बंगालीले नबिल बैंकको १ करोड ७७ लाख कित्ता सेयर बेच्ने, चौधरी ग्रुपको डिल करिब फाइनल



काठमाडौं । गत साता नविल बैंकमा रहेको बंगाली सेयरधनी इन्टरनेशनल फाइनान्स इन्भेष्टमेन्ट एण्ड कमर्स बैंक लिमिटेड (आइएफआईसी बैंक)ले आफ्नो स्वामित्वमा रहेको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता (७.७ प्रतिशत) संस्थापक सेयर बेच्ने सार्वजानिक सूचना निकाल्यो ।

बंगाली लगानीकर्ता आएफआइसीको बैंकमा रहेको उक्त सेयर अहिलेका संस्थापक सेयरधनीलाई किन्नका लागि सार्वजनिक सूचना आह्वान गरिएको छ । इच्छुक संस्थापक सेयरधनीले सूचना निकालेको ३५ दिनभित्र गोप्य शिलबन्दीमार्फत् बोलकबोल गर्नुपर्ने हुन्छ । उक्त सेयर किन्न धेरैले चासो व्यक्त गरेका छन् ।

नेपाल बंगलादेश (एनबी) बैंकमा रहेको आइएफआइसीको सेयर नविलले एनबी प्राप्ति गरेपछि बंगालीको सेयर नविल बैंकमा भएको हो । गत वर्ष नै एनबीबाट सेयर बिक्री गरेर बाहिरिनका लागि एनबी बैंकले सूचना निकालेको थियो । तर, त्यसबेला उक्त सेयर बिक्री भएको थिएन ।

त्यो बेला विवादास्पद छविका लक्ष्मीबहादुर र जितबहादुर श्रेष्ठका साथै चौधरी समूहले उक्त सेयर किन्न खोजेका थिए । तर, सो समय विविध कारणले सेयर बिक्री हुन सकेको थिए ।

बंगालीले अहिले फेरि सेयर बिक्री गरेर बाहिरिने निर्णय गर्दै खरिद गर्नका लागि संस्थापक सेयरधनीलाई आह्वान गरेको हो । नविल बैंकको सबैभन्दा ठूलो संस्थापक सेयरधनी एनबी इन्टरनेशनल र चौधरी समूह हो ।

चौधरी समूहले बंगालीको उक्त सेयर किन्न चासो देखाउँदै डिल गरिरहेको छ । नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरी उक्त समूहका अध्यक्ष हुन् । उनी हालैमात्र कांग्रेसका तर्फबाट नवलपराशी पश्चिमबाट सांसदमा निर्वाचित भएका छन् ।

स्रोतका अनुसार ४०० देखि ४२० को रेञ्जमा उक्त सेयर किन्नका लागि चौधरी समूहले बंगाली सेयरधनीसँग डिल अन्तिम चरणमा पुर्याएको छ । साढे ६ अर्बदेखि साढे ७ अर्ब रपैयाँको बीचमा रहेर डिल भइरहेको स्रोतले जानकारी दियो ।

‘बंगालीसँग धेरै लगानीकर्ताले कुरा गरिरहेका छन् तर त्यति ठूलो रकम निकाल्न सक्ने क्षमता चौधरी ग्रुपसँग मात्रै छ,’ स्रोतले भन्यो, ‘चौधरी ग्रुपको डिल करिब फाइनल भइसकेको छ । प्रक्रिया पूरा गर्न माबै बाँकी छ ।’

संस्थापक सेयर किनबेच गर्दा पनि राष्ट्र बैंकले फिट एण्ड प्रोपर टेस्ट गरेपछिको योग्य लगानीकर्ताले मात्रै उक्त सेयर किन्न पाउँछन् । र, त्यसका लागि राष्ट्र बैंकले नै स्वीकृति पनि दिनुपर्ने हुन्छ । यसअघिको डिलमा लक्ष्मीबहादुर श्रेष्ठ र जितबहादुर श्रेष्ठको कम्पनी हिमालयन क्यापिटल मार्केट्स एण्ड इन्भेष्टमेन्ट फिट एण्ड प्रोपर टेस्टमा अयोग्य ठहरिएको थियो । तर, त्यसले लगानी गर्ने प्रतिवद्धता गरेको रकमको स्रोत पनि खुल्न सकेको थिएन ।

‘चौधरी ग्रुपसँग मात्रै त्यति ठूलो स्रोत खुलेको रकम छ, त्यसैले यो सेयर अरुले किन्नै सक्दैनन्,’ स्रोतले भन्यो ।


क्लिकमान्डु