अडानीको खस्किँदो साखको असर भारतको विकासमा पर्छ ?



एजेन्सी । भारतका चर्चित व्यवसायी गौतम अडानी केही साताअघिसम्म ब्लूमबर्ग इन्डेक्सको अर्बपतिहरुको सूचीमा दोस्रो स्थानमा थिए ।

तर, २४ जनवरीमा जब हिडेनबर्ग रिसर्च रिपोर्ट सार्वजनिक भयो, तब उनी निरन्तर ओरालो लागेका छन् । अहिले उनी अर्बपतिहरुको सूचीमा २१ औं स्थानमा छन् । तर, यो सूचीमा अडानीको कमजोर अवस्था स्थिर भएको छैन । यो अझैं खस्किँदै गएको छ ।

हिडेनबर्ग रिपोर्ट सार्वजनिक भएपछि गौतम अडानीले अहिलेसम्म १ सय अर्ब अमेरिकी डलरभन्दा धेरैको नोक्सान भोगिसकेका छन् । उनको व्यवसायिक साम्राज्यको लागि यो निकै ठूलो झट्का हो । तर, के यो नोक्सान केवल अडानीको व्यापारिक समूहलाई मात्रै भइरहेको छ?

यसको जवाफ हो- छैन ।

अडानी समूहमा लगानी गर्ने भारतको सरकारी संस्थान भारतीय जीवन बीमा निगम (एलआईसी) र भारतको सबैभन्दा ठूलो सरकारी बैंक ‘स्टेट बैंक अफ इण्डिया’ले पनि यो नोक्सान भोगिरहेका छन् ।

अडानी समूहमाथि देखिरहेको संकटको बादल यसरी मडारिरहेको छ कि यसको अनुमान नै लगाउन गाह्रो छ । यसको संकेत बुधबार अडानी समूहले २० हजार करोड भारतीय रुपैयाँ जुटाउनका लागि जारी गर्ने तयारी रहेको आफ्नो एफपीओलाई फिर्ता लिनु पर्यो ।

हिडेनबर्ग रिपोर्ट सार्वजनिक भएपछि अडानी समूहका विभिन्न कम्पनीहरुको सेयर मूल्य निरन्तर आरालो लागिरहेका छन् । उक्त रिपोर्टमा अडानीमाथि विभिन्न आरोपहरु लगाउँदै ‘व्यवसायिक इतिहासकै सबैभन्दा ठूलो झुट’ भएको बताइएको छ ।

४ फेब्रुअरीमा भारतीय सेयर बजार नियामक संस्था सेबीले बजारमा कुनै पनि किसिमको खेलबाड हुन नदिने र यो विषयलाई गम्भीरतापूर्वक हेर्ने बताएको थियो ।

सोही दिन भारतीय अर्थमन्त्री निर्मला सीतारमणले एक पत्रकार सम्मेलन गर्दै नियामक निकाय आफ्नो काम गर्नमा स्वतन्त्र भएको र यसमा सरकारले कुनै पनि किसिमको दबाब सिर्जना नगर्ने बताएकी थिइन् ।

१ फेब्रुअरीमा अडानी समूहले आफ्नो कम्पनीको एफपीओ फिर्ता लिएको थियो । एफपीओ अर्थात् फलोअन पब्लिक अफर सार्वजनिक कम्पनीहरुले आफ्नो कम्पनीलाई अघि बढाउनका लागि आवश्यक अतिरिक्त पैसा जुटाउने माधयम हो ।

अडानी समूहमा लगानी गर्ने समयको पर्खाइमा रहने आम सर्वसाधारणहरुले यसपटक भने उनको कम्पनीप्रति खासै चासो देखाएका थिएनन् । यसको कारण हिडेनबर्ग रिपोर्ट नै थियो । उक्त रिपोर्ट सार्वजनिक भएपछि अडानी समूहमा भइरहेको लगानी र लगानी गर्ने सर्वसाधारण लगानीकर्ताहरु माझमा अवस्था चिन्ताजनक देखिएको थियो ।

यसबीच कम्पनीको एफपीओलाई सर्वसाधारणबाट लगानी नजुटेको बेला संयुक्त अरब इमिरेट्सको अन्तराष्ट्रिय लगानीकर्ता कम्पनी आईएचसीले अडानीको एफपीओमा लगानी गर्ने घोषणा गरेको थियो । सँगै अन्य विभिन्न कम्पनीहरुले पनि यसमा लगानी गर्ने बताएका थिए ।

गौतम अडानी आफ्नो कम्पनीको सेयर एफपीओको रुपमा जारी गरेर बेचेपछि आफ्नो व्यवसायमाथि रहेको ऋणलाई कम गर्ने सोचमा थिए । तर, विवादका बीच उनको एफपीओ अचानक रद्द गरिने घोषणा भएको थियो ।

भारतलाई कस्तो घाटा ?

अर्थव्यवस्था र सेयर बजारका जानकारहरुका अनुसार यो घट्नाका कारण अडानी समूहलाई मात्रै नभएर भारतलाई पनि ठूलो नोक्सान भएको छ । यो विवादका कारण व्यवसायिक नियमनको विषयमा भारतको छवि प्रभावित भएको छ । र यसले दीर्घकालिन असर गर्ने जानकारहरुले बताएका छन् ।

हालसम्म अन्तर्राष्ट्रिय लगानीकर्ता वा ऋण दिने ठूला देश तथा विदेशी संस्थानहरुले भारतको अर्थव्यवस्थालाई लगानी गर्न आकर्षक अर्थव्यवस्थाको रुपमा हेर्दै आएका छन् । भारत सरकारकाअनुसार २०२२ मा २५ डिसेम्बरसम्ममा भारतमा ५ अर्ब डलरको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्राप्त भएको छ । सरकारी तथ्यांककाअनुसार सन् २००० अप्रिलदेखि २०२२ सेप्टेम्बरसम्ममा भारतमा ८८ अर्ब अमेरिकी डलरको एफडीआई प्राप्त भएको छ ।

लगभग २६ प्रतिशत लगानी मरोसियसबाट आएको छ । त्यस्तै, सिंगापुरबाट २३ प्रतिशत, अमेरिकाबाट ९ प्रतिशत, नेदरल्याण्डबाट ७ प्रतिशत, जापानबाट ६ प्रतिशत र बेलायतबाट ५ प्रतिशत लगानी भारतमा गरिएको छ । सँगै संयुक्त अरब इमिरेट्स, जर्मनी, साइप्रस र कमन आइल्याण्डबाट २ प्रतिशत लगानी भारतमा गरिएको छ ।

भारतको सबैभन्दा ठूलो मध्येको एक व्यापारिक समूह अडानी ग्रुपले बन्दरगाह, सडक, रेल, एयरपोर्ट र उर्जा क्षेत्रमा लगानी गरेको छ । अडानी समूहलाई नरेन्द्र मोदी सरकार रहँदा भारतको अर्थव्यवस्थाको महत्वाकांक्षी लक्ष्य प्राप्तीको लागि एउटा महत्वपूर्ण साझेदारको रुपमा हेरिन्छ । भनिन्छ, अडानी र मोदी एकअर्कासँग वर्षौंदेखि नजिक रहेका छन् ।

अहिले हिडेनबर्ग रिपोर्ट सार्वजनिक भएपछि अडानीलाई आफ्नो व्यवसायिक जीवनकै सबैभन्दा ठूलो संकटमा पुर्याएको छ ।
अर्थव्यवस्थाबारे जानकारहरु यो घट्नाका कारण भारतमाथि गरिने अन्तर्राष्ट्रिय लगानीलाई लिएर संकोचहरु शुरु हुन सक्ने बताउँछन् ।

अन्तर्राष्ट्रिय लगानीलाई लिएर भारतको विश्वसनियताबारेमा धेरै प्रश्नहरु यो विवादका कारण उत्पन भएको छ ।

हिडेनबर्ग रिपोर्टले अडानी समूहमाथि सेयरलाई तोडमोड गरेको र ट्याक्स हेवनको अनुचित तरिकाले प्रयोग गरेको आरोप लगाएको छ । अडानी समूहले यसको सशक्त रुपमा खण्डन पनि गरिरहेको छ । तर, अन्तर्राष्ट्रिय समूदायमाझमा भने यो रिपोर्ट र त्यसपछिको विवादका कारण भारतमाथि गर्ने लगानीलाई लिएर संकोच पैदा भएको जानकारहरुले बताएका छन् ।
सिंगापुरका आर्थिक विश्लेषक सन शी भन्छन्, ‘अहिलेको संकटका कारण विदेशमा भारतको छविमाथि नकरात्मक प्रभाव परिरहेको छ ।’

भारतको सेयर बजारलाई स्वतन्त्र रुपमा विश्लेषक गर्ने विश्लेषक हेमिन्द्र हजारी पनि अहिलेको अवस्थाले भारतको छविमाथि नै प्रभाव पारेको बताउँछन् । उनी भन्छन्, ‘मलाई अच्चम लागेको कुरा सेयर बजार नियामक सेवी वा सरकारले यो विषयमा यसअघि किन केही गरेनन्? उनीहरुले लगानीकर्ताको चिन्तालाई ध्यानमा राखेर पनि केही बोल्नु पर्ने थियो ।’

अर्कातिर भारतको केन्द्रीय अर्थ सचिव टीवी सोमनाथन सेयर बजारमा कुनै एउटा कम्पनीको प्रदर्शनलाई लिएर धेरै चिन्ता लिनुपर्ने विषय नै नभएको बताउँछन् । उनी भन्छन्, ‘एसबीआई वा एलआईसीलाई कुनै पनि असर पर्दैन ।’

एसबीआई र एलआईसी अडानी समूहमा लगानी गरेका भारतीय सरकारी संस्थाहरु हुन् ।

अन्तर्राष्ट्रिय रेटिङ एजेन्सी फिन्चले शुक्रबार बताएअनुसार पछिल्लो साता अमेरिकामा हिडेनबर्ग रिपोर्ट सार्वजनिक भएपश्चात अडानी समूहको कम्पनी वा संस्थानको स्तरमा तत्काल नै कुनै प्रभाव पर्ने देखिएको छैन । तर, उक्त कम्पनीले भविष्यमा भने अन्तर्राष्ट्रिय लगानी वा अर्न्तराष्ट्रिय बजारमा आफ्नो स्थान बनाउनका लागि तयार गरेका योजनाहरुमा भने अहिलेको विवादले प्रभाव पार्न सक्ने देखिएको जनाइएको छ ।

त्यस्तै, अन्तर्राष्ट्रिय रुपमा चर्चित रेटिङ एजेन्सी मूडिजले भने अडानी समूहको भविष्यका परियोजनाहरुका लागि असहज अवस्था सिर्जना हुन सक्ने चेतावनी दिएको छ । एजेन्सीले अडानी समूहका भविष्यका परियोजनाहरुका लागि ऋण लिने समयमा अफ्ठ्यारो अवस्था हुने बताएको छ । सँगै अडानी समूहसँग पहिले नै ठूलो पुँजी नभएकाले पनि यो विवादका कारण दीर्घकालिन रुपमा नकरात्मक अवस्था सिर्जना हुने जनाएको छ ।

अर्को रेटिङ एजेन्सी स्ट्याडर्ड एन्ड पुअरले पनि अडानी पोट्स र अडानी इलेक्ट्रिसिटीको अहिलेको अवस्था नकरात्मक भएको जनाएको छ । जबकी यसअघि यी कम्पनीहरु स्थिर अवस्थामा थिए ।

यसले समग्रमा भारतलाई नै असर समेत गर्ने देखिन्छ । अडानी समूहको आरालो लाग्ने सेयर मूल्यका कारण तत्काललाई लगानीकर्ताको अवस्था नाजुक बन्ने त छ नै । सँगै यसले दीर्घकालमा भारतमाथि नै पनि असर पर्ने देखिएको छ ।

भारतमा महत्वकांक्षी परियोजनाहरु अहिले मुख्यतः अडानी समूहको जिम्मेवारीमा छन् । यी परियोजनाहरुको निर्माण वा सञ्चालनका लागि पनि अडानी समूहलाई ऋण लिनुपर्ने हुन सक्छ । यस्तोमा भने अवस्था नाजुक देखिने सम्भावना बढेको छ ।

सँगै भारतको नियामक निकायले अडानी समूहमाथि गरेको अब गर्ने छानबिन तथा विगतमा गरेको व्यवहारले पनि अन्तराष्ट्रिय रुपमा अडानी समूह वा भारतलाई नै आउने लगानीमा पनि दीर्घकालिन असर गर्ने जानकारहरुले बताएका छन् ।


क्लिकमान्डु