निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा ३१.२७%, प्रथम त्रैमासमा ३३८ करोड संकलन



काठमाडौं । निर्जीवन बीमा व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा उच्च देखिएको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको चालु आवको प्रथम त्रैमासिक तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीमा मोटर बीमाको हिस्सा धेरै देखिएको हो ।

प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार निर्जीवन बीमा व्यवसायमा मोटर बीमाले ३१.२७ प्रतिशत हिस्सा ओगटेको छ ।

सञ्चालनमा रहेका १९ निर्जीवन बीमा कम्पनीहरुले चालु आवको असोज मसान्त अर्थात पहिलो त्रैमासको अवधिमा १० अर्ब ८४ करोड २४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । प्राधिकरणकाअनुसार यस अवधिमा कम्पनीहरुले मोटर बीमाबाट ३ अर्ब ३८ करोड ९९ लाख रुपैयाँ संकलन गरेको प्राधिकरणले जनाएको छ ।

सवारी दुर्घटनाबाट हुने नोक्सानीका कारण कुनै अर्को पक्षलाई आर्थिक समस्या नपुगोस् भनेर सरकारले मोटर बीमालाई अनिवार्य लागू गरेको छ ।

सरकारको निर्देशनअनुसार प्रत्येक सवारीधनीले आफ्नो सवारीसाधनको बीमा गर्नुपर्ने भएकाले यसको अंश अन्य बीमाको तुलनामा बढी भएको हो ।

निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमा, सामुन्द्रिक बीमा, हवाई बीमा, अग्नि बीमा, मोटर बीमा, इन्ञ्जिनियरिङ तथा ठेगेदार सम्पूर्ण जोखिम बीमा, विविध बीमा, कृषि तथा बाली बीमा र लघु बीमा व्यवसाय गर्दै आएका छन् ।

मोटर बीमा पछि निर्जीवन बीमा कम्पनीहरूले सम्पत्ति बीमाबाट २ अर्ब ३५ करोड ७२ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । यो निर्जीवन बीमा कम्पनीहरूले संकलन गरेको कुल बीमाशुल्कको १७.५३ प्रतिशत हुन आउँछ ।

यस्तै, निर्जीवन बीमा कम्पनीले संकलन गरेको कुल बीमाशुल्कमा इञ्जिनियरिङ्ग बीमाको हिस्सा १७.५३ प्रतिशत, विविध बीमाको हिस्सा १३.०२ प्रतिशत, सामून्द्रिक बीमाको हिस्सा ५.८७ प्रतिशत, हवाई बीमाको हिस्सा ५.२६ र कृषि तथा बाली बीमाको हिस्सा ५.१२ प्रतिशत रहेको प्राधिकरणले जनाएको छ ।

निर्जीवन बीमा व्यवसायमा लघुबीमाको हिस्सा भने सबैभन्दा कम रहेको छ । चालु आवको पहिलो त्रैमासको अवधिमा निर्जीवन बीमा व्यवसयामा लघुबीमाको हिस्सा ०.१९ प्रतिशत मात्रै रहेको छ । प्रथम त्रैमासमा कम्पनीहरुले लघुबीमाका ९ हजार ४१३ वटा बीमालेख जारी गरी कुल २ करोड ८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

हवाई बीमाबाट कम्पनीहरूले ४७ करोड रुपैयाँ, इन्जिनियरिङ्ग बीमाबाट १ अर्ब ९० करोड १२ लाख रुपैयाँ, विविध बीमाबाट १ अर्ब ४१ करोड ७० लाख रुपैयाँ, कृषि तथा बाली बीमाबाट ५५ करोड ४८ लाख रुपैयाँ र सामुन्द्रिक बीमाबाट ६३ करोड ६५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् ।

यस अवधिमा निर्जीवन बीमा कम्पनीहरुमा सम्पत्ति बीमाका १ लाख ३० हजार २३८, सामुन्द्रिक बीमाका ३७ हजार २५३, हवाई बीमाका ३१, मोटर बीमाका ४ लाख १४ हजार २७५, इञ्जिनियरिङ बीमाका ५ हजार ४४०, विविध बीमाका ४८ हजार २२३, कृषि तथा पशुपन्छी बीमाका ४४ हजार ५९५ र लघु बीमाका ९ हजार ४१३ वटा बीमालेख जारी भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको तथ्यांकअनुसार निर्जीवन बीमा कम्पनीहरुले बागमती प्रदेशबाट ७ अर्ब ३२ करोड २२ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । निर्जीवन बीमा कम्पनीहरुको कुल व्यवसायको ६७.५३ प्रतिशत हो ।

लुम्बिनी प्रदेशमा निर्जीवन बीमा कम्पनीहरुले ९८ करोड ३८ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेका छन् । प्रदेश १ बाट ९१ करोड ३८ लाख रुपैयाँ, मधेश प्रदेशबाट ६५ करोड ७९ लाख रुपैयाँ, गण्डकी प्रदेशबाट ६१ करोड २८ लाख रुपैयाँ, कर्णाली प्रदेशबाट ९ करोड ३७ लाख रुपैयाँ र सुदूरपश्चिम प्रदेशबाट २५ करोड ८० लाख रुपैयाँ संकलन भएको प्राधिकणले जनाएको छ ।


क्लिकमान्डु