लघुवित्तको सेयर किन्नुअघि हेर्नुपर्ने सूचक



काठमाडौं । ‘मैले ‘फलानो’ कम्पनीको सेयर किनेँ, कस्तो छ त्यो कम्पनी ? राम्रो छ नि ? मूल्य बढ्ला नि ?’ सेयर बजारका बारेमा केही जानकारी राख्नेहरुले लगानीकर्ताबाट बारम्बार खेप्नुपर्ने प्रश्न हुन् यी ।

अधिकांश लगानीकर्ता सेयर किनिसकेपछि ‘राम्रो छ कि छैन’ भनेर सोधिरहेका हुन्छन् । तर, यो उल्टो विधि हो भनेर उनीहरु कहिल्यै बुझ्दैनन् । किन्नुअघि सोध्नुचाहिँ सुल्टो विधि हो ।

बजारको बारेमा बुझेको मान्छेले पनि सामान्यतः ‘फलानो कम्पनीको सेयर किन्नु’ त भन्दैन तर ‘सेयर किन्ने समय हो कि होइन’ चाहिँ भनिदिनसक्छ । यसको अर्थ नभनिदिनपछि सक्छ ।

सबैभन्दा राम्रो, सेयर बजारमा लगानी गर्छु र पैसा आर्जन गर्छु भन्ने सोच राख्ने हो भने अरुलाई सोध्ने होइन, आफैं अध्ययन गर्ने गर्नुपर्छ ।

अध्ययन पनि सेयर बजार परिसूचक (नेप्से)को दैनिक उचारचढावको होइन कि कम्पनीको गर्नुपर्छ । कुनै पनि कम्पनीको सेयर किन्नुअघि हेर्नैपर्ने केही सूचक हुन्छन् । त्यसबारे मात्रै जानकारी राख्यो भने सेयरको लगानी हम्मेसी फस्दैन ।

सेयर किन्नुअघि यी प्रश्नका उत्तर खोजौं ।

१. कम्पनीको सञ्चालक समितिमा कस्ता खालका मान्छे छन् ?

२. कम्पनीले निरन्तर लाभांश बाँडेको छ कि छैन ?

३. आफूलाई चाहिएको बोनस हो कि लाभांश हो ?

४. कम्पनीको ‘लगानीमा प्रतिफल- आरओई’ कस्तो छ ?

५. बैंक तथा वित्तीय संस्था भए तिनले कस्ता ठाउँमा लगानी गरेका छन् ?

६. बैंकको ब्याजदर स्थिति के छ ?

ब्याजदर माथि पुगेका बेला सेयर बजार तल झरेको हुन्छ । त्यसबेला सेयर किन्दा पनि फसिँदैन । ‘घुँडा-घुँडा पानीमा हामफल्दा डुबिँदैन’ भनेजस्तै हो यो ।

सेयर किन्न चाहनेका लागि ‘लगानीमा प्रतिफल’ निकै महत्वपूर्ण सूचक हो । बढी आकर्षण देखिएको लघुवित्त कम्पनीहरुको ‘आरओई’ले लगानीकर्तालाई निर्णय लिन धेरै सहज हुनसक्छ ।

थोक कर्जा प्रदायक ४ र खुद्रा कर्जा प्रदायक ६० गरी नेप्सेमा ६४ लघुवित्त कम्पनी सूचीकृत छन् । चालू आर्थिक वर्षको पुससम्मको तथ्यांकअनुसार ती लघुवित्तको पुँजीकोष रकम ६४ अर्ब ८८ करोड रुपैयाँ छ । वाणिज्य बैंकबाट सापटीसमेत लिएर ती लघुवित्तले ३२ लाख ६० हजार ऋणीमा ४ खर्ब ५१ अर्ब रुपैयाँभन्दा बढी कर्जा प्रवाह गरेका छन् ।

लघुवित्त कम्पनीहरुको ६ महिनाको खुद नाफा ३ अर्ब २ करोड रुपैयाँभन्दा केही बढी छ । ६४ मध्ये ८ वटा लघुवित्त घाटामा छन् । लक्ष्मी, सामुदायिक, ग्रामीण विकास, विन नेपाल, मानुषी, उपकार, बीपीडब्लू र सुपर लघुवित्त घाटामा छन् ।

लघुवित्त कम्पनीहरुको औसत ‘आरओई’ ९.८ प्रतिशत छ । लगानी रकमको औसत ९.८ प्रतिशत प्रतिफल उनीहरुले प्राप्त गरेका छन् । ६४ मध्ये २१ कम्पनीको ‘आरओई’ मात्रै १० प्रतिशतमाथि छ भने दुईवटा कम्पनीको २० प्रतिशतभन्दा धेरै छ ।

नेस्डोको २४.७८ र नेसनलको ‘आरओई’ २२.६३ प्रतिशत छ । त्यस्तै आत्मनिर्भरको ‘आरओई’ १९.८५, साना किसानको १८.८८ प्रतिशत, फस्र्टको १८.९, छिमेकको १७.९९, महिलाको १७.०८ र जीवन विकासको १६.५३ प्रतिशत प्रतिशत छ ।

‘आरओई’ १० प्रतिशतभन्दा बढी हुनेमा आरएसडीसी १४.१७, डिप्रोस ११.४६,  स्वावलम्बन १६.१८, मिथिला १२.३४, स्वरोजगार १२.१९, मिर्मिरे ११.२४, सूर्योदय वोमी १०.१८,  आशा ११.१४, आधीखोला ११.०८, साधना १०.५६, समाज १४.७४,  सीवाईसी ११.७१ र अभियान १०.३३ प्रतिशत छ । बाँकी ३५ कम्पनीको ‘आरओई’ १० प्रतिशतभन्दा कम छ ।


क्लिकमान्डु