पेट्रोलियम पदार्थको मूल्य स्वचालित बनाउन व्यवसायीको माग



काठमाडौं । पेट्रोलियम पदार्थको कारोबार संलग्न निजी संघसंस्था तथा व्यवसायीहरुले मूल्यलाई स्वचालित बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल आयल निगमको ५३औं वार्षिकोत्सवमा व्यवसायीहरुले पेट्रोलियम पदार्थको मूल्य स्वचालित बनाउनुपर्नेमा जोड दिएका हुन् ।

एलपी ग्यास उद्योग संघका अध्यक्ष कुश मल्लीले उपभोक्ताको सहजताका लागि मूल्यलाई स्वचालित बनाउनुपर्ने बताए । अहिलेको मूल्यले गर्दा आपूर्ति तथा मागमा समस्या भएको भन्दै उनले सबैको सहजताका लागि मूल्यलाई स्वचालित बनाउनु आवश्यक रहेको बताए ।

स्वचालित मूल्यबारे सरकारले अध्ययन तथा काम गरिरहेको अधिकारीहरुले बताउँदै आएका छन् । तर, कार्यान्वयनमा भने आउन सकेको छैन । तर, अब यसलाई पूर्णता दिई छिट्टै कार्यान्वयनमा ल्याउनुपर्ने जिकिर गरे ।

त्यस्तै, मल्लीले बजारमा पेट्रोलियम पदार्थको खरिद तथा बिक्रीको मूल्यमा निकै अन्तर भएकाले यसलाई व्यवस्थापन गर्नुपर्ने बताए । यससँगै, संघले विभिन्न चरणमा व्यवसायहरुले ढुवानीको खर्च बढाउनुपर्ने माग गर्दै आएका छन् । उक्त माग पनि सम्बोधन गर्न उनले अनुरोध गरे ।

नेपाल पेट्रोलियम ढुवानी महासंघका महासचिव विश्व अर्यालले आयल निगम राजनीतिक हिसाबले चलिरहेकाले लक्ष्य हासिल नहुने बताए । उनकाअनुसार राजनीतिक दलअनुसार मूल्य घट्ने र बढ्ने गर्छ ।

त्यसमा आर्थिक रणनीतिभन्दा राजनीतिक रणनीति बढी देखिन्छ । आयल निगमलाई राजनीतिक दलको आम्दानीको स्रोत रुपमा लिँदै आएका हुनाले उपभोक्ताले समस्या भोगिरहेका छन् । त्यसैले, पेट्रोलियम पदार्थको मूल्यलाई स्वचालित मूल्य बनाएमा राजनीतिक प्रभाव नपर्ने उनको भनाइ छ ।

‘राजनीतिक रणनीति नभएर आयल निगम उपभोक्ता र आर्थिक रणनीतिमा अगाडि बढ्नुपर्छ । उपभोक्ता र आर्थिक रणनीतिमा निगम अगाडि बढ्न सकेन भने जहिले नोक्सानी व्यहोर्नपर्ने हुन्छ,’ उनले भने ।

नेपाल पेट्रोलियम राष्ट्रिय महासंघका अध्यक्ष लिलेन्द्र प्रधानले राजनीतिक आदेश र निर्देशनले मूल्य घटबढ हुँदा उपभोक्ता र व्यवसायी मारमा परेको बताए । त्यसैले, मूल्यलाई स्वाचलित बनाउन सकेमा सबैलाई सहज उनको भनाइ छ । साथै, उपभोक्तालाई अवस्थालाई हेरेर अनुदानसहित मूल्य तोक्नुपर्ने उनले जिकिर गरे ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव मधु मारसिनीले पेट्रोलियम पदार्थको मूल्य जसरी पनि स्वाचलित मूल्य कायम हुने बताए । उनकाअनुसार अहिलेसम्म सरकारले स्वाचलित मूल्यमा जे–जति अध्ययन गरेपनि कार्यान्वयन हुन सकेको छैन । तर, आगामी दिनमा ढिला, चाँडो जसरी भएपनि स्वाचलित मूल्य कायम गर्नुको विकल्प छैन ।

त्यसैगरी, सचिव मरासिनीले उपभोक्तालाई सहुलियत हिँदै आएकाले आगामी दिनमा सहज र व्यवस्थित तरिकाले पेट्रोलियम पदार्थको उपलब्धता हुने उल्लेख छ । तर, अन्य संस्थानको तुलनामा आयल निगममाथि धेरै प्रश्न आउने भएकाले के कारणले उठिरहेको त्यसबारे अध्ययन गर्न आवश्यक रहेको बताए ।

साथै, विदेशमा जस्तै नेपालको पेट्रोलियम पदार्थको बिक्री वितरणमा प्रविधिको प्रयोग गर्नुपर्ने उनले जिकिर गरे ।

निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पेट्रोलियम पदार्थको मूल्यलाई स्वचालित बनाउनका लागि अधययन भइरहेको बताए । निगमले भण्डारणसहित बिक्री वितरण सहज बनाउन विभिन्न क्षेत्रमा पूर्वाधारको विकास गरिरहेको उल्लेख गरे ।


क्लिकमान्डु