नदी किनारमा फालिन्छ शहरी क्षेत्रमा उत्पादन हुने ३० प्रतिशत फोहोर



काठमाडौं । नेपालका शहरी क्षेत्रमा उत्पादन हुने फोहोरमैलामध्ये ३० प्रतिशत नदी किनारमा बिर्सजन हुने गरेको पाइएको छ । केन्द्रीय तथ्यांक विभागको एक रिपोर्टमा देशभरका शहरी क्षेत्रमा उत्पादन हुने फोहोरमैलामध्ये ३० प्रतिशत नदी किनारमा फ्याँकिने गरेको पाइएको उल्लेख गरिएको छ ।

विभागले सार्वजनिक गरेको फोहोरमैलासम्बन्धी प्रतिवेदनमा उल्लेख भएअनुसार देशभर उत्पादन हुने १० लाख टन फोहोरमध्ये ३ लाख १५ हजार ६९ टन फोहोर नदी किनारमा बिसर्जन हुने गरेको छ । यसमध्ये १ लाख टन फोहोर देशभरमा रहेका ६ महानगरपालिकामा मात्रै उत्पादन हुने गरेको छ ।

त्यस्तै, देशभरका ११ उपमहानगरपालिकामा ८८ हजार टन फोहोर उत्पादन हुने गरेको छ भने २७६ नगरपालिकामा वार्षिक ७ लाख ४६ हजार टन फोहोर उत्पादन हुने गरेको प्रतिवेदनमा उल्लेख छ ।

देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकामा गरि कुल ९ लाख ९७ हजार ९३६ टन फोहोर उत्पादन हुने गरेको छ । यसमध्ये ३ लाख ८७ हजार टन फोहोर जैविक फोहोर रहेको छ भने बाँकी फोहोर त्यसभन्दा बाहेक रहेको छ ।

शहरी क्षेत्रमा उत्पादन हुने यो मात्राको फोहोरमध्ये ३० प्रतिशत अर्थात ४ लाख १५ जार टन फोहोर नदी किनार तथा बगरमा बिर्सजन गर्ने गरिएको प्रतिवेदनमा उल्लेख छ ।

शहरी क्षेत्रमा उत्पादन भएका फोहोरहरुमध्ये ३ लाख ८९ हजार टन फोहोर मात्रै ल्याण्डफिल्ड क्षेत्रमा पुग्ने गरेको प्रतिवेदनमा जनाइएको छ । त्यस्तै, कुल फोहोरको उत्पादनमध्ये ८ हजार ६९० टन फोहोरलाई मात्रै रिसाइकल गर्ने गरिएको छ । २२ हजार टन फोहोरलाई जलाउने गरिएको प्रतिवेदनमा उल्लेख छ । त्यस्तै, २ लाख ६२ हजार टन फोहोरलाई कुन रुपमा व्यवस्थापन गरिन्छ भने नखुलेको प्रतिवेदनमा उल्लेख छ ।

शहरी क्षेत्रमा उत्पादन हुने फोहोरमध्ये सबैभन्दा धेरै घरबाट (३ लाख ८६ हजार टन) रहेको छ । त्यस्तै, शहरी क्षेत्रमा रहेका व्यापारिक भवनबाट २ लाख ४५ हजार टन, शैक्षिक संस्थाबाट १ लाख ३ हजार टन, उद्योगबाट ९४ हजार टन , स्वास्थ्य क्षेत्रबाट १ लाख १ हजार टन र अन्य क्षेत्रबाट ६६ हजार टन फोहोर उत्पादन हुने गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।


क्लिकमान्डु