लघुबीमाको लाइसेन्स दिन निर्देशिका जारी



काठमाडौं । बीमा समितिले लघु बीमक संस्थापना तथा दर्ता सम्बन्धी निर्देशिका, २०७९ जारी गरेको छ ।

समितिले लघुबीमा व्यवसाय गर्ने बीमकको दर्ता सम्बन्धी कार्यलाई पारदर्शी र व्यवस्थित बनाउन बीमा ऐन, २०४९ को दफा ८ को खण्ड (घ२) को अधिका प्रयोग गरी निर्देशिका जारी गरेको हो ।

लघुबीमा व्यवसाय गर्ने बीमकको रूपमा समितिबाट इजाजतपत्र प्राप्त गर्न चाहने व्यक्ति वा संस्थालाई आवेदन पेश गर्न समितिले आवश्यक शर्त तोकी सूचना प्रकाशन गर्न सक्ने व्यवस्था निर्देशिकाले गरिदिएको हो ।

निर्देशिकाले लघुबीमा कम्पनीको चुक्ता पुँजी भने तोकेको छैन । उक्त निर्देशिकामा लघुबीमा सञ्चालन गर्न आवश्यक न्यूनतम चुक्ता पुँजी समितिले तोके बमोजिम हुने उल्लेख छ ।

लघुबीमा कम्पनीमा संस्थापक समूहको तर्फबाट कम्तीमा ५१ प्रतिशत पुँजी लगानी भएको हुनुपर्नेछ । सर्वसाधारणलाई कुल चुक्ता पुँजीको ३० प्रतिशत सेयर जारी गर्नुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ । लघुबीमकले आफनो  कर्मचारीको लागी चुक्ता पुँजीको ५ प्रतिशतसम्म सेयर छुट्टाउन सक्नेछन् ।

लगानीकर्ता संगठित संस्था भएमा सोको पुँजी वा जगेडा कोषमा लगानीयोग्य रकम भएको हुनुपर्ने निर्देशिकामा उल्लेख छ  । संस्थापकका एकाघर परिवार, संस्था वा संस्थागत समूहको कुल चुक्ता पुँजीको १५ प्रतिशत वा सो भन्दा कम स्वामित्व हुनुपर्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

प्रस्तावकले लघु जीवन बीमा वा लघु नन जीवन बीमा व्यवसाय गर्ने गरी छुट्टाछुट्टै आवेदन दिनुपर्नेछ ।

संस्थापकले यसअघि कुनै बीमा कम्पनीमा लगानी गरेको भए त्यस्तो बीमकको नाम, लगानीको प्रतिशत र संचालक समितिमा प्रतिनिधित्व गरेको भए सो समेत खुल्ने गरी उल्लेख गर्नुपर्ने छ ।

प्रस्तावित लगानीकर्ताको एकै किसिमको बीमा व्यवसाय गर्ने अन्य कुनै बीमकमा प्रति हिस्सेदारी (क्रसहोल्डिङ) रहेको भए वा हुने गरी त्यस्तो लगानीकर्ता संस्थापक रहन पाउनेछैन ।

प्रस्तावित लघुबीमकको कर्पोरेट कार्यालय काठमाडौ उपत्यका बाहिर अवस्थित हुनु पर्ने निर्देशिकामा उल्लेख छ ।

छनौट भएका प्रस्तावमध्ये समिति कुनै खास प्रदेशमा मूख्य कार्यालय रहने गरी तोक्न सक्ने व्यवस्था निर्देशिकाले गरेको छ ।

दुर्गम, ग्रामीण तथा सहरी क्षेत्रको सीमान्तकृत तथा न्यून आय भएका समुदायलाई लक्षित गरी लघुबीमा सेवाको प्रवाह गर्ने, लघुबीमा सेवाकाल लागि सेवाग्राहीहरूको रूपमा न्यून आय भएका परिवारको पहिचानका  लागि स्पष्ट मापदण्ड तयार गरी सहुलियत दरमा लघुबीमा सेवा प्रवाह गर्ने व्यवस्थालाई सुदृढ गर्ने लगायतका सर्तहरू निर्देशिकामा उल्लेख छ ।


क्लिकमान्डु