झुनझुनवालाको निधनसँगै आकासा एयरको भविष्य अन्योलमा



एजेन्सी । भारतीय सेयर बजारमा बिग बुल नामले परिचित राकेश झुनझुनवालाको आइतबार ६२ वर्षको उमेरमा निधन भयो ।

उनको निधनले भारतीय सेजर बजार तथा अर्थतन्त्रका जानकारहरुले दुःख व्यक्त गरेका छन् ।

उनको निधन हुनुभन्दा एक साताअघि मात्रै उनले महत्वाकांक्षी प्राजेक्ट आकासा एयर शुरु गरेका थिए । लो कस्ट क्यारियरका रुपमा सञ्चालन गर्ने भनिएको आकासा एयरको भविष्य झुनझुनवालाको निधनसँगै अन्योलमा परेको छ ।

आकासा एयरमा सबैभन्दा धेरै लगानी झुनझुनवालाको थियो । गत ७ अगस्टमा आकासा एयरले उडानको शुरुवात गरेको थियो ।

भारतीय एभिएसन क्षेत्रमा अहिले तीव्र प्रतिष्पर्धा छ । यही प्रतिष्पर्धामा आकासा एयरलाई झुनझुनवालाले कहिल्यै पनि आर्थिक संकटमा फस्न दिँदैनन् भन्ने धेरैको विश्वास थियो । तर कम्पनीमा सबैभन्दा धेरै ४७ प्रतिशत सेयर स्वामित्व भएका झुनझुनवालाको निधनसँगै कम्पनीको भविष्यमा पनि आशंका देखिन थालेको छ ।

एभिएसन क्षेत्रमा आकासा एयरको प्रवेशसँग हलचल शुरु भइसकेको छ । तर झुनझुनवालाको अकस्मात निधनले अवस्था पूरै परिवर्तन भएको छ । झुनझुनवालाको निधनपछि आकासा एयरको कारोबारमा कुनै समस्या हुन नदिनेमा कम्पनीले भने विश्वास दिलाउने प्रयास गरेको छ ।

ल फर्म जे सागर एसोसिएट्सका पूर्व म्यानेजिङ पार्टनर तथा आकासा एयरका लगानीकर्ता बी देसाईले झुनझुनवाला कम्पनीको दैनिक अपरेसनमा सहभागी नभएकाले तात्विकरुपमा फरक नपर्ने बताए ।

देसाईका अनुसार प्रमोटर तथा सीइओ बिनय दुबेको अगुवाईको टीमले अहिले कम्पनी सञ्चालनमा काम गरिरहेको छ । र, उक्त टीम व्यवस्थापनका लागि सक्षम भएको उनको भनाइ छ ।

प्रसिद्ध फण्ड म्यानेजर मधु केला तथा अमेरिकाको हेज फण्ड क्यापिटल पनि आकासा एयरको लगानीकर्ता हो । जानकारहरुका अनुसार एयरलाइन्सको फण्ड जुटाउनमा कुनै समस्या छैन ।

साथै, कम्पनीले अहिले बैंकहरुबाट कर्जा पनि लिएको छैन । कम्पनीले आगामी ७ महिनामा थप १६ वटा नयाँ विमान थप गर्ने योजना बनाएको छ । हालै एयरलाइन्स कम्पनीले ७२ बोइङ ७३७ म्याक्स विमानका लागि अर्डर समेत दिएको छ ।

यसअघि एभिएसन क्षेत्रसँग जोडिएका कैयन व्यक्तिहरुले कम्पनीको भविष्यलाई लिएर विभिन्न आशंकाहरु व्यक्त भने गरिरहेका छन् । जानकारहरुका अनुसार झुनझुनवाला एयरलाइन्समा जति लगानी गर्ने योजनामा थिए सोही अनुसार उनका उत्तराधिकारीहरु लगानी गर्न तयार हुन्छन् वा हुँदैनन् भन्ने अब अनिश्चित बनेको छ ।

झुनझुनवाला लगानीकर्ता मात्रै नभइ सम्बन्धित क्षेत्रबारे राम्रो जानकारी समेत राख्दथे । उनको नेटवर्क पनि निकै बलियो थियो । त्यसैले झुनझुनवालाको विकल्प तत्काल पूरा गर्ने अवस्था भने नहुन सक्ने धेरेको अनुमान छ ।

जानकारहरु झुनझुनवालाको निधनपछि आकासा एयरलाइन्सको महात्वाकांक्षामा अस्थायीरुपमा अंकुश भने लाग्न सक्ने प्रक्षेपण गरिरहेका छन् । किनभने झुनझुनवालाले कम्पनीमा पुँजी ल्याउनमा ठूलो भूमिका निर्वाह गर्न सक्दथे । उनी भारतीय बैंक तथा विदेशी संस्थागत लगानीकर्ताबाट सस्तो कर्जामा सहज तरिकाले लगानी जुटाउन सक्ने क्षमता राख्दथे । अब कम्पनीमो उनको अभावको असर कति लामो समयसम्म टिक्न सक्छ त्यो भने हेर्न बाँकी नै छ ।


क्लिकमान्डु