एक अर्काविरुद्ध गाली गलौजमा उत्रिएका ओली र प्रचण्डबीच कसरी भयो सहमति ?



काठमाडौं । चाहे सत्तामा हुँदा होस् वा सत्ताभन्दा बाहिर हुँदा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकअर्कामाथि गाली बर्साउन कहिल्यै छाडेनन् । कुनै समय एकै पार्टीका दुई पाइलट (अध्यक्ष) भएका ओली र प्रचण्डबीच तत्कालीन नेकपामा दुई लाइन शक्ति संघर्ष सुरु भएदेखि नै कटुता बढेको थिथो ।

मंसिर ४ गतेको निर्वाचन पछिसम्म पनि दुई नेताहरु ओली र प्रचण्डबीच गाली गलौजको श्रंखला चलिरहेको थियो । ओली कुनै हालतमा पनि सरकारमा नपुग्ने प्रचण्डको दाबी थियो । तर, आज अवस्था फेरिएको छ ।

‘बालुवाटारबाट आफूहरुले ओलीलाई बार्दलीमा पुर्‍याएको र बार्दलीबाट ओली बालुवाटार आउन नसक्ने’ भनेका प्रचण्डले आज त्यही बार्दलीमा ओलीसँग सँगै हात हल्लाउनु पर्ने अवस्था आयो ।

मर्यादा बिर्सिएर गाली गलौज

तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि प्रचण्ड र उनीबीच निरन्तर गालीको दोहोरी चलेको थियो ।

दैनिक जसो हुने भाषणमा एमाले अध्यक्ष ओलीले प्रचण्डलाई गाली दिन्थे, प्रचण्डले ओलीलाई । २०७७ फाल्गुनमा सर्वोच्च अदालतको फैसलापछि नेकपा एमाले र नेकपा माओवादी ब्युँतिएसँगै उनीहरुको पार्टी फेरि पहिलेकै अवस्थामा पुग्यो । त्यो फाटोले उनीहरुबीच दैनिक गालीको दोहोरी चलायो ।

२०७४ सालको निर्वाचनमा एमाले र माओवादीले गठबन्धन गरेका थिए र पछि पार्टी एकता गरेर नेकपा गठन भएको थियो । पाँच वर्षमा पहिलो कार्यकाल ओली र दोस्रो प्रचण्डले सरकारको नेतृत्व गर्ने भनि भएको सहमतिमा ओली इमान्दार नभएको प्रचण्डको आरोप थियो भने ओलीले आफूलाई काम गर्न नदिएको दाबी गरेका थिए ।

ओलीले प्रतिनिधि सभा विघटन गरेपछि त्यसविरुद्ध प्रचण्डसहित माधव कुमार नेपाल विरुद्धमा थिए । जसका कारण ओली र प्रचण्डले एकअर्का विरुद्ध धारा प्रवाह गाली दिन्थे । ओली र प्रचण्डबीचको दोहोरी सदाबहार राजनीतिक बृतमा ‘ट्रेण्डिङ’मै रहिरह्यो ।

२०७७ फाल्गुनमा सर्वोच्चको फैसला भएको केही समयपछि एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डमाथि तत्कालीन नेपाल कम्युनिष्ट पार्टी ‘कब्जा गर्ने’ प्रयास गरेको र प्रचण्ड ‘हतास भएको’सम्म भन्न भ्याए । नेकपा अतित्वमै रहँदा प्रचण्डले ओलीलाई ‘एकाधिकारवादी’ र ‘गुटवादी’को ट्याग लगाइदिएका थिए ।

२०७७ पुसमा पार्टीबाट अलग भएका प्रचण्ड र माधव कुमार नेपालमाथिले ओलीले ‘शहिद भएको भए श्रद्धाञ्जली दिनु हन्थ्यो’ भन्ने सम्मको अभिव्यक्ति दिए । उनले अनेरास्ववियुको केन्द्रीय कमिटिले आयोजना गरेको एक कार्यक्रममा बोल्दै भनेका थिए, ‘तपाईंहरु सहिद भएको भए श्रद्धाञ्जली दिनुहुन्थ्यो । तर, सहिद त होइन । अब तपाईंहरुलाई कार्यक्रमहरुमा स्मरण गर्नुपर्ने पनि आवश्यकता छैन ।’

यति मात्र होइन्, आफूले प्रतिनिधिसभा विघटन गर्दा त्यसको आरोपसमेत ओलीले प्रचण्डमाथि थोपरिदिएका थिए । उनले २०७७ पुस १७ मा प्रवासी नेपाली समूदायका अगुवाहरुसँगको भर्चुअल कुराकानीमा भनेका थिए, ‘तपाईंहरु आन्दोलनभित्र बसेर, पार्टीभित्र बसेर घाँसभित्र लुकेर बसेको हरियो साँपजस्तै आन्दोलनभित्र बसेर आन्दोलनलाई कमजोर पार्ने, आन्दोलनलाई बदनाम पार्ने, कम्युनिष्ट पार्टीको दुई तिहार कामै लागेन भन्ने, भित्रै बसेर देशको समय बर्बाद गर्ने स्थिति ल्याउनुभयो । त्यसकारण संसद् विघटन गर्नुपर्यो ।’

कटाक्षको श्रृङ्खला ओलीको पक्षबाट मात्रै होइन्, प्रचण्डको पक्षबाट पनि बराबर छ । कुनै बेला पानी बाराबारजस्तै गरि उनीहरुबीच गालीगलौचको अवस्था थियो । अहिले भने यी दुवै नेताहरु सत्ताका लागि एकअर्कासँग काँधमा काँध मिलाएर हिँड्न लागेका छन् ।

प्रचण्डले २०७७ माघमा ओलीलाई ‘भेडा’ भएको भन्न भ्याएका थिए । माघ ५ गते प्रचण्ड– नेपाल (माधव कुमार नेपाल) पक्षीय अखिल नेपाल महिला संघले काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रचण्डले ओलीलाई ‘भेडा’ भएको भनेका थिए । प्रचण्डको कटाक्ष थियो, ‘हामीले केपी ओलीजस्ता भेडाहरुसँग लामो समय संगत गर्यौं । त्यसैले अलिअलि भेडाजस्ता हामी पनि भएका छौं कि क्या हो? त्यसकारण हामीले एकपटक यसो ऐना बोकेर हेरौं । हामी त सिंहका सन्तान हौं । जुरुक्क उठेर गजिर्यो भने केपी ओलीजस्ता भेडाहरु सकिन्छन् ।’

पुसमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि प्रचण्ड र नेपाल समूह विरोधमा उत्रिएको थियो । पुस १४ गते संसद् विघट्नको विरोधमा भृकुटीमण्डपमा भएको विरोध सभामा प्रचण्डले ओलीलाई ‘इतिहासले माफी नदिने’ भनेका थिए । उनले इतिहासबाट ओलीको पत्तासाफ हुने दाबी गर्दै भनेका थिए, ‘जबसम्म ओलीले म आफैंले बनाएको संवीधानको बलात्कार गरें, म अपराधी हुँ भन्ने छैनन्, तबसम्म इतिहासले उनलाई माफी दिने छैन ।’

संसद् विघटनको विरोधमा उत्रिएका प्रचण्डको अभिव्यक्तिको जवाफ दिनसम्म ओली पछि परेका थिएनन् । देश दौडाहा गरिरहेका ओलीले त्यसको भोलीपल्टै पुस १४ मा सुदुरपश्चिममा आयोजित एक भेलामा भनेका थिए, ‘छोरी जिताउन तपाईं (प्रचण्ड) कांग्रेससँग मिलेर चुनाव लड्नुभएको थाहा छ हामीलाई, छोरी जिताउन नसकेपछि प्रजातन्त्र धुजाधुजा पार्नुभयो ।’

कुनै बेला प्रचण्डमाथि यस्तो कटाक्ष गरिरहेका ओली अहिले कांग्रेससँगकै गठबन्धनबाट चुनावमा उठेको माओवादी केन्द्र र प्रचण्डसँग साझेदारी गरिरहेका देखिन्छन् । ‘प्रचण्डलाई धुँदा धुँदा डोभ साबुनका धेरै डल्ला, स्याम्पु, ड्रमका ड्रम र ट्यांकीका ट्यांकी पानी सकियो’ भन्ने ओली पुनः सत्तामा पुग्न प्रचण्डसँगै सहकार्यमा देखिएका छन् ।

अबको सत्ता साझेदारीका लागि छलफलपछि प्रचण्ड र ओली बार्दलीमा सँगै देखिएका छन् । ओली निवासमा भएको छलफलपछि दुवै नेताह बार्दलीबाट आफ्ना समर्थकलाई हात हल्लाउँदै सँगै देखिए । तर, कुनै बेला ओलीले प्रचण्डलाई ‘बाँदर’को संज्ञा दिँदै ‘घर बनाउँदैन’ सम्म भनेका थिए । ओलीले २०७७ पुस १५ मा कार्की ब्यांक्वेटमा आयोजित भेलामा भनेका थिए, ‘रामले लंकामा एएटा परिस्थितिमा बाँदर जातका मानिसहरुलाई लिएर लडाईँ लडेका थिए भनेर बाँदरले नै केके न गर्ने गरेछ भन्ने ठान्नुहुँदैन । बाँदरले कुनै घर बनाउँदैन । बनायो कि भत्काउँछ । बनाउने काम गर्दै गर्दैन । भत्काउने काम गर्छ । बाँदर लिएर बस्ती बसाउँछु भन्ने ठानेको थिए, टाप ठोक्यो ।’

प्रतिनिधि सभा विघटन हुनुभन्दा अघि दुवै नेताहरु तत्कालिन नेकपामा रहँदा पनि विवाद उत्तिकै थियो । प्रचण्ड र ओलीको टकराव कहिले गाली गलौचका रुपमा भाषणमा निस्क्न्थ्यिो त कहिले लिखित रुपमा । २०७७ कात्तिकमा तत्कालिन नेकपामा विवाद उत्कर्षमा हुँदा दुवै अध्यक्षले प्रतिवेदनमार्फत एकअर्कामाथि आरोप प्रत्यारोप लगाएका थिए ।

तत्कालिन नेकपामा रहँदा अध्यक्ष रहेका प्रचण्डले प्रतिवेदन पेश गर्दै ओलीमाथि आत्मसमीक्षा गर्न र पार्टी एकता र संविधानका रक्षाका लागि आवश्यक त्याग गर्न सुझाव दिएका थिए । १९ पेज लामो प्रतिवेदनमा प्रचण्डले ओलीलाई सुझाव दिएका थिए ।

ओलीले उत्क प्रतिवेदनको बदलामा ३८ पेज लामो प्रतिवेदन पेश गरेका थिए । आफूमाथि लागेको आरोप पुष्टि गर्न भन्दै प्रतिवेदनमार्फत प्रचण्ड प्रति ओलीको धम्की थियो, ‘कतिपय आरोप मुलुकी संहिताअनुसार फौजदारी कसुर आकर्षित हुने खालका छन् । कमरेड प्रचण्ड तपाईंले ती आरोप पुष्टि गर्न सक्नु भएन भने के हुन्छ? यसको जवाफ पनि म माग्ने नै छु ।’

कसरी बन्यो सहमति ?

मंसिर ४ गतेको निर्वाचनमा नेपाली कांग्रेससहितका दलहरुसँग गठबन्धन गरेर चुनावमा होमिएको नेकपा माओवादीले सोचे अनुरुपको सिट हासिल गर्न सकेन । समग्रमा सत्ता गठबन्धनका दलहरुमात्र मिल्दा सरकार गठन हुन सक्ने अवस्था बनेन ।

त्यसमा पनि प्रचण्ड ३२ सिटमा खुम्चनु पर्ने अवस्था बन्यो भने कांग्रेसले ८९ सिट पायो । पहिलो पार्टी बनेको कांग्रेसले माओवादीलाई प्रधानमन्त्री र राष्ट्रपति तत्काल नदिने भयो । सत्ताको अभिलासा बोकिरहेका प्रचण्डले आफ्ना कारणले दुवै पद कांग्रेसलाई दिनुपर्ने अवस्था बनेपछि त्यही बार्दलीमा पुगे जुन ‌ओलीको ‘ब्राण्ड’ बनिसकेको थियो ।

सरकारको ‘किङ मेकर’ बनेका प्रचण्डले आफूले केही नपाउने तर कांग्रेसले दुवै पद नछाड्ने अवस्था बुझेसँगै केही दिन अघिबाट एमालेसँगको छलफललाई तिव्रता दिएका थिए । जसलाई उनले आज सार्थकता दिएका छन् ।

उता एमाले सत्ता नेतृत्वकको गठबन्धनका कारण तनावमा थियो । पाँच दल मिल्दा पनि आफूहरु कमजोर नभएको उसले मतपरिणामबाट दियो । समानुपातिकमा पहिलो बनेको एमाले प्रत्यक्षमा ४४ र समानुपातिका ३४ गरि ७८ सिट पाएको थियो । तर सरकारमा रहने र प्रदेशहरुको नेतृत्व हातबाट गुम्ने भएपछि ओली तनावमा थिए ।

राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, प्रदेश सरकारबाट बाहिर रहनु पर्ने तोडकाबीच ओलीले प्रचण्डलाई प्रधानमन्त्री स्वीकार गर्नुको विकल्प थिएन जसको फाइदा राजनीतिका चतुर खेलाडी प्रचण्डले लिएर छाडे ।

ओली र प्रचण्ड निम्न स्तरको गालीगलोजमा उत्रिएका कारण उनीहरु एक ठाउँमा नउभिने कतिपय कार्यकर्ता र केही वर्ष कांग्रेस नेतृत्वको गठबन्धन कायम रहन्छ भन्ने अनुमानहरुलाई ‘चक्मा’खुवाउन प्रचण्ड सफल भए ।

प्रचण्डलाई एमालेका ७८, माओवादीका ३२, राष्ट्रिय स्वतन्त्र पार्टीका २०, राप्रपाका १४, जसपा १२ र अन्य साना दलको समेत समर्थन जुटेको दाबी छ । सीके राउत नेतृत्वको जनमत पार्टीले पनि नयाँ गठबन्धनलाई सघाउने छ ।


क्लिकमान्डु