चार महिनामा नेपालीले विदेशीसँग किने साढे ११ अर्बको तरकारी



काठमाडौं । चालु आर्थिक वर्षको चार महिनाको अवधिमा नेपालले करिब ११ अर्बको तरकारी आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको चार महिनामा ११ अर्ब ३५ करोड ७८ लाख ४७ हजार रुपैयाँको २८ करोड ३४ लाख १० हजार केजी तरकारी आयात गरेको छ ।

सरकारले सो अवधिमा १ अर्ब २८ करोड ७४ लाख ९० हजार रुपैयाँ राजस्व संकलन गरेको छ । विभागकाअनुसार चालु आर्थिक वर्षको चार महिनाको अवधिमा रकमको आधारमा गत वर्षको सोही अवधिको तुलनामा २९.४४ प्रतिशतले कमी आएको छ ।

गत वर्षको चार महिनाको अवधिमा नेपालले १६ अर्ब ९ करोड ८७ लाख २८ हजार रुपैयाँको ३६ करोड ७३ लाख ८४ हजार रुपैयाँ केजी तरकारी आयात गरेको छ ।

सरकारले यो वर्ष आधारभूत कृषि उत्पादन धान, मकै, गहुँ, तरकारी र फलफूलको आयात न्यूनतम ३० प्रतिशतले कम गर्ने बजेटमार्फत् घोषणा गरेको थियो । साथै, यो वर्ष निर्यात दोब्बर गर्ने, आयात न्यूनतम २० प्रतिशतले घटाउने घोषणामा उल्लेख छ ।

सरकारले उच्च आयातका कारण बजारमा तरलता अभाव भएको भन्दै लामो समयदेखि आयातमा कडाइ गरेको छ । जसले गर्दा गत वर्षको तुलनामा आयात घटेको छ ।

त्यस्तै, यो वर्षको चार महिनाको अवधिमा कृषिजन्य वस्तुको आयात घटेको छ । भन्सार विभागअनुसार चालु आर्थिक वर्षमा भारत सरकारले निर्यातमा कडाइ गर्दा खाद्यान्न आयातमा कमी आएको छ । खाद्यान्नसँगै तरकारी आयातमा पनि कमी आएको छ ।

विभागमा आयात भएको परिणामअनुसार यो वर्ष गत वर्षको तुलनामा २३ प्रतिशतले घटेको छ । सो अवधिमा आलुको आयात ८ प्रतिशतले घटेको छ । गत वर्ष ४ अर्ब ३४ करोड २७ लाख ६५ हजार रुपैयाँको १७ करोड १८ लाख ४६ हजार केजी आयात गरेको थियो । तर, यो वर्ष ३ अर्ब ९९ करोड ५९ लाख ९० हजार रुपैयाँको १५ करोड ६६ लाख ३ हजार केजी आयात गरेको थियो ।

त्यस्तै, गोलभेडाको आयात ५ प्रतिशतले बढेको छ । गत वर्षको १३ करोड ४९ लाख ५६ हजार रुपैयाँ आयात भएकोमा यो वर्षको चार महिनाको अवधिमा १४ करोड ११ लाख १२ हजार रुपैयाँको आयात भएको छ । साथै, प्याजको आयात पनि बढेको छ ।

कुन तरकारी कति आयात ?

भन्सार विभागको तथ्याङ्कअनुसार नेपालले मुख्यगरी सबैभन्दा आलु बढी आयात गरेको देखाउँछ । त्यसपछि प्याज र विभिन्न प्रकारका गेडागुडी, लसुन, च्याउ, केराउ र क्याप्सिकम आदि आयात भएको छ ।

त्यसबाहेक काउली, बन्दा, गाँजरलगायत अन्य तरकारी कम मात्रामा आउने गरेको विभागको तथ्याङ्क छ ।


क्लिकमान्डु