निर्वाचन नजिकिएसँगै केराउ, सुपारी र मरिचको आयात खुला




काठमाडौं । सरकारले केराउ, सुपारी र कालो मरिच आयात खुला गरेको छ । विगतदेखि तस्करी हुने आशंका गरिँदै आएको सुपारी, केराउ र कालो मरिचको आयात निर्वाचन नजिकिए सँगै खुल्ला भएको हो ।

विभिन्न व्यवसायीले तेस्रो मुलुकबाट सुपारी, केराउ र कालोमरिच आयात गरेर भारतमा तस्करी गर्ने गरेको आरोप लाग्दै आएको छ । यस्तै, सुपारी,केराउ र मरिच तस्करीमा संलग्न व्यक्तिबाट राजनीतिक नेतृत्वले समेत लाभ लिने गरेको आरोप छ ।

कोरोना महामारीको क्रममा २०७६ साल चैत २४ सरकारले राजपत्रमा सूचना प्रकाशित गरेर सुपारी, मरिच र केराउको आयातम प्रतिबन्ध लगाएको थियो ।

त्यसअघी जुन सुकै कम्पनीले सुपारी, मरिच र केराउ आयात गर्न पाउने व्यवस्था थियो ।

उद्योगी र व्यवसायीको दवावमा सरकारले गत फागुन २६ गते औद्योगिक प्रयोजनका २०७९ असार मसान्ससम्म सुपारी मरिच र केराउको आयात खुल्ला गर्ने निर्णय गरेको थियो ।

तर, गत साउन १ देखि सुपारी, मरिच आयात विषयमा केही निर्णय नहुँदा २०७६ चैत २४ गते लगाइएको आयात प्रतिबन्ध निरन्तरता पायो ।

जसले गर्दा उद्योगले औद्योगिक प्रयोजनका लागि समेत केराउ, सुपारी र मरिच आयात गर्न नपाएको भन्दै सरकारले आयात खुल्ला गरेको हो ।

सरकारले औद्योगिक प्रयोजनका लागि मात्र कच्चा पदार्थको रुपमा केराउ (एचएस कोड ०७१३.१०.००), सुपारी (एचएस कोड ०८०२.८०.००) र कालो मरिच (एचएस कोड ०९०४.११.३०) को आयात गरेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले राजपत्रमा प्रकाशित गर्दै पैठरीमा बन्देज लगाएकोमा औद्योगिक प्रयोजनका लागि खुल्ला गरेको जनाएको छ ।
‘नेपाल सरकारले निकासी पैठरी (नियन्त्रण) ऐन, २०१३ को दफा ३ को उपदफा (१) बमोजिम वस्तु पैठरीमा बन्देज लगाई खण्ड ६९, संख्या ५२, २०७६ चैत २४ को नेपाल राजपत्र भाग ५ मा सूचना पकाशन गरेकोमा सोही दफाको उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी ‘उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनको लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठरीलाई व्यवस्थित गर्ने सम्बन्धी कार्यविधि २०७८’ को प्रक्रिया पूरा गरी आयात खुल्ला गरेको छ,’ राजपत्रमा उल्लेख छ ।

कार्यविधिअनुसार सम्बन्धित उद्योगले उद्योग विभागको सिफारिसमा वाणिज्य आपूर्ति तथा संरक्षण विभागबाट अनुमति लिएर चालु आर्थिक वर्षको असारसम्ममा केराउ, सुपारी र मरिच औद्योगिक प्रयोजनका लागि आयात गर्न सक्नेछन् ।


अरिष्मा मोक्तान