साढे १ अर्ब बढी लगानीमा जनकपुर एग्रो फार्म खुल्दै



काठमाडौं । धनुषामा साढे १ अर्ब बढी लगानीमा जनकपुर एग्रो प्रालि खुल्ने भएको छ । कम्पनीले १ अर्ब ६२ करोड ३३ लाख रुपैयाँ लगानीमा पोल्ट्री फार्मसँगै जैविक मल प्लान्ट र सीएनजी बायोग्यास प्लान्ट सञ्चालनमा ल्याउने भएको हो ।

कम्पनी निर्माणका लागि कम्पनीले १ अर्ब १३ करोड ६३ लाख रुपैयाँ ऋण लिएको जनाएको छ । कम्पनीअनुसार सन् २०२२ को जुन मध्यसम्ममा कम्पनीको भौतिक प्रगति ६० प्रतिशत भएको छ भने ४८ प्रतिशत आर्थिक प्रगति भएको छ ।

कम्पनीले सन् २०२३ को अक्टोबरसम्ममा सञ्चालनमा ल्याउने जनाएको छ । विशेषगरी अण्डा, लेयर्स र मल बिक्री वितरण गर्ने गरी उद्योग निर्माण भइरहेको कम्पनीले जनाएको छ ।

खिलुङ कालिका एग्रो प्रालि तथा जनकपुर एग्रोमा पूर्ण स्वामित्व रहेको कम्पनीको खुमाप्रसाद अर्याल अध्यक्ष हुन् भने शोभाकान्त ढकाल व्यवस्थापन निर्देशक हुन् । खिलुङ कालिका एग्रोले विगत ५ वर्षदेखि पोल्ट्रि सम्बन्धी व्यवसाय सञ्चालन गर्दै आएको छ ।

आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षणअनुसार नेपालमा मासुको उत्पादन ५४.६ प्रतिशत अर्थात् ५ लाख ५२ हजार मेट्रिक टन उत्पादन हुन्छ । त्यस्तै, वार्षिक १ अर्ब ४९ करोड वटा अण्डा उत्पादन हुन्छ ।

पछिल्लो समय नेपालमा वार्षिक मासुको उत्पादन ३.५३ प्रतिशतले वृद्धि भएको छ भने सन् २०२२ को ८ महिनाको अवधिमा १ अर्ब ९ करोड अण्डा उत्पादन भएको जनाएको छ ।

सरकारले पोल्ट्रीको संरक्षण तथा आत्मनिर्भर बन्नका लागि विभिन्न देशबाट आयात हुने कुखुराजन्य वस्तुमा प्रतिबन्ध लगाएको छ । जसले गर्दा आयातित पोल्ट्रीमा भर पर्नुपर्ने अवस्था छैन । तर, आयातमा प्रतिबन्ध लगाए पनि बर्ड फ्लूलगायत अन्य विभिन्न समस्याले गर्दा पोल्ट्री क्षेत्रमा धेरै जोखिम रहेको कम्पनीको भनाइ छ ।

जनकपुर एग्रो सन् २०१८ को सेप्टेम्बरबाट कम्पनी निर्माण शुरु भएको थियो ।

कम्पनीले दुईवटा सेडमा प्रत्येक सेडको उत्पादन क्षमता ५१ हजार ८४० वटा कुखुराजन्य वस्तु र ५ वटा लेइङ सेडमा प्रत्येक सेडको १ लाख ८ सय कुखुरा क्षमतामा उत्पादन हुनेछ ।

साथै, कम्पनीले वार्षिक ८ हजार ७२० मेट्रिक टन जैविक मल प्लान्ट ८०० किलोवाटको बायोग्यास सीएनजी प्लान्ट विद्युत उत्पादन क्षमतामा विस्तार गर्ने भएको छ ।

कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १ अर्ब ३९ करोड रुपैयाँको रेटिङ गराएको छ ।

कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब १३ कोड ६३ लाख रुपैयाँ अर्थात् बी प्लस र अल्पकालीन कर्जाका लागि २५ करोड ३६ लाख अर्थात् ए फोर रेटिङ पाएको छ ।


क्लिकमान्डु