टीभीएस बेच्ने जगदम्बा मोटर्सले एकै वर्ष गर्‍यो साढे १३ अर्बको व्यापार, कारको हिस्सा ३ प्रतिशत



काठमाडौं । टीभीएस मोटरको नेपालको लागि आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रालिले एकै वर्ष साढे १३ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा १३ अर्ब ६२ करोड रुपैयाँ (अपरिष्कृत) को व्यापार गरेको हो ।

सन् २०१० बाट नेपालमा टीभीएस ब्रान्डको सवारी साधन बिक्री वितरण गर्दै आएको कम्पनीले सन् २०१५ देखि प्रोटोन कार पनि बिक्री गर्दै आएको छ ।

शंकर ग्रुपद्वारा सञ्चालित यस कम्पनीले सन् २०२१ मा १३ अर्ब १३ करोड ५० लाख रुपैयाँ र सन् २०२० मा ६ अर्ब ६५ करोड ९० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधन आयात गरी बिक्री वितरण गर्दै आएको छ । साथै, कम्पनीले विभिन्न सवारी साधनको पार्टपूर्जा तथा सेवाहरु प्रदान गर्दै आएको छ ।

टीभीएस मोटर्स कम्पनी लिमटिेडले उत्पादन गरेको तीन पाङ्ग्रे र दुई पाङ्ग्रे सवारी साधन आायात गरी बिक्री वितरण गर्दै आएको कम्पनी चीनमा उत्पादन हुने प्रोटोन कारको आधिकारिब विक्रेता पनि हो । साथै, एडीएनओसीको लुब्रिक्यान्ट पनि आयात गरी बिक्री वितरण गर्दै आएको छ ।

नपाली बजारमा कम्पनीको दुई पाङ्ग्रे सवारीको हिस्सा २० प्रतिशत छ भने तीन पाङ्ग्रे सवारी साधनको हिस्सा ३० प्रतिशत छ ।

कम्पनीले विशेषगरी १००सीसी देखि ३१० सीसीको मोटरसाइकल, ११०सीसी र १२५ सीसीको स्कुटर र तीन पाङ्ग्रे सवारी साधन बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले नेपाली बजारमा दुई पाङ्ग्रे र तीन पाङ्ग्रे सवारी साधन ‘टीभीएस’ ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ भने चार पाङ्ग्रे सवारी साधन ‘प्रोटोन’ ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

देशभर १४१ डिलर रहेको कम्पनीमा साहिल अग्रवालको स्वामित्व छ । कम्पनीअनुसार सन् २०२२ मा ४ प्रतिशतले आम्दानी बढेको जनाएको छ । सन् २०२२ मा टीभीएस एनटीओक्यूआर १२५ सीसीबाट उच्च व्यापार गरेको छ ।

कोभिड–१९ ले गर्दा सार्वजनिक यातायातमा यात्रा गर्दा संक्रमण बढ्ने जोखिम बढेसँगै अधिकांशले सवारी साधन खरिद गरेका थिए । जसले गर्दा सन् २०२२ मा दुई पाङ्ग्रे सवारी साधनको उच्च व्यापार भएको कम्पनीले जनाएको छ ।

त्यसैगरी, सरकारले सन् २०२२ को डिसेम्बरबाट पेट्रोलबाट चल्ने दुई पाङ्ग्रे सवारी साधन आयात गर्दा ५० प्रतिशत मार्जिनको व्यवस्था गरेको थियो । त्यसैगरी, सरकारले वैशाखदेखि असोज ३१ गतेसम्मका लागि १५० सीसीभन्दा माथिका एयूभी, कार, भ्यान आयात गर्न प्रतिबन्ध लगाएको छ । तर, १५०सीसीभन्दा कम आयातमा कुनै प्रतिबन्ध नभएकाले कम्पनीलाई कुनै असर नपर्ने कम्पनीको भनाइ छ ।

त्यस्तै, कम्पनीले बेच्ने चार पाङ्ग्रे सवारी साधन आयातमा भने असर देखिएको छ । कम्पनीले सन् २०२२ मा आम्दानी गरेकोमा ३ प्रतिशत हिस्सा चार पाङ्ग्रे सवारी साधनबाट भएको जनाएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५ अर्ब २० करोड रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ४२ करोड ६३ लाख रुपैयाँ अर्थात् ट्रीपल बी र अल्पकालीन कर्जाका लागि ४ अर्ब ७७ करोड ३६ लाख अर्थात् एटु रेटिङ पाएको छ ।


क्लिकमान्डु