११ ब्रोकरलाई २० शाखा खोल्न अनुमति, ६ ब्रोकर शाखाविहीन (विवरणसहित)



काठमाडौं । नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि ११ ब्रोकर कम्पनीले थप २० शाखा विस्तार गर्ने भएका छन् । यी शाखासहित ब्रोकर कार्यालयको संख्या ८९ पुगेको छ ।

शाखा विस्तारका लागि पूर्वाधार तयार पारेका विभिन्न ११ ब्रोकर कम्पनीलाई २० शाखा सञ्चालका लागि अनुमति दिइएको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले जानकारी दिए ।

बोर्डले शाखा खोल्न आवेदन दिएका ब्रोकरलाई पूर्वाधार निर्माण गर्न समय दिने भनेको छ । ब्रोकरले पूर्वाधार तयार पारेपछि बोर्डमा जानकारी गराउनुपर्नेछ । बोर्डको मागदण्डअनुसार पूर्वाधार तयार पारेका ब्रोकरलाई बोर्डले शाखा खोल्न अनुमति दिने गरेको छ ।

बोर्डले एउटा ब्रोकरलाई अधिकतम ६ देखि १ वटासम्म शाखा खोल्न दिएको छ । बोर्डले ७ वटा ब्रोकरलाई १-१ वटा, २ वटालाई २-२ वटा, एउटालाई ३ वटा र एउटा ब्रोकरलाई ६ वटा शाखा खोल्न अनुमति दिएको छ ।

बोर्डले भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई पर्साको वीरगन्ज, काभ्रेको धुलिखेल, सुर्खेतको वीरेन्द्रनगर, महोत्तरीको बर्दिबास, म्याग्दीको बेनी र दोलखाको चरीकोटमा शाखा खोल्न अनुमति दिएको छ ।

यसैगरी भिजन सेक्युरिटिजलाई ३ स्थानमा शाखा खोल्न अनुमति दिएको छ । नयाँ अनुमतिसँगै कम्पनीले कपिलवस्तुको चन्द्रौटा,  इलामको इलाम बजार र कैलालीको टीकापुरमा शाखा खोल्नेछ ।

यस्तै निभ सेक्युरिटिज र सुन्धारा सेक्युरिटिजलाई २-२ वटा शाखा खोल्न अनुमति दिइएको छ । निभले सर्लाहीको हरिवन र कैलालीको अत्तरिया तथा सुन्धाराले बाराको सिमरा र चितवनको पर्सामा शाखा खोल्ने भएको छ ।

बोर्डका अनुसार कालिका सेक्युरिटिजले महोत्तरीको बर्दिबास, त्रिशक्ति सेक्युरिटिज पब्लिकले कञ्चनपुरको महेन्द्रनगर,  इम्पेरियल सेक्युरिटिजले धादिङको धादिङबेँसी, थ्राइभ ब्रोकरेजले तनहुँको दमौली, क्रिएटिभ सेक्युरिटिजले पाल्पाको तानसेन, आशुतोष सेक्युरिटिजले सिराहाको मिर्चैया र मिडास स्टक ब्रोकिङले गोरखाको गोरखा बजारमा शाखा खोल्न अनुमति पाएको छ ।

अहिलेसम्म भिजन सेक्युरिटिजका ९, भृकुटी स्टक ब्रोकिङका ७, दिपशिखा धितोपत्र कारोबार कम्पनीका ६ र आर्यतारा इन्भेस्टमेन्ट एन्ड सेक्युरिटिजका ४ शाखा कार्यालय छन् । अधिकांश ब्रोकरका शाखा एउटा मात्रै छ । त्यस्तै अधिकांश ब्रोकरको शाखा पश्चिम नेपालमा छन् ।

दोस्रो बजारलाई स्थानीय तह र आमजनतासम्म पुर्‍याउन भन्दै बोर्डले शाखा कार्यालय खोल्न अनुमति दिएको जनाएको छ । ब्रोकर स्थानीय स्तरमा जाँदा सेयर बजारको ज्ञान पनि तल्लो तहमा पुग्ने बोर्डको बुझाइ छ ।

रमेश हमाल धितोपत्र बोर्डमा आएलगत्तै बजारलाई सबै मानिसमा पुर्‍याउने बताएका थिए । हमाल आएपछि बोर्डले लामो समयसम्म रोकेर राखिएको शाखा विस्तारको अनुमति अहिले भने धमाधम दिन थालेको छ ।

शाखाविहीन ६ ब्रोकर

धितोपत्र बोर्डका अनुसार अहिलेसम्म ६ ब्रोकर कम्पनीको एउटा पनि शाखा कार्यालय छैनन् । शाखा कार्यालय नभएका ब्रोकर कम्पनीमा स्टक ब्रोकर ओपल सेक्युरिटिज इन्भेस्टमेन्ट, सिल्पा सेक्युरिटिज, स्वेता सेक्युरिटिज, सगरमाथा सेक्युरिटिज, मार्केट सेक्युरिटिज एक्सचेन्ज र अरुण सेक्युरिटिज कम्पनी छन् ।


क्लिकमान्डु