अन्तशुल्क र भन्सार दर वृद्धिको प्रभाव: १०० किलोवाट माथिका ६ वटामात्रै विद्युतीय गाडी आयात



काठमाडौं । सरकारले विद्युतीय सवारी साधनमा लगाएको अन्तशुल्क र भन्सार दर वृद्धिले १०० किलोवाटभन्दा माथिका ६ वटा मात्रै सवारी साधन आयात भएका छन् ।

भन्सार विभागको तथ्याङ्कअनुसार साउन महिनामा १०० किलोवाटभन्दा माथिका विद्युतीय जीप, कार र भ्यान ६ वटा मात्रै आयात भएका हुन् ।

चालु आर्थिक वर्षको पहिलो महिनामा नेपालले ६२ करोड १६ लाख ८३ हजार रुपैयाँको २११ वटा विद्युतीय सवारी साधन आयात गरेको छ । त्यसमा २०५ वटा १०० किलोवाटभन्दा कमको सवारी साधन छन् भने १०० किलोवाटदेखि २०० किलोवाटसम्मको ४ वटा र २०० किलोवाटदेखि ३०० किलोवाटसम्मको २ वटा सवारी साधन छन् ।

सो अवधिमा नेपालले भारतबाट १२५ वटा, चीनबाट २८ वटा, दक्षिण कोरियाबाट ४२ वटा र अमेरिकाबाट ४ वटा जीप, कार र भ्यान आयात गरेको छ । उक्त आयातित सवारी साधनबाट नेपालले २१ करोड ६१ लाख ४६ हजार रुपैयाँ भन्सार महसुल संकलन गरेको छ ।

जबकी गत वर्षको सोही अवधिमा नेपालले ३३ करोड ३९ लाख २९ हजार रुपैयाँको १०५ वटा विद्युतीय जीप, कार र भ्यान आयात गर्दा ४४ वटा १०० किलोवाटभन्दा कमको र १५० किलोवाटदेखि २०० किलोवाटसम्मको ६१ वटा आयात गरेको थियो ।

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत् विद्युतीय गाडीमा अन्तशुल्क लाग्ने व्यवस्था गरेको छ । यसअघि विद्युतीय गाडीमा अन्तशुल्क लाग्ने व्यवस्था थिएन । तर, यो वर्षको बजेटमार्फत् अर्थमन्त्री जनार्दन शर्माले अन्तशुल्क र भन्सार करमा वृद्धि गरेको घोषणा गरेका थिए।

सरकारले चालु आर्थिक वर्षमा २ सय किलोवाटभन्दा बढी र ३ किलोवाटभन्दा कमका विद्युतीय गाडीको अन्तशुल्क ६० प्रतिशत कायम गरेको छ ।

त्यस्तै, १०० किलोवाटभन्दा बढी र २ सयभन्दा कमको विद्युतीय गाडीमा अन्तशुल्क ३० प्रतिशत लगाइएको छ । १०० किलोवाट विद्युतीय गाडीमा भने अन्तशुल्क लगाइएको छैन ।

त्यस्तै, नयाँ बजेटले विद्युतीय गाडीको भन्सार शुल्कसमेत बढाएको छ । जस्तो कि सरकारले मोटरको पिकपावर ३०० किलोवाटभन्दा बढीको जीप, कार र भ्यानको आयातमा २० प्रतिशत भन्सार शुल्क बढाएको छ । जसले गर्दा उक्त विद्युतीय सवारी साधन आयात गर्दा ६० प्रतिशत भन्सार शुल्क तिनुपर्ने व्यवस्था छ ।

सरकारले मोटरको पिकपावर १०० किलोवाटभन्दा बढीको तर, २०० किलोवाट ननाघेको कार, जीप र भ्यानबाहेक अन्य वस्तुको आयातमा ५ प्रतिशत भन्सार शुल्क बढाएको छ । साथै, सरकारले चालु आर्थिक वर्षमा १५ प्रतिशत भन्सार शुल्क कायम गरेको छ ।

सरकारले विद्युतीय सवारी साधनमा लगाएको अन्तशुल्क र भन्सार करको वृद्धिले साउन महिनामा आयात उल्लेख्य घटेको नाडाका अध्यक्ष ध्रुव थापा बताउँछन् । उनकाअनुसार सरकारले चालु आर्थिक वर्षको बजेटमा विद्युतीय सवारी साधनलाई निरुत्साहित गर्ने नीति अपनाएकाले १०० किलोवाटभन्दा कमका जीप, कार र भ्यानको माग हुन छोडेको छ ।

‘गत वर्ष सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने गरी बजेट ल्याएको थियो । जसले गर्दा आकर्षण बढ्दै गएको थियो,’ उनले भने, ‘यो वर्ष भने विद्युतीय १०० किलोवाटभन्दा माथिको जीप, कार र भ्यानको माग कम हुँदै गएको छ ।’

त्यसैगरी, चालु आर्थिक वर्षको बजेटले १०० किलोवाटभन्दा माथिका सवारी साधनको मूल्य प्रति गाडीको मूल्य नै ३० लाखसम्म बढेकाले सर्वसाधारणको आकर्षण कम हुँदै गएको उनको भनाइ छ ।

‘यो वर्षको बजेटले १०० किलोवाटभन्दा बढीका सवारी साधनमा २५ लाखदेखि ३० लाखसम्म मूल्य बढाएको छ,’ उनले भने ।

नाडाका अध्यक्ष थापाले विगतमा जुन हिसाबले १०० किलोवाटभन्दा माथिका जीप, कार र भ्यानको माग हुन्थ्यो त्यस हिसाबमा नयाँ बजेट आइसकेपछि माग नै नभएको बताए ।

अहिले १०० किलोवाटसम्मको विद्युतीय सवारी साधनको माग उच्च रहेको उनको भनाइ छ । साथै, विगतमा १०० किलोवाटभन्दा बढीका जीप, कार र भ्यान खरिद गर्न खोज्नेले पनि अहिले १०० किलोवाटभन्दा कमको खरिद गर्न थालेका छन् ।


अरिष्मा मोक्तान