दुधको मूल्य वृद्धिबारे डेरी उद्योगीबीच नै मतभेद, बढेको मूल्य कृषकले नपाउने



काठमाडौं । डेरी उद्योगीहरुले पुस १६ गतेदेखि लागू हुने गरी दुधको मूल्य वृद्धि गर्ने निर्णय गरेका थिए । उद्योगीहरुले दुध उत्पादनका लागि आवश्यक अधिकांश कच्चा पदार्थको मूल्य बढेको भन्दै किसानसँगै उपभोक्ताको मूल्य बढाएको बताएका थिए ।

उद्योगीहरुले मूल्य वृद्धि गरेसँगै चौतर्फी बिरोध भएको थियो । उक्त बिरोधसँगै राष्ट्रिय उपभोक्ता मञ्चले प्रधानमन्त्री र प्रधानमन्त्री सचिवालयलाई नै पत्र लेख्यो ।

पत्रमा उद्योगीहरुले गैरकानूनीरुपमा मूल्य बढाएको भन्दै कारबाही गर्न माग गरेको थियो । जसमा मञ्चले ध्यानाकर्षण गरेसँगै १७ गते अर्थात् आइतबार कृषि मन्त्रालय, राष्ट्रिय दुग्ध विकास बोर्ड र सरोकारवाला निकायहरुबीच छलफल भएको थियो ।

छलफलपश्चात मूल्य वृद्धि नगर्ने भन्नेबारे निष्कर्ष निकालेको राष्ट्रिय दुग्ध विकास बोर्डले जनाएको छ । सोहीअनुसार बोर्डले १७ गते नै सूचना जारी गरेर दुधको मूल्य वृद्धि स्थगन गरेको जानकारी दियो । बोर्डले मूल्य वृद्धि स्थगन गर्ने निर्णय गरेपछि उद्योगीहरुबीच मतभेद शुरु भएको छ ।

निजी क्षेत्रका तर्फबाट नेपाल डेरी संघ र डेरी उद्योग संघ गरी दुईवटा साझा संस्था छन् । उक्त संस्थाहरुबीच बोर्डले गरेको निर्णयमा मतभेद देखिएको हो ।

डेरी उद्योग संघले बोर्डको निर्णयप्रति आपत्ति जनाएको छ । संघका अध्यक्ष राजकुमार दाहालले बोर्डले दुधको मूल्य वृद्धिबारे गरेको निर्णयमा सहमति नरहेको बताए ।

उनकाअनुसार १७ गतेको छलफलपछि मूल्य वृद्धि स्थगन गरिएको छ । जसमा आफूहरुको समर्थन छैन । ‘दुध उत्पादनका लागि आवश्यक अधिकांश कच्चा पदार्थको मूल्य बढेको छ । जसले गर्दा किसानहरु मारमा परेका छन् । त्यसैले किसानको मूल्य पनि बढाएकाले उपभोक्ताको मूल्य पनि बढाएको हो,’ उनले भने ।

त्यस्तै, डेरी उद्योग संघले प्रेस विज्ञप्ति जारी गरेर बोर्डले गरेको निर्णयप्रति सहमति नरहेको स्पष्ट पारेको छ ।

‘उद्योगहरुलाई हालै वृद्धि गरेको मूल्य स्थगत गर्न आग्रह गरेता पनि यसमा डेरी उद्योग संघको कुनै सहमति नभएको र डेरी उद्योगीहरुले पुस १६ गतेदेखि नै किसानको खरिद मूल्यवृद्धि भइसकेको कारणले मूल्यवृद्धि फिर्ता हुन नसक्ने स्पष्ट पार्दछौं,’ जारी विज्ञप्तिमा उल्लेख छ ।

तर, अर्को दुग्ध उद्योगीहरुको साझा संस्था नेपाल डेरी संघले भने बोर्डको निर्णयप्रति सहमति रहेको जनाएको छ । संघका अध्यक्ष प्रह्लाद दाहालले दुधको मूल्य बढ्नुपर्छ भन्नेबारे दुईमत नभएको तर, १७ गतेको बैठकले उद्योगी तथा व्यवसायीहरुको माग विस्तारै पूरा गर्ने भन्ने सहमति भएकाले तत्कालका लागि कुनै बिरोध नभएको बताए ।

‘मन्त्रालय र बोर्डसँग बसेको बैठकले तत्कालको लागि मूल्य वृद्धि स्थगन गर्न निर्णय गरेको हो,’ उनले भने, ‘अहिले आएर अर्को संस्थाले किन छलफल विपरित काम गरिरहेको छ । थाहा भएन ।’

उनकाअनुसार बैठकले निर्णय गरेपछि त्यसमा बिरोध जाउनुपर्ने औचित्य छैन ।

केन्द्रीय दुग्ध सहकारी संघका अध्यक्ष अमरबहादुर कुँवरले उद्योगीहरुले आफूखुसी मूल्य बढाएको बताए । उनकाअनुसार उद्योगीहरुले किसानहरुको खरिद मूल्य भने बढाएको छैनन् । किसानहरुले पाउने मूल्य नबढाउने र आफूखुसी उपभोक्ता मूल्य बढाएकाले यसमा सहमति नभएको उनले बताए । ‘उद्योगीहरुले किसानको मूल्य बढाएको भनिरहेका छन् । तर, मूल्य भने बढाएका छैनन् ,’ उनले भने ।

उद्योगीहरुले बजारमा जाने बाहाना बनाएको उनको भनाइ छ । उद्योगीहरुले प्रतिस्पर्धा गर्दै दुध किन्दै गएको र अहिले उद्योगहरु चल्न नसक्ने अवस्थामा पुगेपछि रकम उठाउन मूल्य बढाउने कार्य अगाडि बढाएको उनले जिकिर गरे ।

‘मूल्य बढाएर अगाडि बढ्ने उद्योगीहरुको हक होइन,’ उनले भने, ‘मूल्य बढाउनका लागि कृषि, सरकारको सहमति तथा परामर्श चाहिन्छ । सबै सरोकारवालासँग छलफलपछि मात्रै मूल्य बढ्नेबारे निर्णय हुन्छ । तर, यो वर्ष कोहीसँगै छलफलबिनै उद्योगीहरुले मूल्य बढाएकाले किसानहरु यसप्रति सहमत छैनन् ।’

यदि किसानको पनि मूल्य बढाएको हो भने अहिलेको मूल्यमा १२ रुपैयाँ थप हुनुपर्ने उनको भनाइ छ । उनले अहिले मूल्य वृद्धिमा बोर्डको गरेको निर्णयमा सहमति जनाएका छन् । ‘मूल्य बढनुपर्छ भन्ने किसानहरुको पनि चाहना हो । तर, किसानको मूल्य नबढाउने, उपभोक्ताको मात्रै बढाउनेमा हाम्रो विमत्ति हो,’ उनले क्लिकमाण्डूसँग भने ।


अरिष्मा मोक्तान