कता जाँदैछ अर्थतन्त्र ? यस्ता छन् मूख्य सूचक



काठमाडौं । आयातमा गरिएको कडाई र प्रतिवन्धका करण देशको अर्थतन्त्रका केही सूचकहरु सकारात्मक देखिएका छन् । राष्ट्र बैंकले बिहीबार देशको वर्तमान आर्थिक अवस्था नामक प्रतिवेद सार्वजनिक गर्दै अर्थतन्त्रका सूचकहरु सकारात्मक बन्दै गएको जनाएको छ ।

विदेशी मुद्राको सञ्चिति १५ करोड डलरले बढ्यो, शोधानान्तर स्थिति २० अर्ब ३० करोड रुपैयाँले बचतमा

चालु आर्थिक वर्षको चार महिनामा विदेशी मुद्राको सञ्चिति ९ अर्ब ६३ करोड डलर पुगेको छ ।

असोज मसान्तमा ९ अर्ब ४८ करोड डलर रहेको विदेशी मुद्राको सञ्चिति १ महिनामै १५ करोड डलरले बढेको हो ।

चालु आर्थिक वर्षको ४ महिनामा १८ प्रतिशतले आयात घट्नुको साथै रेमिट्यान्स आप्रवाह अमेरिकी डलरमा १०.८ प्रतिशतले बढेपछि विदेशी मुद्राको सञ्चितिमा सुधार आएको हो ।

यो वर्षको ४ महिनामा गत आर्थिक वर्षको अन्त्यभन्दा विदेशी मुद्राको सञ्चिति ९ करोड डलरले बढेको छ ।

गत आर्थिक वर्षको अन्त्यमा विदेशी मुद्राको सञ्चिति ९ अर्ब ५४ करोड डलर रहेको थियो ।

विदेशी मुद्राको सञ्चिति बढेसँगै शोधानान्तर स्थिति (देशबाट बाहिरिने र भित्रिने विदेशी मुद्राको फरक) पनि २० अर्ब ३० करोड रुपैयाँले वचतमा गएको छ । असोज मसान्तमा शोधानान्तरस्थिति १२ अर्ब ४३ करोड रुपैयाँले वचतमा थियो ।

रेमिट्यान्स २०.४ प्रतिशतले बढ्यो

 चालु आर्थिक वर्षको ४ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह २०.४ प्रतिशतले बढेर ३ खर्ब ७८ अर्ब ४ करोड पुगेको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ७.० प्रतिशतले घटेको थियो ।

अमेरिकी डलरमा विप्रेषण आप्रवाह १०.८ प्रतिशतले वृद्धि भई २ अर्ब ९३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७.३ प्रतिशतले घटेको थियो ।

चार महिनाको अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या १०२.५ प्रतिशतले वृद्धि भई १ लाख ९५ हजार १९६ पुगेको छ ।

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृती लिनेको संख्या ४६.४ प्रतिशतले बढेर ८७ हजार ४२८ पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या २४९.१ प्रतिशतले बढेको थियो ।

८ प्रतिशतले बढ्यो महँगी, होटल रेष्टुरेन्टमा १६ प्रतिशत

राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको चार महिनामा ८.०८ प्रतिशतले महँगी बढेको छ ।

गत वर्ष ४ महिनामा ६.०४ प्रतिशतले महँगी बढेको थियो ।

यो वर्ष खाद्य तथा पेय पदार्थको मूल्य ७.३८ प्रतिशतले बढ्दा गैरखाद्य र सेवाको मूल्य ८.६३ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको ४ महिनामा होटल समूहतर्फ सबैभन्दा बढी १५.९७ प्रतिशतले महँगी बढेको छ ।

त्यसै गरि सूर्तीजन्य पदार्थको मूल्य ११.८१ प्रतिशत, दुग्ध तथा अण्डाको मूल्य ९.३३ प्रतिशत, मदिराजन्य पेय पदार्थको मूल्य ८.८४ प्रतिशतले बढेको छ ।

गैरखाद्य तर्फ सबैभन्दा धेरै यातायतको मूल्य १७.७१ प्रतिशत, स्वास्थ्य सेवाको मूल्य ११. २२ प्रतिशतले बढेको छ ।

राष्ट्र बैंकका अनुसार काठमाडौं उपत्यकामा महँगी ७.५६ प्रतिशतले बढ्दा तराईमा ८. ५२ प्रतिशत, पहाडमा ८.०३ प्रतिशत र हिमालमा ६.६८ प्रतिशतले बढेको छ ।

आयात र निर्यात दुबै घट्यो, ब्यापार घाटा ४७७ अर्ब ९२ कारेड

आर्थिक वर्ष २०७९÷८० को चार महिनामा कुल वस्तु निर्यात ३३.३ प्रतिशतले कमी आई .५४ अर्ब ७७ करोड रुपैयाँ रहेको छ । गत
वर्षको सोही अवधिमा यस्तो निर्यात १०४.३ प्रतिशतले वृद्धि भएको थियो । गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ४२.३ प्रतिशत र ३४.२ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ७.४ प्रतिशतले वद्धि भएको छ ।

वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, ऊनी गलंैचा, चिया, तयारी पोशाक लगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, जुटका सामान, लत्ताकपडा लगायतका वस्तुको निर्यात घटेको छ ।

आर्थिक वर्ष २०७९÷८० को चार महिनामा कुल वस्तु आयात १८.१ प्रतिशतले कमी आई ५३२ अर्ब ६९ करोड रुपैयाँ रहेको छ । गत वर्षको सोही अवधिमा यस्तो आयात ६१.६ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १६.५ प्रतिशत, २०.९ प्रतिशत र २०.१ प्रतिशतले कमी आएको छ ।

वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, रासायनिक मल, स्पंज आइरन, सुन, हवाइजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टपुर्जा, चाँदी, दूरसञ्चारका उपकरण तथा पार्ट्स, एम.एस.विलेट, कच्चा सोयाविन तेल लगायतका वस्तुको आयात घटेको छ ।

आर्थिक वर्ष २०७९/८० को चार महिनामा कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले कमी आई ४७७ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ । गत वर्षको सोही अवधिमा यस्तो घाटा ५६.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.३ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १२.६ प्रतिशत रहेको थियो ।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी ४२ अर्ब ६९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ७१ अर्ब ४० करोड रुपैयाँ बराबरको भएको थियो ।

पढ्नुहोस् पूर्णपाठ


क्लिकमान्डु