तपाईंको खाता भएका बैंक मर्ज भए, अब कुन खाता चल्छ ?



काठमाडौं । अहिले देशमा ठूला बैंकहरु धमाधम मर्ज भइरहेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक, प्रभु बैंक र सेन्चुरी कमर्शियल बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू, कुमारी र एनसीसी बैंक मर्ज भइसकेका छन् ।

त्यस्तै, आगामी माघ १८ गते हिमालय र सिभिल बैंक एकीकृत कारोबार गर्दैछन् । त्यस्तै, लक्ष्मी बैंक र सनराइज बैंक पनि एकअर्कासँग मर्ज हुने प्रारम्भिक सम्झौता गरेका छन् ।

धमाधम बैंकहरु मर्जर भइरहँदा बैंकका खाताबहाकको खाता के हुन्छ भन्ने जिज्ञाशा पनि शुरु भएको छ । दुबै बैंकमा निक्षेप खाता भएका ग्राहकको खाता अब के हुन्छ ? ऋणीको हकमा के हुन्छ ? डिम्याट एकाउन्ट कुनै एक बैंकबाट छ भने मर्जपछि के हुन्छ ? यस्ता प्रश्नहरु सेवाग्राहीको मनमा उब्जिएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक आपसमा मर्ज भइ २७ पुसबाट नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको एकीकृत कारोबार शुरु गरेका छन् । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको हकमा अहिलेलाई पहिलेकै जस्तो किसिमले सेवाग्राहीले आफ्नो खाता प्रयोग गर्न पाउने र कालान्तरमा बैंकको कस्टमर सर्भिस विभागले खाताबहाकलाई सम्पर्क गरेर परामर्श गर्दै थप प्रक्रिया अगाडि बढाउने बैंकका सूचना अधिकारी विजेन्द्र सुवाल बताउँछन् ।

‘एउटै व्यक्तिले एउटै बैंकमा दुईवटा खाता खोल्न पाउँदैन्,’ उनी भन्छन्, ‘एकै व्यक्तिको दुबै बैंकमा खाता छ भने उसलाई अहिले छनोट गर्न दिइन्छ, कुन खाता बन्द गर्ने भनेर । त्यहिअनुसार एउटा बन्द गरेर अर्को मात्रै खातालाई सञ्चालनमा राखिन्छ।’

त्यस्तै, इन्मेष्टमेन्ट र मेगाको हकमा पहिले नै प्रयोग भइरहेको डेभिट कार्ड नै हाललाई सञ्चालनमा हुने बताउँछन्, सुवाल । यस्ता डेभिड कार्डको म्याद सकिएपछि मात्रै नयाँ डेभिड कार्ड नयाँ खाता नम्बरसहित वितरण गरिने उनी बताउँछन् ।

उनी भन्छन्, ‘मेगा र एनआइबिएलको हकमा कसैसँग मेगा बैंकमा खाता थियो र त्यसको डेभिट कार्ड प्रयोग गरिएको थियो भने हाललाई त्यहि नै चलिरहन्छ । आजको भोलि नै त्यसलाई परिवर्तन गरिँदैन । विस्तारै प्रक्रियाअनुसार त्यसलाई परिवर्तन गरिन्छ।’

कुनै खाताबहाकको दुवै बैंकमा खाता छ र दुवै बैंक खाताबाट ऋण लिएको छ भने पनि यस्तो अवस्थामा सेवाग्राहीसँग छलफलमार्फत प्रक्रिया अघि बढाइने सुवाल बताउँछन् । उनकाअनुसार बैंकबाट सेवाग्राहीलाई सम्पर्क गरेर परामर्श गरि प्रक्रिया अघि बढाइन्छ ।

‘राष्ट्र बैंकले निश्चित समय दिएर कति ऋणलाई त्यहिअनुसार निश्चित रकम भित्र ल्याउन भन्छन्,’ उनी भन्छन्, ‘हामीले पनि त्यहि प्रक्रियाअनुसार अघि बढ्छौं । पर्सनल लोन दुवैं बैंकमा लिएको छ भने हामी खाताबहाकसँग यो विषयमा सम्पर्क गरेर छलफल गर्छौं । मर्जपछि पर्सनल लोनको हकमा दुवै बैंकमा लोन छ भने त्यसलाई सीमाभित्र ल्याउनका लागि राष्ट्र बैंकले पनि निश्चित समय दिएको हुन्छ । लोनदेखि एकाउन्टको केस सबैका लागि निश्चित समय दिइएको हुन्छ । त्यो समय भित्रमा खाताबाहकसँग हामीले सम्पर्क गरेर यसलाई मिलाउँछौं ।’

त्यस्तै, सेवाग्राहीले सेयर कारोबारका लागि कुनै एक बैंकबाट डिम्याट एकाउन्ट खोलेको छन् भने तत्काललाई त्यहि चल्ने र कालान्तरमा त्यसलाई अपडेट गरिने सुवाल बताउँछन् ।

एनआईबिएल र मेगा बैंकको हकमा यदि कुनै खाताबहाकले मेगा बैंकमार्फत खोलिएको डिम्याट खाता प्रयोग गरिरहेको छ भने हाललाई त्यहि पुरानै खाता चल्ने र पछि त्यसलाई अपडेट गरिन्छ ।

सुवाल भन्छन्, ‘ अहिले पुरानै एकाउन्ट चल्छ । डिम्याटमा पनि पुरानो जुन एकाउन्ट थियो, त्यहि नै सञ्चालनमा हुन्छ । त्यसलाई पछि अपडेट गरिन्छ । डिम्याटलाई रिन्यु गर्ने समयमा यसलाई अपडेट गर्दै लैजानु पर्छ ।’

ग्लोबल आईएमई र बैंक अफ काठमाण्डू

त्यस्तै, २५ पुस सोमबारबाट एकीकृत कारोबार थालेका ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डू गाभिएर ग्लोबल आइएमई बैंकका नाममा एकीकृत कारोबार शुरु गरेका छन् ।

बैंकका अपरेसन म्यानेजर विपुल देवकोटाकाअनुसार कुनै प्रयोगकर्ताको दुवै बैंकमा खाता भएको खण्डमा कुनै एक खातालाई बन्द गराइन्छ ।

‘कसैको पनि एउटै बैंकमा दुईवटा खाता हुँदैन । मर्ज भएपछि मल्टिपल एकाउन्ट हुने देखियो भने तुरुन्तै नभएर विस्तारै ग्राहकलाई पनि जानकारी गराएर यसलाई बन्द गराउने प्रक्रिया अघि बढाइन्छ ’ उनी भन्छन् ।

खाता बन्द गराउनका लागि बैंकले खाताबहाकलाई सम्पर्क गरेर कुन खातालाई सञ्चालनमा राख्ने र कुनलाई बन्द गर्ने भनेर छलफल गर्ने उनी बताउँछन् । त्यस्तै, ऋणको हकमा दुबै बैंकबाट ऋण लिइएको छ भने त्यसलाई खाताबहाकको ‘कोलेट्रल’को धान्ने र किस्ता तिर्न सक्ने भएमा मर्ज गरेर लगिने उनी बताउँछन् ।

‘बैंक अफ काठमाण्डूमा मात्रै ऋण छ भने त्यो यता आइहाल्छ,’ उनी भन्छन्, ‘दुवै बैंकमा ऋण भएको खण्डमा त्यसलाई मर्ज गरेर लगिन्छ ।’

बैंकको मिडिया म्यानेजमेन्ट विभागका सुजित आमात्यकाअनुसार कुनै पनि व्यक्तिले दुवै बैंकबाट ऋण लिएको छ भने उक्त व्यक्तिको धितो के छ, त्यसको भ्याल्यु कति छ र आम्दानीजस्ता कुराहरुलाई मूल्यांकन गरेर ऋणलाई मर्ज गरेर लैजाने वा कुनै एक बैंकको ऋणलाई अन्त्य गर्ने भन्ने प्रक्रिया हुन्छ ।

‘यस्तोमा हामी सेवाग्राहीसँग छलफल गरेर धितो, आम्दानी र अरु कुराहरु हेरेपछि किस्ता तिर्न सक्ने अवस्था छ भने ऋणलाई मर्ज गरेर निरन्तरता दिन्छौं । त्यस्तो नभएमा कुनै एक ऋणलाई बन्द गर्नुपर्ने हुन्छ । यसका लागि सेवाग्राहीलाई समय दिइन्छ’ उनी भन्छन् ।

बैंकले ऋणको सीमा कति हो, ऋण के आधारमा दिइएको छ भन्ने जस्ता कुराहरुलाई आधार मानेर ऋणलाई निरन्तरता दिने वा अन्य उपायतर्फ जाने भन्ने कुराबारे निर्णय गरिने जनाएको छ ।

त्यस्तै, ग्लोबल आईएमई र बैंक अफ काठमाडौंको मर्जपछि दुवै बैंकमा खाता भएका र क्रेडिट तथा डेभिट कार्ड लिएका प्रयोगकर्ताहरुले हाललाई त्यहि कार्ड प्रयोग गर्न सक्नेछन् । बैंकले यसमा पनि समय लिएर सबै खाताबहाकहरुको जानकारीलाई लिएर प्रक्रिया अघि बढाउने देवकोटा बताउँछन् ।

‘तुरुन्तै त हुँदैन । डेटा खुल्दै गएपछि हामी विस्तारै हेर्दै जान्छौं । त्यसपछि खाताबहाकलाई कुनै एउटा राख्न भनिन्छ । किनभने अन्त्यमा राख्ने एउटै मात्र हो । एकाउन्ट लिंक भएको अवस्थामा डेभिट वा क्रेडिड कार्ड दु वटा राखेर काम नै हुँदैन । यस्तोमा हामी खाताबहाकसँग कुरा गरेर प्रक्रिया अघि बढाउँछौं’ उनी भन्छन् ।

हाललाई भने खाताबहाकसँग बैंक अफ काठमाडौंकै चेक र क्रेडिट वा डेभिट कार्ड भएमा सो पनि चल्ने बताउँछन् उनी । भन्छन्, ‘अहिलेलाई त्यो नै चलिरहन्छ । कार्डको म्याद सकिएपछि खाताबहाकले नयाँ कार्डको लागि भनेपछि मात्रै नयाँ कार्ड वा नयाँ चेक आउँछ ।’

डिम्याट खाताको हकमा पनि यस्तै हुने देवकोटा बताउँछन् । उनी भन्छन्, ‘कसैले बैंक अफ काठमाडूबाट डिम्याट खाता खोलेको छ भने त्यसमा पनि ग्लोबल बैंक नै हुन्छ । पहिले एकाउन्ट बैंक अफ काठमाडौंको लिंक भएको थियो । अब बैंक अफ काठमाडौंको ठाउँमा ग्लोबल आईएमई बैंक हुन्छ । एकाउन्ट नम्बर परिवर्तन हुन्छ । बाँकी कुराहरु जानकारीहरु त्यहि रहन्छन्।’

यी सबै प्रक्रियाका लागि भने सेवाग्राही आफैंले बैंकमा गएर परामर्श पनि गर्न सक्छन् भने बैंक आफैंले पनि सेवाग्राहीलाई सम्पर्क गरेर यो प्रक्रियालाई अघि बढाउने उनी बताउँछन् ।

प्रभु र सेञ्चुरी

प्रभु र सेञ्चुरी बैंकले प्रभु बैंकका नामबाट यही पुस २६ गतेदेखि एकीकृत कारोबार गरेका छन् ।

एकीकृत कारोबार शुरु भएसँगै साविक सेञ्चुरी कमर्सियल बैंकमा खाता रहेका ग्राहकको १२ अङ्कको खाता नम्बर परिवर्तन भई १६ अङ्कको खाता नम्बर बनेको पनि प्रभु बैंकले जनाएको छ ।

साविकको प्रभु बैंकका खातावालको खाता नम्बर उही रहने छ भने सेञ्चुरीका खातावालको नयाँ खाता नम्बर आउने बैंककी प्रमुख सञ्चालन अधिकृत रश्मि पन्तले जानकारी दिइन् । पन्तका अनुसार बैंकको कस्टमर सर्भिस डिपार्टमेन्टले ग्राहकलाई फोन गरेर यसबारे जानकारी दिन्छ ।


क्लिकमान्डु