बैंक तथा वित्तीय संस्थाको कर्जा प्रवाह ४.७७% ले बढ्दा प्रोभिजन साढे ३५% ले बढ्यो



काठमाडौं । नेपाल राष्ट्र बैंकले लिएको नीतिको प्रभाव अर्थतन्त्रका विभिन्न क्षेत्रमा प्रत्यक्ष देखिन थालेको छ । राष्ट्र बैंकले कर्जा विस्तार र विस्तार भएको कर्जा असूलीमा कडाइ गरेपछि बैंकहरुको वित्तीय विवरणमा त्यसको प्रत्यक्ष असर देखिएको हो ।

राष्ट्र बैंकको नीतिका कारण पछिल्लो एक वर्षमा बैंकहरुको कर्जा विस्तारको वृद्धिदर अत्यन्तै न्यून छ भने संभावित जोखिम व्यवस्थाका लागि छुट्याउने रकम (प्रोभिजन) उच्च दरले बढेको छ ।

एक वर्षको अवधि (०७८ कात्तिकदेखि ०७९ कात्तिकसम्म)मा वाणिज्य बैंकले प्रवाह गर्ने कर्जा ४.७७ प्रतिशतले बढेर ४२ खर्ब ३३ अर्ब ३२ करोड ७० लाख रुपैयाँ पुगेको छ । तर, एक वर्षको अवधि (०७८ कात्तिकदेखि ०७९ कात्तिकसम्म)मा बैंक तथा वित्तीय संस्थाले गर्ने प्रोभिजन ३५.४५ प्रतिशतले बढेर १ खर्ब २६ अर्ब २७ करोड ७० लाख रुपैयाँ पुगेको छ ।

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएका ऋणीले समयमै कर्जाको सावाँ र ब्याज भुक्तानी नगर्दा बैंक तथा वित्तीय संस्थाहरूको कर्जा नोक्सानी व्यवस्थाका लागि नाफाबाट रकम छुट्याउनु पर्छ ।

बैंकहरुले प्रवाह गरेको कर्जा समयमा नै नउठ्दा अहिले बैंकहरुले प्रोभिजन बढेको हो । ०७९ कात्तिक मसान्तसम्ममा बैंक तथा वित्तीय संस्थाले १ खर्ब २६ अर्ब २७ करोड ७० लाख रुपैयाँ प्रोभिजन गरेका छन् । जबकी, गत आवको सोही अवधिमा प्रोभिजन ९३ अर्ब २२ करोड ५० लाख रुपैयाँ थियो ।

यो वर्षको असोजको तुलनामा कात्तिक महिनामा पनि प्रोभिजन बढेको छ । असोजमा १ खर्ब २५ अर्ब ७५ करोड ९० लाख रुपैयाँ रहेको प्रोभिजन कात्तिकमा १ अर्ब रुपैयाँले बढेर १ खर्ब २६ अर्ब २७ करारेड ७० लाख रुपैयाँ पुगेको छ ।

कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले ४७ खर्ब ८३ अर्ब ४२ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

राष्ट्र बैंकका अनुसार कात्तिकमा वाणिज्य बैंकले १ खर्ब ८ अर्ब ८२ करोड ९० लाख रुपैयाँ प्रोभिजन गरेका छन् । असोजमा यस्तो रकम १ खर्ब ८ अर्ब ७८ करोड ७० लाख रुपैयाँ रहेको थियो ।

कात्तिकमा वाणिज्य बैंकले मात्रै ४२ खर्ब ३३ अर्ब ३२ करोड ७० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् । असोजमा ४२ खर्ब २४ अर्ब ४५ करोड १० लाख रुपैयाँ कर्जा प्रवाह गरिएको थियो ।

यस्तै विकास बैंकले कात्तिकमा ११ अर्ब २२ करोड २० लाख रुपैयाँ प्रोभिजन गरेका छन् । यस्तो रकम असोजमा ११ अर्ब ९ करोड ५० लाख रुपैयाँ रहेको थियो । विकास बैंकले कात्तिकमा ४ खर्ब ५८ अर्ब ५ करोड ७० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । असोजमा ४ खर्ब ५४ अर्ब १७ करोड ९० लाख कर्जा लगानी गरेका थिए ।

केन्द्रीय बैंकका अनुसार कात्तिकमा वित्त कम्पनीले ६ अर्ब २२ करोड ६० लाख रुपैयाँ प्रोभिजन गरेका छन् । असोजमा ५ अर्ब ८७ करोड ८० लाख रुपैयाँ रहेको थियो । कात्तिकमा वित्त कम्पनीले ९२ अर्ब ४ करोड ३० लाख रुपैयाँ कर्जा लगानी गरेका छन् । असोजमा वित्त कम्पनीले ९१ अर्ब ५६ करोड ७० लाख रुपैयाँ कर्जा दिएका छन् ।

केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थालाई प्रवाह गरेको कर्जा भाका नाघेको ३ महिनाभित्र कर्जा असूल नभएमा त्यस्तो कर्जालाई सूक्ष्म निगरानीमा राखी प्रवाहित कर्जाको २५ प्रतिशत प्रोभिजन गर्नुपर्ने व्यवस्था गरेको छ । ६ महिनासम्म सावाँ–ब्याज भुक्तानी नभएमा ५० प्रतिशत, ९ महिनासम्म सावाँ ब्याज भुक्तानी नभएमा ५० प्रतिशत र १ वर्षसम्म साँवा–ब्याज भुक्तानी नभएमा त्यस्तो कर्जालाई शतप्रतिशत प्रोभिजन गनुपर्ने व्यवस्था गरेको छ ।

सरकार र राष्ट्र बैंकको कडाइको नीतिले अर्थतन्त्र संकुचन भइरहेको छ । जसकारण विगतमा नियमित बैंकको सावाँब्याजको किस्ता तिरिरहेका धेरै ऋणीहरुले पनि अहिले नियमित किस्ता तिर्न सकिरहेका छैनन् । समयमै सावाँब्याजको किस्ता नउठ्दा बैंक तथा वित्तीय संस्थाले संभावित जोखिम व्यवस्थाका लागि आफ्नो नाफाबाट प्रोभिजन थप्दै जानुपर्ने हुन्छ । आगामी दिनमा यस्तो प्रोभिजन थप बढ्ने देखिन्छ ।


क्लिकमान्डु