालका बैंकलाई नकारात्मक असर गर्छ जस्तो लाग्दैन् ।

कित्ताकाट नहुनुको साथैं घर जग्गा कारोबार न्यून हुँदा केही बैंकको खराब कर्जा बढेको हो । हाल घरजग्गाको मूल्य बढ्ने क्रम रोकिएको छ । यस्ता विषयले बैंकिङ प्रणालीमा केही असर पर्छ । तर, त्यस्ता समस्या समाधान गर्न सरकारले नीतिगत सुधारको काम गर्छ भन्ने अपेक्षा छ ।

कोरोना महामारीपछि होटल व्यवसाय चलायमान हुन सकेको छैन । त्यसैले अहिले हामीले होटल क्षेत्र र बजारमा माघ घटेको उद्योग क्षेत्रलाई पनि सहुलियत दिनु पर्छ जस्तो लाग्छ ।

समग्रमा नेपालमा आर्थिक गतिविधि बढाउन बैंकिङ क्षेत्रले महत्त्वपूर्ण योगदान गरेका छन् । यस्तो अवस्थामा एकोहोरो रुपमा बैंकविरुद्ध लाग्नु राम्रो होइन । गलतलाई कारबाही गर्नु पर्छ । तर, समग्र बैंकिङ क्षेत्र गलत छ भन्ने भाष्य बनाउनु हुँदैन ।

(राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठसँग गरिएको कुराकानीमा आधारित)


क्लिकमान्डु