महँगी र ब्याजदरको सम्बन्ध हुन्छ, अहिले देखिएको समस्या सिंगो देशको हो: अर्थमन्त्री



काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ब्याजदर र महँगीको सम्बन्ध हुने बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको लघु, घरेलु, साना तथा मझौला उद्योग सम्मेलनमा सोमबार पौडेलले महँगो ब्याजदरलाई सीमाभित्र राख्नु पर्छ भन्ने सरकारको सोच भए पनि ब्याजदर र मुद्रास्फितिको सम्बन्ध हुने बताए ।

‘पछिल्लो दिनमा ब्याजदर कम हुने केही संकेत देखिएका छन् । आगामी दिनमा ब्याजदर वाञ्छित सीमाभित्र हुन्छ भन्ने हामीलाई विश्वास छ,’ पौडेलले भने, ‘राष्ट्र बैंक र सरकारले नियमित छलफल गरिरहेको छ । राष्ट्र बैंक आफैं निर्णय गर्ने अधिकार राख्ने स्वायत्व संस्था हो । तर, देशको अर्थतन्त्र सञ्चालन गर्न अर्थमन्त्रालय र राष्ट्र बैंकबीच सहकार्य भने हुन्छ । अहिले राष्ट्र बैंक र अर्थ मन्त्रालयले अर्थतन्त्रका समग्र अवस्थामा विषयमा संघन संवाद गरिरहेको छ ।’

अहिले अर्थतन्त्रमा देखिएको समस्या सरकार र अर्थमन्त्रालयको मात्रै नभई सिंगो राष्ट्रको समस्या भएको पौडेले बताए । कार्यक्रममा पौडेलले उद्योगी व्यवसायीलाई अहिले देखिएको समस्या सिंगो राष्ट्रको हो बुझेर काम गरिदिन आग्रह गरे ।

‘सरकार निजी क्षेत्रलाई सहयोग गर्न र प्रवद्धर्न गर्न चाहन्छ,’ पौडेले भने,‘निजी क्षेत्रका जायज सरोकार सरकारले सम्बोधन गर्दै जानेछ ।’

कार्यक्रममा महासंघका अध्यक्ष शेखर गोल्छाले कर बुझाउन जाँदा घुसु दिनु पर्ने अवस्था रहेको गुनासो गरेपछि जवाफमा पौडेले कसले कहाँ कस्तो प्रकृतिको गल्ती गर्यो भन्ने विषयमा अर्थमन्त्रालयको नेतृत्वलाई जानकारी दिन आग्रह गरे ।

‘राष्ट्रसेवक कर्मचारीको काम सेवा गर्ने हो । कसैलाई दुःख गरी उहाँहरुले काम गर्न पाउनु हुन्न,’पौडलले भने, ‘कसैले दुःख दिने काम गरेको छ भने तपाईंहरु मलाई जानकारी दिनुस् तत्कालै कारबाही हुनेछ ।’

अहिले सरकारले लक्ष्य अनुसार राजस्व संकलन गरेको छैन भन्ने नाममा निजी क्षेत्रलाई राजस्वका कुनै पनि कर्मचारीलाई अनुचित दुःख नदिने पौडेलले आश्वस्त पारे ।

कार्यक्रममा पौडेले लघु, घरेलु साना र मझौला उद्योगले भोगेका समस्याका विषयमा एक ठाउँमा छलफल गर्न सम्मेलन आयोजना हुनु सकारात्मक भएको पौडेलले बताए ।

आकारमा साना र योगदानमा ठूलो रहेको लघु, घरेलु, साना र मझौला उद्योगलाई प्रवद्र्धन गर्न सरकार प्रतिवद्ध रहेको पौडेलले बताए ।

‘यो सम्मेलन समस्यामा केन्द्रीत होस् र तपाईंहरुले उपयोगी सुझावहरु निकाल्नु होला,’पौडेलले भने,‘यो सरकारले आफैं नीति बनाउने र उक्त नीति बाध्यकारी बनाउने सोचबाट बाहिर निस्केको छ । सम्बन्धी क्षेत्रको सुझाव र सहकार्यमा मात्रै कार्यान्वयन गर्ने गरी नीति बनाउने सरकारको सोच छ । ’

एसएमई क्षेत्रमा नीतिगत स्पष्टाता छैन मात्रै नभनेर कुन नीतिमा कस्तो स्पष्टता अपेक्षा गर्नु भएको स्पष्ट बनाउन पौडेलले आग्रह गरे ।

‘हामीले कसरी प्रक्रियागत झनझट हटाउन सक्छौं, वित्तीय पहुँच कसरी बढाउन सक्छौं भन्ने विषयमा तपाईहरुबाट स्पष्ट सुझावको अपेक्षा छ,’ पौडेलले भने ।

महासंघलाई ठूलो उद्योगीको मात्रै कुरा गरेको आरोप लाग्ने गरेको भन्दै गोल्छाले साना उद्योगको विकास नहुँदा सम्म नेपालको अर्थतन्त्र विकास हुन सक्दैन भन्नेमा आफू प्रष्ट भएको बताए ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल सरकारले एसएमई क्षेत्रलाई सहयोग गर्न सक्यो भने नेपालको आर्थिक विकासमा एसएमइ क्षेत्रले महत्वपूर्ण योजना दिन सक्ने बताए ।

महासंघले लघु, घरेलु, साना र मझौला उद्योगका विभिन्न समस्याका विषयमा छलफल गर्न पहिलोपटक सम्मेलन आयोजना छ ।
सम्मेलनमा ठूला तथा साना उद्योग वीच व्यवसायिक अन्तरसम्बन्ध, वित्तीय पहुँचमा समस्या, वस्तु बजारीकरण/निर्यात/अति कम विकसित मुलुकबाट स्तरोन्नती विषयमा सामूहिक छलफल हुने छ ।

सम्मेलनमा प्रदेश उद्योग वाणिज्य संघ, जिल्ला तथा नगरस्तरिय उद्योग वाणिज्य संघ, वस्तुगत संघ, नेपाल सरकारका प्रतिनिधिहरु, महिला, लघु, घरेलु, साना तथा मझौला उद्यमी लगायतका सरोकारवाला निकायका करिब ३०० जना प्रतिनिधिहरु सहभागी छन् ।


क्लिकमान्डु