अर्थमन्त्रीज्यू नेप्सेको विश्वासनियता कति ?



आज बजार के भो ? आज नेप्से के भो ?

यो आम लगानीकर्ता वा सेयर बजारमा चासो राख्नेहरु एकले अर्कालाई सोध्ने प्रश्न हो । अनि लगानी प्रेमीहरुका लागि यो यस्तो प्रश्न पनि भएको छ । जुन मानिसहरु भेट हुँदा एकले अर्काको अवस्थाका बारेमा जानकारी लिन र दिनका लागि के छ खबर ? भनेर सोध्ने गर्छन् ।

हुन त, सामाजिक सञ्जाल र अनलाइन पत्रिकाहरुको व्यापकताका कारण बजार के भो ? भनी सोधिने कुरा कमजोर बन्दै गएको होला भन्ने लाग्न सक्ला । तर, पनि बजारमा चासो राख्ने व्यस्त मानिसका लागि यो प्रश्न कमजोर भइसकेको छैन । साथीभाई भेट हुँदामात्र होइन, व्यस्तताका बाबजुत निस्केको थोरै समयमा मनभित्र अँ बजार के भो ? भनि आफुले आफैंलाई प्रश्न गर्दै कारोबार समयमा खुसुक्क नेप्सेका अंक चिहाउन मन लाग्छ । यस्तै कारोबार बन्द भई सकेपछि यस्तै प्रश्न आफैलाई गर्दै नेप्सेको अन्तिम अंकको दर्शन गर्न पनि मन लाग्छ ।

आज बजार के भो ? भन्ने प्रश्नका धेरै प्रकारका उत्तर पाइन्छन् । जस्तो बजार हरियो भयो । बजार रातो भयो । आज पैसा बनाउने दिन । आज पैसा गुमाउने दिन । आज बजार उत्तर लाग्यो । आज बजार दक्षिण लाग्यो । आज नेप्से बढ्यो । आज नेप्से घट्यो आदि । यी केही शब्द भनौं या वाक्य आम लगानीकर्ता वा मिडियाले समग्र बजारलाई संक्षेपिकरण गर्ने शब्द वा वाक्यहरु हुन् ।

नेप्से परिसूचकसँग बढ्ने वा घट्ने कुरामात्रै छैन । यसका अंक र त्यसको चालसँग मानिसका आशा, भरोसा, भावना पनि अडिएको छ । यतिमात्र हैन यससँगै पीडा, तनाव, रिस, आवेश, आक्रोस छ । त्यस्तै जोस, जाँगर, मनोवल, आत्मविश्वास पनि छ । यसैले नेप्सेका अंकको चाल हाम्रो शरिरमा प्रवेश गर्दा हाम्रो शरिर वा मानसिकतालाई अनेक तरिकाले प्रभाव पारेको हुन्छ । निरन्तर घट्दो नेप्सेले नकारात्मक प्रभाव, शिथिलतासँगै पीडा पनि महशुस गराइरहेको हुन्छ भने अवसरको ढोका पनि खोलिरहेको हुन्छ । यस्तै बढ्दो नेप्सेले जोश, जाँगर, स्फूर्ति, विश्वास, आत्मविश्वास, मानोवल प्रदान गरिरहेको हुन्छ । यसैले नेप्से मानिसको मानसिक अवस्था र व्यवहारसँग जोडिएको छ जस्ले उसको स्वस्थ्य अवस्थालाई प्रत्यक्ष प्रभाव पारिरहेको हुन्छ ।

यसकारण पनि बजार परिसूचक वा नेप्से परिसूचक एउटा अंकमात्र हैन यो आम मानिस वा लगानीकर्ताको जीवन हो । दैनिकी हो । कतिपय अवस्थामा सफलता र असफलताको मापक पनि हो । यसकारण पनि नेप्से आशामात्र हैन यो सास पनि हो । घट्दो नेप्सेका कारण सास जान लाग्दा आज नेप्से बढ्यो है भन्दा एक घुट्को सास आउने अवस्था हुन्छ । अनि बन्द भएका आखाँका ढकनहरु खुल्छन् ।

नेप्से एउटा व्यक्ति वा समुहसँग मात्र नभई यो समग्र अर्थतन्त्रसँग जोडिएको छ । यसको चालसँग अर्थतन्त्रको मनोविज्ञानलाई प्रदर्शित गर्ने ताकत रहन्छ । यसैले सेयर बजारलाई अर्थतन्त्रको ऐना पनि भनिन्छ । अर्थतन्त्र सुदृढ हँुदै जाँदा नेप्से बढ्दै जान्छ । कमजोर अर्थतन्त्रमा नेप्से घट्छ । बजार परिसूचक यस्तो सुचांक पनि हो, जसले अर्थतन्त्रको सम्भावित अवस्थाको पूर्वसंकेत गर्छ । यसैले अर्थतन्त्रमा सुधार आउनु अगाडि नै सेयर बजार बढ्न शुरु गर्छ । अर्थतन्त्र कमजोर हुन शुरु गर्नुअघि नै सेयर बजार घट्न शुरु गर्छ । जस्तो मानिसले भुईंचालो आएको थाहा पाउनअघि नै पशुपञ्छीले थाहा पाइसकेका हुन्छन् र चराहरु चिरविर गर्न थाल्छन् । कुकुर भुक्छन् । गाइबस्तु कराउँछन् । अर्थतन्त्रको अवस्थाका लागि नेप्से यस्तै सूचक हो ।

नेप्से वा संसारका बाजर परिसूचकमा अचम्मको विशेषता हुन्छ । त्यो हो बढिरहन सक्ने । नेप्से घटबढ हुन्छ । यो घट्छ तर घटिरहन सक्दैन । अचम्म यो बढ्ने मात्र हैन, यो बढिरहन सक्ने पनि हो । उदाहरणका लागि अहिलेसम्म नेप्से कयौ पटक घटेको छ । तर, घटिरहेको छैन । एक सय अंकबाट शुरु भएको नेप्से ३२ सय अंकसम्म पुग्यो । तर, १०० भन्दा तल गएर ५० वा ४० वा अझ तलका अंकमा पुगेन । यसैले नेप्से घटेर पनि बढी रहन सक्ने सुचक हो । जुन विशेषता कम्पनीको सेयर मूल्यमा हुँदैन । सेयर मूल्य बढेर घटेपछि कहिल्यै फर्केर माथि नजान पनि सक्छ । अर्को त्यस्तै विशेषता कम्पनी टाट पल्टेलान तर यो परिसूचक टाट पल्टिँदैन ।

घट्न सकेर पनि तल गइरहन नसक्ने तर माथि मात्र तन्कने यस्तै परिसूचकहरुलाई आधार मानेर संसारमा विभिन्न इन्डिेक्स फण्ड वा इटिएफहरु बनेका छन् । अमेरिकाको मर्निङ स्टार इन्कका अनुसार अमेरिकाको एस एण्ड पि ५०० परिसूचकमा आज भन्दा ७२ बर्षअघि सय डलर लगानी गरेर विर्सनेको सन २०२१ मा आइपुग्दा ३ लाख ३ हजार ९०० डलर बराबरको सम्पत्ति बनेको छ । नेपालमै हेर्ने हो भने पनि आजभन्दा करिब ३० बर्षअघि १०० रुपैयाँ लगाएर त्यतिकै छाडेको थिएको भए अहिले २५ सय रुपैयाँभन्दा बढीको सम्पति बन्न सक्थ्यो । यस्तै परिसूचकबाट विभिन्न प्रकारका वित्तीय डेरिभेटिभहरुको पनि निर्माण भएको छ, जसको प्रयोग गरेर लगानीको जोखिमलाई घटाउन सकिन्छ वा लगानीलाई विविधिकृत गर्न सकिन्छ । यसैले नेप्से परिसूचक सूचकमात्र नभएर यो लगानीको एउटा राम्रो विकल्प पनि हो । तर, नेपाल धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेन्जले कानुन बनाउन नसक्दा यसको अधिकतम प्रयोग हुन सकेन ।

यो अदभुत विशेषतासहित मानिस तथा समग्र अर्थतन्त्रकै मनोविज्ञान बोकेको नेप्सेका अंकसँग हरेक दिनजसो आम मानिसको चासो रहन्छ । तर, अचम्म यसको गणना गर्ने तरिका र त्यसको पारदर्शितासँग खासै चासो रहँदैन । उदाहरणका लागि नप्से परिसूचक आकासमा उड्ने हवाइजहाज जस्तै हो । जहाँ यात्रुलाई हवइजहाज चढेर गन्तव्यमा पुग्नुमा चासो हुन्छ । तर, जहाज कसरी उड्छ र कसरी बनाइएको छ भन्ने सँग खासै ध्यान जाँदैन । न त जहाजको सुरक्षामा नै । तर, जहाजका यात्रुले चासो नदिए पनि जहाज बनाउने कम्पनीले जहाज चढ्ने लाई अधिकतम सुरक्षित सेवा दिई विश्वास जित्न भने सँधै खोजिरहेको हुन्छ ।

नेप्सेको गणना विश्वासनिय, भरपर्दो र समग्र बजारको परिवर्तनलाई सही तरिकाले देखाउन सक्ने हुनुपर्छ । यस्तै यो पारदर्शि पनि हुनुपर्छ । किनकी, यो परिसुचकमात्र नभई यो ३१ खर्ब रुपैयाँ बजार पुँजीकरणको जगबाट निमार्ण भएको सूचक हो । तर, दुर्भाग्य यो पारदर्शी छैन ।

नेप्से परिसुचक अमेरिकाको स्ट्याण्डर्ड एण्ड पुअर्स कम्पनीले बजार परिसूचक गणना गर्न प्रयोग गर्ने विधिका आधारमा गणना गरिन्छ । यसलाई भ्यालु वेटेड बिधि पनि भनिन्छ । परिसूचकको विश्वासनियता र पारदर्शिताका लागि हरेक एक्सचेन्जले परिसूचक गणना गर्न एउटा नियम किताव (रुल बुक) बनाएको हुन्छ । जुन बजार परिसूचक गणना गर्ने कानुन हो जसलाई पारदर्शीरुपमा सर्वसाधारण सबैले हेर्न र पढ्न सक्ने गरी एक्सचेन्जको वेवसाइटमा राखिन्छ ।

तर, दुर्भाग्य नेपाल स्टक एक्सचेन्जको वेवसाइटमा खोज्यो भने नेप्से गणना गर्ने नियम कतै पनि पाइँदैन । सम्भवत अहिलेसम्म नेप्सेले यो नबनाएको पनि हुनसक्छ । बजारको वास्तविक अवस्थालाइ बैज्ञानिक, पारदर्शी, विवेधरहित र विश्वासनिय ढंगले सूचित गर्न यसको गणनाविधिमा विस्तृत नियमहरु उल्लेख गरिनुपर्छ । जस्तो यसको गणना गर्ने समिकरण, नयाँ कम्पनी सूचिकरण हुँदा, कम्पनी सूचिकरणबाट खारेजी हुँदा, बोनस सेयर जारी गर्दा, हकप्रद सेयरजारी गर्दा, नगद लाभांश बाँड्दा, कम्पनीको सेयर कारोबार रोक्का हुँदा, कारोबार खुल्ला हुदा, सेयर टुक्र्याउदा, कम्पनी गाभिँदा, एउटा कम्पनीले अर्को कम्पनी किन्दा, सेयर मर्ज गर्दा, अत्यधिक ठुलो बजार पुँजीकरण भएको कम्पनीको नेप्से गणनामा अधिक भार पर्ने अवस्था भएमा त्यसको समायोजन, सेयरको अन्तिम कारोबार मूल्यको प्रभाव नेप्सेमा पर्ने जस्ता अनेकौ विषयबस्तुलाई समेटेर नेप्से परिसूचकको समायोजन र गणना गर्ने बिधिसहितको नियम बनिनु पर्छ । यो विधि नबन्दा नेपाल टेलिकमजस्ता ठूलो बजार पुँजीकरण भएका कम्पनीको सेयर मूल्यमा कारोबारको अन्तिम समयतिर थोरै मूल्य परिवर्तन गरेर आफू अनुकुल नेप्सेमा प्रभावित गर्ने प्रवृत्ति छ । तर, नेप्सेको वेवसाइटमा नेप्से गणनाको बैज्ञानिक विधि पाउन सकिँदैन । नेपाल स्टक एक्सचेन्जले यो बनाउनु आवश्यक छ । र, यदि बनाएको भए तत्काल सर्वसाधारणले देख्न र पढ्न सक्ने गरी उसको वेवसाइटमार्फत् सार्वजनिक गर्नुपर्छ ।

हुन त, २०५८ सालमा नेप्सेका उपल्लो तहका एक कर्मचारी शंकरदेव क्याम्पसमा स्नातकोत्तर तहमा लगानी व्यवस्थापन विषय पढाउँथे । जुन बेला म उनको विद्यार्थी थिएँ । बजार परिसूचक पढाउने बेलामा नेप्से परिसूचक कसरी गणना गरिन्छ ? भन्ने जिज्ञासा राख्दा उनी यो तिमीहरुलाई अहिले आवश्यक छैन भन्ने जवाफ दिन्थे । क्याम्पस सकेपछि पनि उनलाई मैले यो जिज्ञासा राख्थे । तर, उनका जवाफमा कत्तिपनि परवर्तन हुँदैन थिए । र, उनी दोहोर्याउँथे यो तिमीलाई आवश्यक छैन । मैले उनैलाई त्यो जिज्ञासा राख्नुको प्रमुख कारण नेप्सेमा इन्डेक्स गणनामा संस्थागत र समुहगत प्रयासभन्दा पनि उनको व्यक्तिगत हालि मुहाली थियो । त्यसबेला पनि नेप्से गणनाको कुनै नियम किताब (रुल बुक) बनाइएको थिएन ।

आजसम्म पनि नेपाल स्टक एक्सचेन्जले नेप्से परिसूचक गणना गर्ने विधि, पद्दति र नियम किताब वेवसाइटमा नराखेर तीनै कर्मचारीले दिने उत्तर नै बजार तथा यसका सरोकारवालालाई दिइरहेको छ । र, उसले भनि रहेको छ यो तिमीहरुलाई आवश्यक छैन ।

त्यही नेप्से परिसूचकका अंक र त्यसले लिँदै गरेको दिशा हेरेर देशको अर्थमन्त्री अर्थतन्त्र ठीकसँगले चलिरहेको छ भनेर ढुक्क हुन्छ । प्रधानमन्त्री अर्थप्रणालीका बारेमा विश्वस्त हुन्छन् । अनि उद्योगी व्यवसायीहरु बजारबाट पैसा उठाएर उद्योग व्यवसायको विस्तार गर्ने कुरामा विश्वासी देखिन्छन् भने लगानीकर्ता लगानीको सुरक्षा खोजिरहेका हुन्छन तर नेपाल स्टक एक्सचेन्ज भने यसकुरामा खेलाँची प्रस्तुत गरिरहेको छ । यदि यसलाई कानुनीरुपमा व्यवस्थित नगर्ने हो भने नेप्सेका कर्मचारीले चाहेको अवस्थामा यसको दिशा परिवर्तन गर्न सक्छन् । बजार घट्दो ट्रेन्डमा रहेका बेला कुनै पार्टीमा नेप्सेका एक कर्मचारीले म सँग ठट्टा गरे ‘रविन्द्रजी बजार बढाउनु पर्यो ।’ अनि उनलाई पनि मैले ‘ठट्टामै जवाफ दिए चाबी तपाईंहरुका हातमा छ नेप्सेको मिटर घुमाइ दिनुहोस् । नेप्से बढी हाल्छ ।’ अनि मानिस लगानी गर्न आइहाल्छन् । नेप्सेको विश्वासनियताका बारेमा अर्थमन्त्रीले समयमै चासो नदिने हो भने कुनै दिन नेप्सेको अंकको मिटर मनलागि हिसावले अगाडि वा पछाडि कुनै पनि दिशामा घुम्न सक्छ । अनि नेप्सेको अंकलाई हेरेर अर्थतन्त्रको अवस्थाको व्याख्या गर्न तपाईं आफैंलाई लज्जाबोध हुनेछ ।

(भट्टराई सेयर बजार विश्लेषक हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट लगानी व्यवस्थापनमा स्नातकोत्तर र क्यानडाबाट फाइनान्सियल प्लानिङमा पोस्ट ग्य्राजुएट र सेयर बजारका बारेमा क्यानेडियन सेक्युरिटिज कोर्ससमेत गरेका छन् । उनले सेयरबाट करोडपति, सेयर मन्त्र, नेपालको सेयर बजार, सेयरको आधारभूत विश्लेषण, सेयरको प्राविधिक विश्लेषण, हाउ टु इन्भेष्ट इन स्टक मार्केट जीवन बीमाजस्ता कितावहरु लेखेका छन् ।)


रविन्द्र भट्टराई