२२ बैंकका सीइओले राज्यलाई १७ करोड कर तिरे, तलबभत्ता बापत ३१ करोड बुझे



काठमाडौं । रोजगारीका लागि आकर्षक मानिएको क्षेत्रभित्र पर्छ बैंकिग । निजी क्षेत्रमा यसलाई ‘ग्ल्यामर जब’ को रुपमा पनि लिइन्छ । किनभने, तलबभत्ता र सेवा सुविधा निकै लोभलाग्दो हुन्छ ।

त्यसमाथि पनि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) । जनताको अर्बौं रकम परिचालन गर्ने सीइओ निकै खारिएको व्यक्ति मात्रै हुन्छ । र, उसको कमाइ पनि राम्रै हुन्छ । उनीहरुले राज्यलाई कर पनि ३६ प्रतिशतसम्म तिरेका हुन्छन् ।

वाणिज्य बैंकले गत आर्थिक वर्ष २०७८÷०७९ मा २२ बैंकका सीईओको तलब भत्तामा ४८ करोड ४६ लाख १ हजार ४२९ रुपैयाँ खर्च गरेका छन् । २२ वटा वाणिज्य बैंक (कृषि विकास, सनराइज, राष्ट्रिय वाणिज्य र एभरेष्ट बैंक बाहेक)ले सीईओका लागि खर्च गरेका हुन् ।

आम्दानी अनुसारको कर तिर्नुपर्ने व्यवस्था छ । जसअनुसार बैंकका सीइओहरु आफ्नो कमाइबाट मोटो रकम राज्यलाई आयकर तिर्ने वर्गमा पर्छन् । उनीहरुको कमाइमा ३६ प्रतिशतसम्म कर तिर्नुपर्छ । बैंकहरुले सीइओका लागि ४८ करोड ४६ लाख १ हजार ४२९ रुपैयाँ खर्च गर्दा उनीहरुको हातमा भने जम्मा ३१ करोड ६५ लाख ३५ हजार ९१५ रुपैयाँ मात्रै परेको छ । सीइओहरुले १६ करोड ८० लाख ६५ हजार ५१४ रुपैयाँ त राज्यलाई आयकरबापत तिरेका छन् ।

मंहगा सीईओ

गत आर्थिक वर्षमा धेरै तलब भत्ता दिने बैंकमा कुमारी परेको छ । बैंकले गत आवमा सीईओका लागि ४ करोड १४ लाख ७१ हजार रुपैयाँ खर्च गरेको छ ।

बैंकले उक्त रकम सीईओलाई दिएको भएपनि सीईओको तलबबाट १ करोड ४६ लाख ३९ हजार ६० रुपैयाँ राज्यलाई कर बुझाएका छन् । सीईओको हातमा भने २ करोड ६८ लाख ३१ हजार ९४० रुपैयाँ हात परेको छ ।

बैंकले तत्कालिन कामु मुकायम प्रमुख अनुजमणि तिमिल्सिनालाई ३ करोड ६४ लाख ९८ हजार रुपैयाँ दिएको छ । यस्तै सीईओ रामचन्द्र खनाललाई भने ४९ लाख ७३ हजार रुपैयाँ दिएको छ । खनालले तलब बापत ४३ लाख २५ हजार, चाडपर्व भत्ता बापत ३ लाख ५८ हजार अन्य शिर्षकमा २ लाख ९० हजार रुपैयाँ लिएका छन् ।

बैंककाअनुसार २०७८ माघ २४ गतेसम्म अनुजमणि तिमिल्सिना कामु प्रमुख कार्यकारी अधिकृतका रुपमा रहेका थिए । त्यसपछि रामचन्द्र खनाल २०७९ वैशाख १३ गतेसम्म कामु सीईओ बनेका थिए । त्यसपछि भने सीईओ बने ।

महंगा सीईओको दोस्रोमा प्रभु बैंकका सीईओ अशोक शेरचन रहेका छन् । सीइओ शेरचनका लागि प्रभु बैंकले गत आव ४ करोड ३ लाख २० हजार रुपैयाँ खर्च गरेको छ । सीइओ शेरचनले आफ्नो कमाइबाट १ करोड ४२ लाख २४ हजार ७०० रुपैयाँ कर तिरेर २ करोड ६० लाख ९५ हजार ३०० रुपैयाँ लिएका छन् ।

यस्तै स्टयान्डर्ड चार्टर्ड बैंकले सीईओ अनिरभ घोष देशारलाई गत आवमा ३ करोड २१ लाख ९४ हजार ५७५ रुपैयाँ तलब, भत्ता भुक्तानी गरेको छ । जसबाट उनले राज्यलाई १ करोड १२ लाख ९९ हजार ५४७ रुपैयाँ कर तिरेका छन् । सीईओको हातमा २ करोड ८ लाख ९५ हजार २८ रुपैयाँ परेको छ ।

तीन करोड रुपैयाँ भन्दा बढी तलबभत्ता लिने सीईओमा ज्योति पाण्डे पनि पर्छन् । नेपाल इन्भेष्टमेन्ट बैंकले पाण्डेलाई गत आर्थिक वर्ष ३ करोड ६ लाख ३४ हजार रुपैयाँ तलब, भत्ता बापत भुक्तानी गरेको छ । जसबाट उनले राज्यलाई १ करोड ७ लाख ३७ हजार ७४० रुपैयाँ कर तिरेका छन् । पाण्डेलेको हातमा भने १ करोड ९८ लाख ९६ हजार २६० रुपैयाँ परेको छ ।

२ करोडभन्दा बढी तलब खाने ९ सीइओ

ग्लोबल आइएमई, हिमालयन, मेगा नबिल, एनआईसी एशिया,सानिमा, सिद्धार्थ, एनएमबि र प्राइम बैंक रहेका छन् । यी बैंकको सीईओको तलब २ देखि ३ करोड रुपैयाँको बीचमा रहेको छ ।

ग्लोबल आइएमई बैंकले सीईओ रत्नराज बज्राचार्यलाई २ करोड ८ लाख ५८ हजार ४९१ रुपैयाँ दिएको छ । जसबाट बज्राचार्यले ७२ लाख १८ हजार ५५६ रुपैयाँ कर तिरेका छन् । उनले कर तिरेर १ करोड ३६ लाख ३९ हजार ९३४ रुपैयाँ हात पारेका छन् ।

हिमालयन बैंकले सीईओ अशोक राणालाई गत आवमा २ करोड १५ लाख १६ हजार ३३३ रुपैयाँ तलब भत्ता दिएको छ । जसबाट उनले राज्यलाई ७४ लाख ५५ हजार ३७९ रुपैयाँ कर तिरेका छन् । कर पछि उनले पाएको रकम १ करोड ४० लाख ६० हजार ९५३ रुपैयाँ रहेको छ ।

मेगा बैंकले गत आवमा सीईओलाई २ करोड ९४ लाख ९१ हजार ६२५ रुपैयाँ तलब, भत्ता भुक्तानी गरेको छ । उक्त रकमबाट राज्यले १ करोड ३ लाख २६ हजार ४८५ रुपैयाँ राज्यलाई कर तिरेका छन् । सीईओले १ करोड ९१ लाख ६५ हजार १४० रुपैयाँ हात पारेका छन् ।

बैंकले तलब बापत १ करोड ४९ हजार ७६६ रुपैयाँ, भत्ता बापत १९ लाख ४२ हजार ८९३ रुपैयाँ, सञ्चय कोष बापत २ लाख ३७ हजार २३४ रुपैयाँ, बोनस बापत ४० लाख ४३ हजार ६९८ रुपैयाँ र इन्धन बापत ३ लाख ७५ हजार ३७५ रुपैयाँ भुक्तानी गरेको छ ।

बैंकको निवर्तमान सीईओ अनुपमा खुञ्जेली को ४ वर्षे कार्यकाल सकेर गत बैशाख १ गते बैंक छोडेकी हुन् । बैशाख २ गतेबाट लागू हुने गरी नायव प्रमुख कार्यकारी अधिकृत रवीना देशराज श्रेष्ठलाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको थियो । बैंकले दिएको तलब भत्ता बापतको रकम खुञ्जेली र श्रेष्ठ दुवै जनाले लिएको हो ।

नबिल बैकले सीईओ अनिल शाहलाई २ करोड ८३ लाख ४४ हजार २६० रुपैयाँ तलब भत्ता दिएको छ । उक्त रकमबाट राज्यले कर बापत ९९ लाख १३ हजार ४३३ रुपैयाँ पाएर सीईओको हातमा १ करोड ८४ लाख ३० हजार ८२६ रुपैयाँ हात परेको छ ।

यस्तै एनआईसी एशिया बैंकले सीईओ रोशन कुमार न्यौपानेलाई २ करोड ३४ लाख ३ हजार ५४७ रुपैयाँ भुक्तानी गरेको छ । जसबाट राज्यले ८१ लाख ३४ हजार ७७६ रुपैयाँ कर पाएको छ । सीईओको हातमा १ करोड ५२ लाख ६८ हजार ७७० रुपैयाँ परेको छ ।

त्यस्तै, सानिमा बैंकले सीईओले २ करोड १४ लाख ६ हजार रुपैयाँ तलब, भत्ता बापत भुक्तानी गरेको छ । उक्त तलबबाट राज्यले करबाट ७४ लाख १५ हजार ६६० रुपैयाँ पाएको छ । सीईओले १ करोड ३९ लाख ९० हजार ३४० रुपैयाँ मात्रै पाएका छन् ।

बैंकका अनुसार गत वर्ष माघ ११ गतेसम्म भुवन कुमार दाहाल सीईओ रहेका थिए भने माघ १२ गते निश्चल राज पाण्डे सीईओ भएका छन् । बैंकले भुक्तानी गरेको तलब, भत्ता दुवै सीईओले लिएको रकम हो ।

सिद्धार्थ बैंकले गत आर्थिक वर्षमा सीईओलाई २ करोड ८० लाख ५६ हजार २५६ रुपैयाँ तलबभत्ता बापत भुक्तानी गरेको छ । उक्त रकमबाट राज्यले ९८ लाख ९ हजार ७५२ रुपैयाँ आयकर बापत पाएको छ । सीईओ भने १ करोड ८२ लाख ४६ हजार ५०४ रुपैयाँ बुझेका छन् ।

बैंकका निवर्तमान सीईओ शम्भु नाथ गौतमको कार्यकाल २०७८ साउन २५ गते देखि सकिएको थियो । २०७८ साउन १५ गते बसेको संचालक समितिको ३७७औं बैठकको निर्णय अनुसार २०७८ साउन २६ गतेदेखि लागु हुने गरी नायब प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कंडेललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी तोकिएको थियो । पछि २०७८ मंसिर २७ गते बसेको संचालक समितिको ३८५औं बैठकको निर्णय अनुसार त्यही दिनदेखि लागू हुने गरी ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको छ । उक्त रकम दुवै जना सीईओले लिएको हो ।

एनएमबि बैंकले सीईओ सुनिल केसीलाई २ करोड ३४ लाख ८४ हजार ६८८ रुपैयाँ तलब भत्ता दिएको छ । केसीले आफुले पाएको रकमबाट राज्यलाई ८१ लाख ६३ हजार ९८७ रुपैयाँ तिरेका छन् । सीईओले भने १ करोड ५३ लाख २० हजार ७०० रुपैयाँ पाएका छन् ।

प्राइम बैंकले सीईओलाई २ करोड १० लाख १५ हजार रुपैयाँ भुक्तानी गरेको छ । सीईओ नारायणदास मानन्धरले उक्त रकम तलब बापत लिँदा राज्यलाई ७२ लाख ७४ हजार ९०० रुपैयाँ कर तिरेका छन् । उनले पाएको रकम १ करोड ३७ लाख ४० हजार १०० रुपैयाँ रहेको छ ।

८ सीईओको तलब १ करोडभन्दा बढी

नेपाल एसबिआई बैंकले दिपक कुमार दे लाई गत आवमा १ करोड ५४ लाख २३ हजार ९९६ रुपैयाँ भुक्तानी गरेको छ । उक्त रकमबाट सीईओ दिपकले ५२ लाख ६२ हजार १३८ रुपैयाँ राज्यलाई कर तिरेका छन् । उनले भने १ करोड १ लाख ६१ ८५७ रुपैयाँ लिएका छन् ।

बैंक अफ काठमाण्डूले सीईओ श्रवणलाल मास्केलाई १ करोड २७ लाख ८५ हजार २७४ रुपैयाँ तलब भत्ता बापत दिएको छ । उक्त तलबबाट राज्यले ४३ लाख १२ हजार १९८ रुपैयाँ कर तिरेका छन् । सीईओ मास्केले ८४ लाख ७३ हजार ७५ रुपैयाँ पाएका छन् ।

यस्तै सेञ्चुरी बैंकले सीईओ मनोज न्यौपानेलाई १ करोड १५ लाख ८७ हजार ८९२ रुपैयाँ भुक्तानी गरेको छ । उक्त रकमबाट न्यौपानेले राज्यलाई ३८ लाख ८१ हजार १४१ रुपैयाँ कर तिरेका छन् । उनले भने कर पछिको ७७ लाख ६ हजार ७५१ रुपैयाँ हात पारेका छन् ।

सिटिजन्स बैंकले सीईओ गणेशराज पोखरेललाई १ करोड ७६ लाख ३० हजार ७७६ रुपैयाँ तलब भत्ता दिएको छ । जसबाट पोखरेलले राज्यलाई ६० लाख ५६ हजार ५७९ रुपैयाँ कर तिरेका छन् । उनले भने १ करोड १५ लाख ७४ हजार १९७ रुपैयाँ हात पारेका छन् ।

सिभिल बैंकले सीईओ सुनिल पोखरेलाई १ करोड ४१ लाख २५ हजार ४०९ रुपैयाँ तलब भत्ता दिएकामा उनले राज्यलाई ४७ लाख ९४ हजार ६४७ रुपैयाँ कर तिरेका छन् । उनले भने ९३ लाख ३० हजार ७६२ रुपैयाँ लिएका छन् ।

यस्तै लक्ष्मी बैंकले सीईओ अजय बिक्रम शाहलाई १ करोड ३२ लाख ३२ हजार रुपैयाँ तलब भत्ता दिएको छ । शाहले राज्यलाई कर बापत ४४ लाख ७३ हजार २० रुपैयाँ कर तिरेका छन् । उनले भने ८७ लाख ५८ हजार ९८० रुपैयाँ लिएका छन् ।

माछापुच्छे« बैंकले सीईओ सन्तोष कोइरालालाई १ करोड ७९ लाख ६८ हजार रुपैयाँ तलब भत्ता दिएको छ । कोइरालाले ६१ लाख ७७ हजार ९८० रुपैयाँ राज्यलाई कर तिरेका छन् । उनले भने १ करोड १७ लाख ९० हजार २० रुपैयाँ हात पारेका छन् ।

एनसीसी बैंकले सीईओ रमेशराज अर्याललाई १ करोड ३२ लाख रुपैयाँ तलब भत्ता दिएको छ । उक्त तलब भत्ताबाट राज्यलाई ४४ लाख ६१ हजार ५०० रुपैयाँ योगदान गरेका छन् । उनले कर तिरेर ८७ लाख ३८ हजार ५०० रुपैयाँ पाएका छन् ।

सबैभन्दा थोरै तलब भत्ता नेपाल बैंकका सीईओ कृष्ण बहादुर अधिकारीले पाएका छन् । उनले गत आवमा बैंकबाट तलब भत्ता बापत ६४ लाख ५२ हजार ३०७ रुपैयाँ पाएका छ्न । उनले पाएको रकमबाट २० लाख ३२ हजार ३३० रुपैयाँ कर तिरेका छन् । कर तिरेर ४४ लाख १९ हजार ९७६ रुपैयाँ पाएका छन् ।


सोभित थपलिया