‘ओपेक प्लस’को निर्णयले विश्वभर तेलको मूल्य बढ्न सक्ने



एजेन्सी । रुस-युक्रेन युद्धको कारण विश्वभरमा कुन देशले कसको तेल र ग्यास खरिद गर्ने छ भन्नेमा लगातार बहस भइरहेको छ । विभिन्न देशहरुले युक्रेन र रुसमध्ये कुन देशको साथ दिने भन्ने विषयलाई राजनीतिक मुद्दाको रुप दिँदै यसलाई इन्धनको खरिदबिक्रीसँग पनि जोडिरहेका छन् ।

यस्तोमा रुस-युक्रेन युद्धका कारण विश्वभरको ऊर्जा प्रणालीमा निकै ठूलो असर परिरहेको छ । जसकारण इन्धनको वितरणमा पनि समस्या आइरहेको छ भने यसको माग पनि बढिरहेको छ । विश्वभर नै इन्धनहरुको मूल्य बढिरहेको छ । जसले गर्दा उपभोक्ता र व्यापारलाई असर गर्ने मात्रै नभएर कयौं देशको अर्थव्यवस्थाहरुलाई पनि असर परिरहेको छ ।

यस्तोमा विश्वभरका तेल निर्यात गर्ने देशहरुको समूह ‘ओपेक प्लस’ले यस्तो फैसला गरेको छ, जसले संसारमा तेल तथा इन्धनको मूल्यलाई थप तीव्र रुपमा उच्च बनाउन सक्ने देखिएको छ । ओपेकमा सदस्य रहेका १३ देश र ‘प्लस’ समूहमा रहेका १० देश मिलेर बनेको ओपेक प्लसले प्रतिदिन २० लाख ब्यारल तेलको उत्पादन घटाउने फैसला गरेको छ ।

तेलको उत्पादनमा कम हुने बित्तिकै विश्वभर इन्धनको उपलब्धतामा कमि हुने र उपलब्ध भएमा पनि मूल्य उच्च हुनसक्ने अनुमान गरिएको छ । यसको प्रत्यक्ष प्रभाव तेलको उत्पादन हुने मुलुकबाट दोस्रो देशमा आयात भएको तेललाई खरिद गर्ने नेपालजस्ता देशहरुमा पनि पर्ने देखिएको छ ।

ओपेकमा ‘प्लस’ देशहरुको समूहको नेतृत्व रुसले गरिरहेको छ । जसकारण यस्तो फैसला हुनुमा अमेरिकाले रुसले आफ्ना एजेण्डाहरुलाई अघि सारेको तर्क दिइरहेको छ ।

नोमेम्बरमा ओपेक प्लस समूहले तेलको उत्पादन घटाउने बताएको छ । ओपेक देशहरुमा साउदी अरबको दबदबा छ । हालसम्मको अवस्थामा साउदीका राजकुमार मोहम्मद बिन–सलमान र रुसका राष्ट्रपति पुनित एक साथ देखिएका छन् । दुबै ओपेक प्लसमा भएको निर्णय र तेलको उत्पादन घटाउने कुरामा सहमत देखिएका छन् ।

यो अवस्थालाई अमेरिकाका लागि ठूलो समस्याको रुपमा पनि हेरिएको छ । अमेरिकाले साउदी अरबलाई रुस र पुटिनको सहमतीमा नगई तेलको उत्पादन बढाउन कैयौं पटक आग्रह पनि गरिसकेको छ । यही क्रममा अमेरिकी राष्ट्रपति जो बाइडनले साउदी अरबको भ्रमण पनि गरेका थिए ।

भारतले जहाँबाट उपलब्ध हुन्छ, त्यहँबाट इन्धन ल्याउने

रुस र युक्रेन युद्धका बीच इन्धनको उत्पादन घटाउने विषयमा निर्णय भइरहँदा नेपालले इन्धन आयात गर्ने भारतले जुन देशबाट इन्धन उपलब्ध हुन्छ, त्यहबाट खरिद गर्ने बताएको छ ।

भारतको केन्द्रीय तेल तथा प्राकृतिक ग्यास मन्त्री हरदिप सिंह पुरीले शुक्रबार बताएअनुसार भारत सरकारको नैतिक जिम्मेवारी भारतका नागरिकहरुलाई उर्जा र इन्धन उपलब्ध गराउनु भएकाले जुन देशबाट इन्धन उपलब्ध हुन्छ, त्यहीँबाट किन्ने बताएका छन् । पुरीले कुनै पनि तेल उत्पादक देशले आफ्नो उत्पादनको विषयमा स्वतन्त्र रुपमा फैसला गर्न पाउने अवस्थामा भारतले पनि तेल खरिदको विषयमा स्वतन्त्र र आफ्नो हितका लागि फैसला गर्न पाउने बताएका छन् ।

रुस-युक्रेनबीचको युद्धका कारण अमेरिका र युरोपले रुसमाथि थुप्रै प्रतिबन्ध लगाएका छन् । सँगै अन्य देशहरुले पनि रुससँगको तेलको व्यापारलाई कम गरुन भन्ने अमेरिका र युरोपको चाहना पनि छ । तर, भारतले अप्रिलयता रुससँगको तेलको व्यापारलाई ५० प्रतिशत बढाएको छ । भारतले आयात गर्ने तेलको १० प्रतिशत रुसबाट आयात गरिरहेको छ । युक्रेन र रुस युद्धअघि भारतले रुसबाट केल ०.२ प्रतिशत तेल आयात गर्ने गरेको थियो ।

तर, विश्वभरमा युद्धको प्रभाव र त्यसको राजनीतिकरणका कारण भइरहेको असरका कारण भारतले हाल जुन देशबाट तेल उपलब्ध हुन्छ, त्यहिँबाट खरिद गर्ने बताएको छ । कच्चा तेल आयात गरेर त्यसलाई भारतले बिक्री गर्ने गरेको छ । भारतको केन्द्रीय तेल तथा प्राकृतिक ग्यासमन्त्री पुरीले भनेका छन्, ‘जहाँबाट उलब्ध हुन्छ, त्यहाँबाट हामी तेल किन्नेछौं । यसको सामान्य कारण जनतालाई ऊर्जा र इन्धन चाहिन्छ । सरकारको कर्तव्य इन्धन उपलब्ध गराउनु हो ।’

भारतले अहिले ५० लाख ब्यारल तेल दैनिक उपभोग गरिरहेको छ भने यो मात्रा बढ्दै पनि गइरहेको छ । भारतबाटै नेपालमा पनि तेल निर्यात हुने गरेको छ । यस्तो अवस्थामा भारत सरकारले रुसबाट तेल खरिद गर्नुलाई विभिन्न गलत टिकाटिप्पणीका साथ पनि हेरिएको छ । तर, भारतीय मन्त्री पुरीले भने उपभोक्ता र जनताका लागि उर्जाको उपलब्धता गराउनु राष्ट्रको नैतिक जिम्मेवारी भएकाले सो जिम्मेवारी जुन सुकै रुपमा पनि पुरा गरिनुपर्ने बताएका छन् ।

‘ओपेक प्लस’को निर्णयले कस्तो प्रभाव पर्ला ?

तेल उत्पादक देशहरुको समूह ओपेक प्लसले हाल २० लाख ब्यारल तेल उत्पादनलाई कम गर्ने घोषणा गरेको छ । यसको असर विश्वभरका थुप्रै देशहरुलाई पर्ने देखिएको छ ।

भारतका मन्त्री पुरीले त्यहाँको सरकार यो निर्णयसँग कसरी जुँध्ने र तयारी कसरी गर्ने भन्नेमा लागेको बताएका थिए । उनकाअनुसार तेलको उत्पादन कम हुन साथै मूल्यमा पनि प्रभाव पर्ने छ । जसकारण उर्जा सुरक्षा र तेल किन्न सक्ने सामथ्र्यको विषय पनि जोडिन पुग्छ ।

भारत विगतमा पनि इन्धनमा उच्च मूल्यबृद्धि हुँदा त्यसलाई सम्हाल्न सक्ने अवस्थामा थियो भने हाल पनि त्यो अवस्था भएको पुरीले बताएका छन् । तर, नेपालजस्ता देशहरुमा भने इन्धनको उत्पादन कम हुनु र मूल्य उच्च हुनुले उर्जा सुरक्षामा प्रत्यक्ष प्रभाव पर्ने देखिन्छ ।

त्यसो त, हाल विश्वभरका सबैभन्दा ठूलो अर्थव्यवस्था भएका देशहरुको समूह ‘जि सेभेन’ले रुसको तेलको मूल्यमा ‘प्राइस क्याप’ लगाएर इन्धनको मूल्य सस्तो बनाउन खोजिरहेको छ । यो फैसला गत सेप्टेम्बरमा लिइएको थियो र यसलाई डिसेम्बरबाट लागु गर्ने बताइएको छ ।

यस्तोमा विश्लेषकहरुले निरन्तर तेलको उत्पादन कम हुने र मूल्य बढ्दै जाने हो भने केही महिनामा नै विभिन्न देशको विदेशी मुद्रा भण्डारणमा दबाब पर्न सक्ने अनुमान गरेका छन् ।


क्लिकमान्डु