५ वर्षमा खाने तेलको मूल्य ६७% ले बढ्यो, अन्तर्राष्ट्रिय बजारमा मूल्यको उतारचढावको प्रभाव



काठमाडौं । भान्सामा अत्यावश्यक वस्तु खाने तेलको मूल्य ५ वर्षमा ६७ प्रतिशतले बढेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी र रुस–युक्रेनबीचको द्वन्द्वले गर्दा तेलको मूल्य ५ वर्षको अवधिमा ६७ प्रतिशतले बढेको हो ।

कोरोना भाइरस र रुस–युक्रेनबीचको द्वन्द्वले विश्वव्यापीरुपमा सप्लाई चेनमा असर पुगेको थियो । जसले गर्दा अधिकांश कच्चा पदार्थ र मूल्यमा ठूलो असर देखिएको थियो ।

त्यस्तै, कोरोना भाइरस महामारीले गर्दा अत्यावश्यक वस्तु खाने तेलको मूल्यमा ठूलो ह्रास आएको थियो । कोरोना महामारीले अन्तर्राष्ट्रिय बजारमा नै अधिकांश वस्तुको कच्चा पदार्थको मूल्य बढेको थियो । अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्यवृद्धि भएसँगै संसारभर यसको प्रत्यक्ष असर देखिएको छ ।

कोरोना अघिसम्म अधिकांश वस्तुको मूल्यमा खासै असर देखिएको थिएन । तर, कोरोनापछि भने अधिकांश वस्तुको मूल्य बढ्दा उपभोक्ता महंगीको मारमा परेका छन् । त्यस्तै, भान्सामा नभई नहुने तेलको मूल्यमा सबैभन्दा बढी असर परेको देखिन्छ ।

नेपाल खुद्रा व्यापार संघको तथ्याङ्कअनुसार कोरोना अघिको वर्ष अर्थात् २०७५ सालको पुस महिनामा खाने तेलको मूल्य प्रतिलिटर १४० रुपैयाँदेखि १५० रुपैयाँ कायम भएको थियो ।

जसमा भटमासको तेलको मूल्य प्रतिलिटर १४० रुपैयाँ र सन्फ्लावर तेलको मूल्य प्रतिलिटर १५० रुपैयाँमा बिक्री वितरण हुन्थ्यो । साथै, काँचो तोरीको मूल्य प्रतिलिटर १६० रुपैयाँ र भुटेको तोरीको तेलको मूल्य प्रतिलिटर २६० रुपैयाँमा उपभोक्ताले खरिद गरी उपभोग गर्न पाउँथे ।

नेपालको सन्दर्थमा अधिकांशको भान्सामा भटमास र सन्फ्लावर तेल प्रयोग हुन्छ । त्यसैले, सोबेला एउटा परिवारले १५ सय रुपैयाँमा सहजै एक कार्टुन तेल खरिद गरी महिना काट्थ्यो । तर, अहिले भने सोही एक कार्टुन तेल खरिदका लागि २५ सय खर्चिनुपर्छ ।

त्यसैगरी, २०७६ को पुसमा आइपुग्दा खाने तेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँले बढेको थियो । त्यसबेला चीनमा कोरोना भाइरस महामारीको संक्रमण बढ्दो क्रममा थियो ।

बढ्दो कोरोना भाइरस संक्रमणले गर्दा विश्व नै लकडाउन तथा निषेधाज्ञा भएको थियो । जसले गर्दा सप्लाई चेनमा ह्रास आएको थियो । नेपाल पनि २०७६ को चैतदेखि लामो समय लकडाउन र निषेधाज्ञा भएको थियो ।

कोरोनाले गर्दा विश्वभर आतंक मच्चारहेको बेला अधिकांश वस्तुको मूल्य भने आकासिँदै गएको थियो । २०७७ को पुसमा आइपुग्दा खाने तेलको मूल्य २ सय नाघेको थियो । सो समयमा भटमासको तेल र काँचो भटमासको तेलको मूल्य प्रतिलिटर दुई/दुई सय रुपैयाँ र सन्फ्लावर तेलको मूल्य २१० रुपैयाँमा नेपाली बजारमा पाइन्थ्यो । भुटेको तोरीको तेलको प्रतिलिटर ३ सय रुपैयाँ पुगेको थियो ।

त्यसपछि, २०७८ को पुसमा आइपुग्दा खानेतेलको मूल्य बढेर २४० पुगेको संघले जनाएको छ । संघअनुसार २०७८ को पुसमा भटमासको तेलको मूल्य प्रतिलिटर २३० रुपैयाँ, सन्फ्लावर तेलको मूल्य २४० रुपैयाँ, काँचो तोरीको तेल २७० रुपैयाँ र भुटेको तोरीको तेलको प्रतिलिटर ३७० रुपैयाँमा बिक्री वितरण भएको थियो ।

कोरोना भाइरस महामारीले थलिएको अर्थतन्त्रमा थप रुस–युक्रेनबीचको द्वन्द्वले विश्वव्यापीरुपमा महंगी बढाएको छ । गत फेब्रअरीको अन्त्यबाट शुरु भएको द्वन्द्व अहिलेसम्म पनि कायमै छ । तर, शुरुवाती चरणको तीन महिनामा विश्वलाई नै मूल्यवृद्धिले आतंक मच्चाएको थियो । रुस–युक्रेनको द्वन्द्वले खाद्यान्न, तेललगायत अधिकांश वस्तुको मूल्य बढेको छ ।

द्वन्द्वका कारण नेपालमा खाने तेलको मूल्य प्रतिलिटर ३७०, ३८० रुपैयाँसम्म पुगेको थियो । जुन हालसम्मकै सबैभन्दा बढी मूल्यमा खानेतल बिक्री वितरण भएको थियो ।

उक्त समयमा उपभोक्ताले प्रतिलिटर ३८० रुपैयाँसम्म खर्चिनुपर्ने अवस्था थियो । साथै प्रति कार्टुन नै ३५ सय रुपैयाँसम्म खर्चिनुपर्ने बाध्यता भएको थियो । तर, पछिल्ला दिनहरुमा तेलको मूल्य घटेर अहिले भटमासको तेलको मूल्य प्रतिलिटर २३५ रुपैयाँ, सन्फ्लावर तेलको मूल्य २५० रुपैयाँ, काँचो तोरीको तेल ३६० रुपैयाँ र भुटेको तोरीको तेलको मूल्य ४ सय रुपैयाँमा बिक्री वितरण भएको संघले जनाएको छ ।

रुस र युक्रेनको खाने तेल निर्यातमा ठूलो हिस्सा छ । जसले गर्दा दुई देशबीच भएको द्वन्द्वले अधिकांश देशको मुद्रास्फिति माथि उक्लिएको छ ।

त्यस्तै, राष्ट्र बैंकअनुसार पनि तेल तथा घ्यूको मूल्य ह्वात्तै बढेको देखाउँछ । आर्थिक वर्ष २०७५/७६ मा तेल तथा घ्यूको मुद्रास्फिति बढेर ६.२४ प्रतिशत कायम भएको थियो ।

आव २०७६/७७ मा आइपुग्दा मुद्रास्फिति बढेर ८.१६ प्रतिशत, आव २०७७/७८ मा १७.५४ प्रतिशत, २०७८/७९ मा २६.१३ प्रतिशत कायम भएको राष्ट्र बैंकले जनाएको छ ।

यस्तो ५ पाँच वर्षको तेलको मूल्यसूचीः (प्रतिलिटर)

यस्तो थियो अन्तर्राष्ट्रिय बजारमा खाने तेलको मूल्य
अन्तर्राष्ट्रिय बजारको मूल्यको आधारमा नेपाली बजारको मूल्य तय हुन्छ । अन्तर्राष्ट्रिय बजारमा मूल्य घटबढ हुँदा त्यसको प्रत्यक्ष असर नेपालमा पर्छ । त्यस्तै, खानेतेलको रुस–युक्रेनबीचको द्वन्द्वले अन्तर्राष्ट्रिय बजारमा हालसम्मकै बढी मूल्यका कारोबार भएको देखिन्छ ।

अन्तर्राष्ट्रिय बजारमा कायम भएको खानेतेलको मूल्य हेर्दा कोभिड र रुस–युक्रेनबीचको द्वन्द्वले उत्तरचढाब भएको स्पष्ट देखिन्छ । सन् २०१९ को डिसेम्बरसम्ममा अन्तर्राष्ट्रिय बजारमा भटमासको प्रति बुसेल (३६.४ लिटर)को मूल्य ९०० देखि ९७० डलर रुपैयाँ र सन्फ्लावर तेलको प्रति बुसेल ७५० देखि ७७० डलर रुपैयाँ कायम भएको थियो ।

सन् २०२० को डिसम्बरमा अन्तर्राष्ट्रिय बजारमा भटमासको प्रति बुसेल (३६.४ लिटर)को मूल्य ११५० देखि १२९५ डलर र सन्फ्लावर तेलको प्रति बुसेल ११०० डलरदेखि ११५० डलरसम्म कायम भएको थियो ।

त्यस्तै, सन् २०२१ को मे मा तेलको मूल्य उच्च विन्दुमा पुगेको थियो । मेमा अन्तर्राष्ट्रिय बजारमा भटमासको प्रति बुसेल (३६.४ लिटर)को मूल्य १६५९ डलरसम्म पुगेको थियो । त्यसपछि निरन्तर घटेर सन् २०२१ को अन्त्यतिर ११८१ डलरमा झरेको थियो ।

तर, २०२२ लगत्तै रुस–युक्रेनबीचको द्वन्द्वले गर्दा गत मे मा प्रतिबुसेल भटमासको तेल १७ सय ३९ डलर कायम भएको थियो । जुन हालसम्मकै उच्च मूल्य हो । सोही बेला नेपालमा पनि प्रतिलिटर खानेतेलको मूल्य प्रतिलिटर ३८० रुपैयाँसम्म कायम भएको थियो ।

सन् २०२२ को मेपछि भटमासको तेलको मूल्य घटबढ भई अहिले प्रतिबुसेल १४ सय ९५ डलर कायम भएको छ । त्यसैगरी, सन्फ्लावर तेलको मूल्य पनि सन् २०२१ को मेमा बढेर प्रति बुसेल १६ सय ५४ डलर र सन् २०२२ को मे मा २४ सय १७ डलर कायम भएको थियो । त्यसपछि निरन्तर घटेर अहिले सन्फ्लावर तेलको मूल्य अन्तर्राष्ट्रिय बजारमा प्रति बुसेल १२ सय ८५ डलर कायम भएको छ ।

अन्तर्राष्ट्रिय बजारमा मूल्य उत्तरचढावले उपभोक्तामा महंगी बढाएको छ । एकातिर उपभोक्ताले सस्तो मूल्यमा पाउँदैनन् भने अर्कोतर्फ सहज ढङ्गले बजारमा तेल पाएका थिएनन् । रुस–युक्रेनबीचको द्वन्द्वले महंगी मात्रै होइन अभाव पनि सिर्जना भएको थियो ।

सोबेला उद्योगीहरुले कार्टेलिङ गर्दै बिक्री वितरण गरेकाले सहज तरिकाले तेल उपलब्ध नभएको खुद्रा व्यापार संघका महासचिव अमुलकाजी तुलाधार बताउँछन् । उनकाअनुसार द्वन्द्व भन्दै अधिकांश उद्योगीहरुले पर्याप्त मात्रामा तेल उपलब्ध गराएका थिएनन् । साथै, हप्तादिनमै तेलको मूल्य बढाउने र घटाउने प्रवृत्ति रह्यो । त्यसको प्रत्यक्ष असर खुद्रा व्यापारी र उपभोक्ता परेको थियो ।

अहिले बजारमा तेल पर्याप्त मात्रामा वितरण भइरहेको छ । तर, मूल्य भने स्थिर हुन नसकेको उनको भनाइ छ ।


अरिष्मा मोक्तान