चोभार सुक्खा बन्दरगाहमा १ अर्बको सामान आगमन, निर्यात शुन्य



काठमाडौं । निजीक्षेत्रको व्यवस्थापनमा सञ्चालनमा आएको चोभार सुक्खा बन्दरगाहमा कार्गो कन्टेनर सीमित मात्रामा मात्र आउने गरेका छन् ।

२०७८ चैत २२ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले चोभार सुक्खा बन्दरगाह उद्घाटन गरेका थिए ।

‘हाल मासिक १० देखि १५ ओटासम्म कन्टेनर आउने गरेका छन्,’ सुक्खा बन्दरगाह सञ्चालनको जिम्मा पाएको ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रालिका प्रमुख कार्यकारी अधिकृत रविकान्त विद्यार्थीले भने ।

चालू आर्थिक वर्ष २०८०/८१ को चैतसम्ममा चोभार बन्दरगाह प्रयोग गरेर नेपालले कुनै वस्तु निर्यात गर्न सकेको छैन । सीमित मात्रामा आयातित वस्तु भने यहाँ सीधै आइरहेका छन् । ५०० कन्टेनर र सोही संख्यामा ट्रक अट्ने क्षमताको उक्त बन्दरगाहको पार्किङमा अहिले आयात भएका २५० ओटा गाडी छन् ।

चोभार सुक्खा बन्दरगाह सञ्चालनका लागि इन्टरमोडल यातायात विकास समिति र ट्रान्स नेपाल टीआरएस लोजिपार्क प्रालिबीच २०८० मङ्सिरमा सम्झौता भएको थियो । त्यसयता कम्पनीले चोभार सुक्खा बन्दरगाह व्यवस्थापन तथा सञ्चालन गर्दै आएको छ । प्रालिका प्रमुख कार्यकारी विद्यार्थीले बन्दरगाहमा कन्टेनर कम आए पनि पार्किङ र गोदाम अर्थात् आन्तरिक टर्मिनल राम्रोसँग सञ्चालन भइरहेको बताए ।

‘आर्थिक गतिविधिमा आएको शिथिलता, मागमा आएको कमी र काठमाडौं–तराई दु्रतमार्ग (फास्ट ट्र्याक) नबन्दा यहाँबाट आयात–निर्यात बढ्न सकेको छैन,’ उनले भने ।

उनका अनुसार यो बन्दरगाह प्रयोग गर्न व्यापारीहरू निश्चिन्त हुन नसकेका कारण पनि अपेक्षाअनुसार मालवाहक कन्टेनरको आवतजावत हुन नसकेको हो । यद्यपि आन्तरिकतर्फको बिजनेश कार पार्किङ र गोदाममा भने राम्रो व्यवसाय भइरहेको उनको भनाइ छ । गोदामको माग भएअनुसार समितिले उक्त कम्पनीलाई नयाँ गोदाम बनाउन स्वीकृति दिएको छ ।

काठमाडौंमा सामान आयात गर्नेहरूमा अझै पनि वीरगञ्जबाटै जाँचपास भइरहेकाले चोभारमा किन ल्याउने भन्ने मानसिकता रहेको विद्यार्थीको भनाइ छ ।

‘अहिले मुख्य समस्या भनेको आर्थिक गतिविधि शिथिल छ । मासिक १० ओटा कन्टेनर ल्याउनेले अहिले वर्षमा १० कन्टेनरको काम पनि गरेका छैनन्,’ उनले भने, ‘भारततर्फका सीमा नाका खुला भएका छन् चीनतर्फका पनि खुला गराउनुपर्छ ।’

नेपाल इन्टरमोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले आयातनिर्यात धेरै नभए पनि पार्किङ र गोदामको व्यवसाय राम्रो भएको बताए ।

‘आधा भागमा भन्सार र आधा आन्तरिक लजिस्टिक हबका रूपमा चलेको छ,’ उनले भने । पार्किङ, गोदामहरू भरिभराउ रहेको भन्दै उनले अझ नपुगेर गोदाम निर्माणको चरणमा रहेको बताए ।

आन्तरिक टर्मिनलतर्फ ठूला गाडीमा आएका सामान साना गाडीमा राखेर गन्तव्यसम्म पुर्‍याउने, गोदाम, पार्किङ, प्रोसेसिङ, प्याकेजिङजस्ता काम गर्न पाइन्छ । गोदाम भरिभराउ भएर उक्त कम्पनीले आफ्नै खर्चमा गोदाम बनाउन माग गरेकाले स्वीकृति दिइएको गजुरेलले बताए । उनका अनुसार धेरै गाडी भन्सार जाँचपास गर्न यो सुक्खा बन्दरगाहमा छन् ।

सामानहरू जाँचपास नहुँदासम्म गोदाममै राखिने भएकाले करीब २५० ओटा नयाँ सवारीसाधन यो सुक्खा बन्दरगाहमा पार्किङ गरेर राखिएका छन् । कन्टेनर कम आए पनि व्यक्तिगत प्रयोगका गाडी धेरै आयात हुँदा पार्किङ भरिभराउ छ । व्यवस्थापनको जिम्मा लिएको कम्पनीले गोदाम, पार्किङ, लेबलिङ, प्याकेजिङ, पल्टीजस्ता काम गरिरहेकाले उसको व्यवसाय राम्रो रहेको गजुरेलले बताए ।

भन्सार विभागको तथ्यांकअनुसार चालू आव २०८०/८१ को चैतसम्ममा चोभार सुक्खा बन्दरगाहबाट नेपालले कुनै सामान निर्यात गरेको छैन । गत चैतसम्ममा नेपालले यो बन्दरगाहमार्फत ८० करोड ४१ लाख रुपैयाँ बराबरको सामान आयात गरेको विभागको तथ्यांक छ । चालू आवमा निर्यात नभए पनि गत आव २०७९/८० को चैतसम्ममा नेपालले यो बन्दरगाह प्रयोग गरेर १ करोड ४४ लाख रुपैयाँ बराबरको वस्तु निर्यात गरेको थियो ।

यो बन्दरगाहबाट ह्यान्डिक्राफ्ट, जुत्ता, पञ्जा निर्यात भएका थिए । यो बन्दरगाह डेढ अर्ब रुपैयाँभन्दा बढी लागतमा तीन वर्ष लगाएर निर्माण सम्पन्न गरिएको थियो । उक्त बन्दरगाह विश्व बैंकसँग ऋण लिएर निर्माण गरिएको हो ।


क्लिकमान्डु