ओलीदेखि प्रचण्डसम्मका यी उम्मेदवार जसले आफैंलाई दिन पाएनन् भोट



काठमाडौं । प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि आज मतदान भइरहेको छ । विहान ७ बजेदेखि शुरु भएको मतदानमा उम्मेदवारसहित सर्वसाधारणले मतदान गरिरहेका छन् ।

कतिपय मतदानस्थलमा विवाद भएका कारण मतदान प्रकृया रोकिएको छ भने केही मतकेन्द्रमा गोली चलेको छ ।

प्रधानमन्त्री, पूर्व प्रधानमन्त्री, मन्त्री, विभिन्न उच्च पदस्थ व्यक्ति कलाकार लगायतले मतदान गरेका छन् ।

तर कतिपय उम्मेदवारहरु भने आफैंलाई मतदान गर्नबाट वञ्चित भएका छन् । आफू उम्मेदवार रहेको क्षेत्रमा मतदाता नामावली नभएका कारण उनीहरुले आफैंलाई मत दिन नपाएका हुन् ।

पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफैंलाई मतदिन पाएनन् । झापा क्षेत्र नं ५ बाट चुनाव लडेका एमाले अध्यक्ष ओलीको मतदाता नामावली भक्तपुरमा रहेकाले ओलीले यस पटक आफैँ मत हाल्न नपाएका हुन् । उनले सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका छन् ।

त्यस्तै पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि आफूलाई मतदिन पाएनन् । उनले भरतपुर १४ बाट मतदान गरेका हुन् । तर उनी गोरखाबाट उम्मेदवार रहेकाले आफैंलाई मतदान गर्न नपाएका हुन् । यसअघि चितवन क्षेत्र नं ३ बाट चुनाव लडेका प्रचण्ड यसपटक गोरखा क्षेत्र नं २ बाट चुनावी प्रतिस्पर्धामा रहेका छन् ।

पूर्व सभामुख एवं काठमाडों क्षेत्र नं २ की प्रतिनिधिसभा उम्मेदवार ओन्सरी घर्ती मगरले पनि आफैँलाई मत हाल्न पाइनन् । घर्तीको मतदाता नामावली रोल्पामा भएका कारण प्रत्यक्षतर्फ उनले आफूलाई मत दिन नपाएकी हुन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नं २ का उम्मेदवार रवि लामिछानेले पनि आफूलाई मत दिन पाएनन् । काठमाडौंमा मतदाता नामावली रहेकाले उनले आफैंलाई मत दिन नपाएका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको निर्वाचन क्षेत्रमा उम्मेदवार बनेका स्वतन्त्र उम्मेदवार सागर ढकालले पनि आफूलाई मत हाल्न नपाएका हुन् । गुल्मीमा मतदाता नामावली भएका कारण उनले डडेल्धु्राबाट आफू उम्मेदवार नभएकाले मत हाल्न नपाएका हुन् ।

यस्तै जसपा अध्यक्ष एवं सप्तरी क्षेत्र नं २ का उम्मेदवार उपेन्द्र यादवको पनि मतदाता नामावली सुनसरीको हुदाँ आफू उठेको निर्वाचन क्षेत्रबाट मत हाल्न पाएनन् ।

लोसपा अध्यक्ष महन्थ ठाकुर पनि आफैँलाई भोट हाल्न नपाउने अर्का उम्मेदवार हुन् । महोत्तरी क्षेत्रनं ३ बाट उठेका ठाकुरको मतदाता नामावली सर्लाहीको रहेकाले उनले पनि आफूलाई मत हाल्न पाएनन् ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवं बाग्लुङ १ का उम्मेदवार चित्रबहादुर केसीले पनि आफूलाई मत दिन नपाएका हुन् । मतदाता नामावली रुपन्देहीमा भएकाले केसीले आफैँलाई मत हाल्न नपाएका हुन् ।

बारा क्षेत्र नं ४ बाट उम्मेदवार रहेका एकीकृत समाजवादी पार्टीका उम्मेदवार कृष्णकुमार श्रेष्ठले पनि आफूलाई मत दिन पाएनन् । तनहुँमा मतदाता नामावली भएका कारण उनले आफूलाई नै मत दिन नपाएका हुन् ।

त्यस्तै सिन्धुपाल्चोक क्षेत्र नम्बर २ मा कांग्रेसबाट उम्मेदवार रहेका मोहनबहादुर बस्नेतले पनि आफूलाई मत दिन पाएनन् ।
उनको मतदाता नामवली सिन्धुपाल्चोक–१ को बाह्रविसे नगरपालिका–४ मा रहेका कारण क्षेत्र नम्बर २ मा आफैंलाई मत दिन नपाएका हुन् ।

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा गठबन्धनबाट उम्मेदवार रहेका नेकपा (एकीकृत समाजवादी)का विरोध खतिवडाले पनि आफूलाई मत दिन नपाएका हुन् । हेटौँडा उपमहानगरपालिका–४ का मतदाता खतिवडा भने २ नम्बर क्षेत्रबाट उम्मेदवार बनेका कारण मत दनि नपाएका हुन् ।

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पनि आफूलाई मत दिन पाएनन् । मोरङ-६ मा उम्मेदवार रहेका उनको नामावली भने मोरङ-४ मा छ ।

नेपाली कांग्रेसका पूर्व महामन्त्री कृष्णप्रसाद सिटौलाले पनि आफूलाई मत दिन पाएनन् । झापा-३ बाट उम्मेदवार रहेका सिटौलोको मतदाता नामावली भने झापा-१ मा भएकाले उनले आफैंलाई मत दिन नपाएका हुन् ।

काठमाडौं क्षेत्र नम्बर ५ बाट कांग्रेसका उम्मेदवार रहेका प्रदीप पौडेलले पनि आफूलाई मत दिन पाएनन् । उनको मतदाता नामावली तनहुँ-२ मा छ ।

एमाले नेता अग्नि खरेलले पनि आफूलाई मत दिन पाएनन् । झापा-१ मा उम्मेदवार रहेका उनको नामावली भने झापा-२ मा रहेको छ ।

निर्वाचन आयोगका अनुसार निर्वाचनमा एक करोड ७९ लाख ८८ हजार पाँच सय ७० मतदातालाई मताधिकार छ । निर्वाचनका लागि १० हजार आठ सय ९२ मतदानस्थलमा रहेका २२ हजार दुई सय २७ मतदान केन्द्र कायम गरिएको छ । मतदान अपराह्न ५ बजेसम्म चल्ने आयोगले जनाएको छ ।


क्लिकमान्डु