निगमको विदेश सरुवामा भाँडभैलो, अन्याय भएको भन्दै कर्मचारीद्वारा पर्यटन मन्त्रालयमा उजुरी



काठमाडौं । नेपाल वायु सेवा निगमले विदेशका कार्यालयमा गरेको कर्मचारी सरुवा विवादित बनेको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आर्थिक चलखेल गरी कनिष्ट कर्मचारीलाई विदेशका कार्यालयमा कन्ट्री म्यानेजर बनाएको भन्दै संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा उजुरी परेको छ ।

निगमको कर्मचारी छनोट प्रक्रिया पारदर्शी नभएको आरोप लगाउँदै निगमका कर्मचारीले मन्त्रालयमा उजुरी गरेकै अवस्थामा बिहीबार कर्मचारीको सरुवा सम्बन्धी सूची सार्वजनिक गरिएको छ ।

‘कार्यकारी अध्यक्षले क्षमतावान र योग्य कर्मचारीलाई पाखा लगाउँदै उहाँको चाकडी गर्ने र पैसा बुझाउने व्यक्तिलाई मात्रै विदेशमा सरुवा गर्नु भएको छ,’ निगमका एक कर्मचारीले भने,‘सिनियर कर्मचारीलाई पन्छाएर गरिएको यो सरुवा निगमको हितमा छैन ।’

निगमका एक अर्का कर्मचारीले अनुसार कार्यकारी अध्यक्षले संस्थाप्रति बफादार कर्मचारी भन्दा आफ्नो चाकडी गर्ने र राजनीतिक पहुँच भएका व्यक्तिलाई विदेशका कार्यालयमा पठाएको आरोप लगाए ।

‘यदी उहाँहरु हामी भन्दा क्षमतावान भएको भए चित्त बुझाउने ठाउँ हुन्थ्यो’ ति कर्मचारीले भने,‘अंग्रेजी भाषाको सामान्य ज्ञानसमेत नभएका व्यक्तिलाई विदेशमा कन्ट्री म्यानेजर बनाइएको छ । यस्तो निर्णयले निगमको शाख घटाउने काम गरेको छ ।’

२०१९ मा दुई वर्षका लागि विभिन्न देशमा कन्ट्री म्यानेजर खटाएको निगमले त्यसपछि कर्मचारीको सरुवा गर्न सकेको थिएन ।

सन् २०२१ को डिसेम्बरभन्दा अगाडि हुनु पर्ने सरुवा आन्तरिक भागबण्डा नमिल्दा रोकिएको थियो ।

बिहीबार निगमका कार्यकारी अध्यक्ष अधिकारी, वाणिज्य विभागका निर्देशक जनकराज कालाखेति, मानव संशाधन विभाग निर्देशक अशोक सिग्देल र वित्त विभागकी निर्देशक अनिशा खड्का सम्मिलित कर्मचारी छनोट समितिले कतार, मलेसिया, भारतको नयाँ दिल्ली, साउदी अरब, हङकङ र दुबईमा कन्ट्री म्यानेजर सरुवा गरेको हो ।

समितिका एक अधिकारीले कार्यविधि अनुसार नै आफूहरुले काम गरेको दाबी गरे ।

‘नेपाल वायु सेवा निगमका कर्मचारीको सेवा शर्त सम्बन्धी विनियमावली २०५८ अनुसार बनेको नेपाल वायु सेवा निगमका कर्मचारीको विदेशस्थित कार्यालयमा सरुवा सम्बन्धी कार्यविधि २०७६ मा भएको व्यवस्था अनुसार विदेशका कार्यलयमा कर्मचारी सरुवा गरिएको हो,’ ति अधिकारीले भने, ‘हामीले कर्मचारीको जेष्ठता, शैक्षिक योग्यता, कार्य सम्पादन मूल्यांकन तथा अन्तर्वार्तामा उच्च अकं प्राप्त गरेका व्यक्तिलाई विदेशका कार्यालयमा सरुवा गरेका हौं । कम नम्बर आएर छनोट नभएका कर्मचारीले अन्याय भयो भन्नु सामान्य हो । ’

ति अधिकारीले नियमअनुसार कर्मचारी छनोट गरेको दाबी गरे पनि व्यवहारमा भने त्यस्तो देखिएको छैन ।

निगमको कार्यकारी अध्यक्ष अधिकारीको सचिवालयमा काम गरेका सातौं तहका अधिकृत ज्ञानबहादुर अर्याललाई दोहोको म्यानेजर बनाइएको छ । निगममा अर्यालभन्दा सिनियर कर्मचारी हुँदासमेत अध्यक्षसँग निकट भएकाले उनलाई कतारमा लगिएको असन्तुष्ट कर्मचारीको आरोप छ ।

यस्तै, नेपाली कांग्रेस निकट रहेको नेपाल वायुसेवा कर्मचारी संघको महासचिव नेत्रराज राउतलाई मलेसियाको क्वालालम्पुर लगिएको छ । निगमका असन्तुष्ट कर्मचारीले राउतलाई सामान्य अंग्रेजीसमेत बोल्न नआउने र काम गर्नेसमेत ढंग नभएको आरोप लगाएका छन् । राउत निगमका सातौं तहको सिनियर कर्मचारी हुन् ।

माओवादी निकट रहेको कर्मचारी संगठनका सैलेन्द्र साहलाई भारतको नयाँ दिल्ली लगिएको छ । साह सातौं तहका सिनियर कर्मचारी भए पनि काम गर्ने ढंग नभएको र अंग्रेजी पनि बोल्न नजान्ने निगमका कर्मचारीको आरोप छ ।

सातौं तहमा जुनियर कर्मचारी कबिर खनाललाई साउदी अरेबियाको रियादमा सरुवा गरिएको छ । काम गर्ने क्षमता भएका खनाललाई नेकपा एमाले निकट रहेका नेपाल वायु सेवा निगम कर्मचारी युनियनको प्रभावमा विदेश सरुवा गरिएको असन्तुष्ट पक्षको आरोप छ ।

खनाल निगमभित्र एभियसन इन्स्योरेन्सको विषयमा राम्रो ज्ञान भएको अधिकृतको रुपमा समेत चिनिने गर्छन् ।

समितिले सातौं तहका अरबिन्द प्रजापतिलाई हङकङको जिम्मेवारी दिइएको छ । हङकङमा टिकट बिक्रीका लागि जनरल सेल्स एजेण्ट नभएको र व्यवसायीको धेरै आवातजावत हुने गन्तव्य भएकाले ब्यागेजमा समेत लाभ लिन सक्ने भएकाले निगमका धेरै कर्मचारीको प्राथमिकता हङकङमा हुने गर्छ ।

प्रजापतिलाई हङकङ सरुवा गराउन निगमको छटौं तहका कर्मचारी विजयकुमार अधिकारीले लगानी गरेको स्रोतहरुको दाबी छ । अधिकारी काठमाडौं विमानस्थलमा काम गर्दा अनियमिता गरेको आरोप लागेपछि निलम्बनमा समेत परेका थिए । तर, पछि निगमको आन्तरिक छानबिन समितिले अधिकारीलाई सफाइ दिएको थियो ।

निगमका विवादित कर्मचारी अधिकारीको समेत हङकङमा सरुवा भएको छ ।

निगमको सातैं तहकी जुनियर अधिकृत अस्मिता सुवेदीलाई दुबई सरुवा गरिएको छ । सुवेदीमा काम गर्न सक्ने क्षमता भए पनि उनिभन्दा वरिष्ठ कर्मचारीलाई पन्छाएर प्रशासनिक दबावमा दुबई सरुवा गरिएको असन्तुष्ट कर्मचारीको आरोप छ ।

यस्तै जापानको नारित सरुवा भएका सातौं तहका तुलसीराम थापा एकीकृत समाजवादी निटक नेपाल वायुसेवा निगम स्वतन्त्र कर्मचारी युनियनका पदाधिकारी हुन् । अंग्रेजी र जापनिज भाषाको सामान्य ज्ञान नभएका थापाले जापानमा निगमको शाख बढाउन काम गर्न नसक्ने उनीहरुको आरोप छ ।

यस्तै, साउदीअरबको रियादमा जयन्त मोक्तानलाई एकीकृत समाजवादीका नेता झलनाथ खनालको दबावमा सरुवा गरिएको असन्तुष्ट पक्षको आरोप छ । मोक्तान सातौं तहका जुनियर अधिकृत हुन् ।

निगमले लेखा प्रबन्धक सरुवा गर्दा भने सिनियर कर्मचारीलाई जिम्मेवारी दिइएको छ । लेखा प्रबन्धनमा दिल्लीमा प्रितमप्रसाद प्रधान, जापानको नारितामा नविन कुमार तिमल्सिना हङकङमा सुनिल कुमार श्रेष्ठ र साउदीको रियादमा मिलन कार्कीलाई सरुवा गरिएको छ ।

‘लेखा प्रबन्धकमा नविन कुमारले पनि जिम्मेवारी पाउनु पर्ने थियो, उनी पनि सिनियर हुन्,’ निगमका एक कर्मचारीले भने,‘अब सायद उनलाई मुम्बई स्टेशनमा पठाउने योजना पनि हुन सक्छ । लेखामा सरुवा भएका सबै कर्मचारी सिनियर नै छन् ।’

यस्तै, मलेसिया सरुवा भएका छटौं तहका सुरेशप्रसाद यादव पनि वरिष्ठ कर्मचारी हुन् ।

निगमले यसपटक कर्मचारी सरुवा गर्दा विजयकुमार अधिकारी हाबी भएका निगमका कर्मचारीको आरोप छ । ‘यो पटकको सरुवा लिस्ट विजयजीले नै फाइनल गरेको चर्चा छ,’ निगमका एक अधिकारीले भने,‘कार्यकारी अध्यक्षमाथि चलिरहेको मुद्दा प्रक्रियामा पनि विजयले सहयोग गरेको कुरा सुनिन्छ । पछिल्लो घटनाक्रमले विजय र कार्यकारी अध्यक्ष निकट रहेको पुष्टि गरेको छ ।’

समितिले कर्मचारी संघ निकट रहेका कमलप्रकाश पौडेललाई दुबई र यज्ञप्रकाश भट्टलाई कतारमा सरुवा गरेको छ ।

निगमका एक कर्मचारी पद्धतीमा चल्नु पर्ने संस्था व्यक्तिगत आग्रह पूर्वाग्रहमा चलेको बताउँछन् ।

‘पावर भएका व्यक्तिले मात्रै राम्रो अवसर पाउने प्रणाली हुनु भएन्,’ निगमका एक निर्देशकले भने,‘ राम्रोसँग बोल्न नजान्ने र कार्य सम्पादन गर्न नसक्ने व्यक्तिलाई विदेश पठाइएको छ । त्यसले आर्थिक हानी नोक्सानीको साथैं संस्थाको इमेज पनि खराब हुन्छ।’


शरद ओझा