कुन बैंकबाट ऋण लिँदा सस्तो र कुन बैंकबाट महंगो पर्छ ?



काठमाडौं । तपाईं बैंकबाट ऋण लिने सोचमा हुनुहुन्छ ? त्यसो भए तपाईंका लागि सो समाचार निकै नै उपयोगी बन्न सक्छ ।
पहिलो कुरा त लगानी गर्ने पैसा (तरलता) नभएर फिटफिट परेका बैंकबाट ऋण पाउनै गाह्रो छ । पाइहाले पनि चर्को ब्याजदर । बैंकहरुको ब्याजदर सुन्दै डराउने बेला आइसकेको छ ।

सस्तो पैसाले आयात बढाउँदा विदेशी मुद्रा सञ्चिति घट्न थालेपछि राष्ट्र बैंकले मान्छेको हातमा पैसा नपुगोस् भन्ने नीति लिएको छ । जसकारण पनि तपाईंले चर्को ब्याजदरको सामना गर्नुपरेको हो ।

गत आर्थिक वर्षमा देशको ब्यापार घाटा साढे १७ खर्ब रुपैयाँ पुगेको छ । बढ्दो ब्यापार घाटाले देशको भुक्तानी सन्तुलन पनि ऋणात्मक बनाउँदै लगेको छ । गत वर्ष ३ खर्ब रुपैयाँको हाराहारीमा भुक्तानी सन्तुलन ऋणात्मक छ । साढे ६ महिनाको वस्तु तथा सेवा धान्ने विदेशी मुद्राको सञ्चिति छ ।

अर्थतन्त्र नियन्त्रणबाहिर नजाओस् भनेर राष्ट्र बैंकले ब्याजदर बढाउने र कर्जा प्रवाह घटाउने नीति लिएको छ । अघिल्लो वर्ष १९ प्रतिशतले कर्जा बढाउने नीति लिएको केन्द्रिय बैंकले यो वर्ष भने जम्मा साढे १२ प्रतिशतले मात्रै कर्जा बढाउने नीति लिएको छ । त्यो पनि उत्पादनमूलक र प्राथमिकताप्राप्त क्षेत्रको कर्जा विस्तारमा जोड दिएको छ ।

केही उद्यम व्यवसाय गर्न आफूसँग मात्रै भएको पैसाले पुग्दैन । ऋण लिनै पर्यो । साथीभाई र सहकारीबाट ऋण लिँदा महंगो पर्छ । त्यसैले सबैको चाहना बैंकबाटै ऋण लिने हुन्छ । त्यो पनि वाणिज्य बैंकहरुबाट ।

तर, पछिल्लो एक वर्षमा वाणिज्य बैंकहरुको ब्याजदर पनि अचाक्ली बढेको छ । अहिलेको अवस्थामा सस्तो वा एकल अंकको ब्याजदरमै ऋण खोज्नु मूर्खता सिवाय केही पनि हुने छैन ।

वाणिज्य बैंकहरुमध्ये पनि तुलनात्मकरुपमा सस्तो र महंगो कर्जाबारे यो समाचारमा जानकारी दिने प्रयास गरिएको छ ।

बैंकहरुको लागत बढ्दा कर्जाको ब्याजदर महंगो हुन पुगेको हो । ०७८ असार मसान्तमा ४.८६ प्रतिशत रहेको वाणिज्य बैंकहरुको औषत लागत ०७९ असार मसान्तमा आइपुग्दा ४९.९९ प्रतिशतले बढेर ७.२९ प्रतिशत पुगेको छ ।

बैंकहरुको लागत बढेपछि आधार दर (बेस रेट) स्वाभाविकरुपमै बढ्ने भयो । ०७८ असार मसान्तमा ६.९१ रहेको औषत आधार दर ३६.९० ले बढेर ०७९ असार मसान्तमा ९.४६ पुगेको छ ।

बैंकहरुले आधार दरमा प्रिमियम थप गरेर व्याजदर निर्धारण गर्छन् । बैंकहरुले ग्राहकपिच्छे र कर्जाको प्रकारपिच्छे फरक फरक प्रिमियम चार्ज गरेर तपाईंसँग ब्याजदर असूल्छन् । कसैलाई १ प्रतिशतमात्रै प्रिमियम लिन्छन् भने कसैलाई ४/५ प्रतिशतसम्म ।

बैंकहरुको लागत

कुन बैंकबाट ऋण लिँदा महंगो र कुनबाट लिँदा सस्तो ?

वाणिज्य बैंकहरुमध्ये पनि आधा दर्जन बैंकको आधार दर दोहोरो अंकमा छ । यसको अर्थ के हो भने अन्य बैंकभन्दा दोहोरो अंकमा आधार दर भएका बैंकबाट ऋण लिँदा तपाईंलाई महंगो पर्छ । ०७९ असार मसान्तको विवरण अनुसार कुमारी बैंकबाट ऋण लिँदा तपाईंलाई सबैभन्दा महंगो पर्छ भने राष्ट्रिय वाणिज्य बैंकबाट ऋण लिँदा सबैभन्दा सस्तो पर्छ । किनभने कुमारीको आधार दर १०.५७ प्रतिशत छ भने राष्ट्रिय वाणिज्य बैंकको आधार दर ७.८६ प्रतिशत छ ।

कुमारी बैंकबाट ऋण लिँदा तपाईंलाई बैंकले आधार दरमा २ प्रतिशतमात्रै प्रिमिय लियो भने पनि तपाईंले लिने ऋणको ब्याजदर १२.५७ प्रतिशत पर्छ । कुमारीले ४ प्रतिशत प्रिमियम लियो भने त ऋणको ब्याजदर १४.५७ प्रतिशत पुग्छ । तर, राष्ट्रिय वाणिज्य बैंकले २ प्रतिशत प्रिमियम लियो भने पनि ९.८६ प्रतिशत र ४ प्रतिशत प्रिमियम लियो भने पनि ११.८६ प्रतिशतमात्रै ब्याजदर पर्छ ।

बैंकहरुको आधार दर

तपाईंले ऋण लिनका लागि दोस्रो महंगो ब्याजदर भएको सिभिल बैंक हो भने दोस्रो सस्तो नेपाल बैंक हो । सिभिलको आधार दर १०.४७ प्रतिशत छ भने नेपाल बैंकको आधार दर ७.९९ प्रतिशत छ ।

त्यसैगरी, तेस्रो महंगो ब्याजदर भएको बैंक सेञ्चुरी हो भने तेस्रो सस्तो ब्याजदर भएको बैंक नेपाल इन्भेष्टमेन्ट बैंक हो । सेञ्चुरीको आधार दर १०.२३ प्रतिशत छ भने इन्भेष्टमेन्टको ८.५४ प्रतिशतमात्रै छ ।

त्यस्तै, चौथो महंगो ब्याजदर भएको बैंक सिटिजन्स हो भने चौथो सस्तो ब्याजदर भएको बैंक नविल हो । सिटिजन्सको आधार दर १०.०९ र नविलको ८.७७ प्रतिशत छ ।

त्यसैगरी, सनराइज र मेगा पाँचौ महंगो ब्याजदर भएका बैंक हुन् भने स्ट्याण्र्डर्ड चार्टर्ड पाँचौं सस्तो ब्याजदर भएको बैंक हो । सनराइज र मेगाको आधार दर १०.०१ र चार्टडको ८.८१ प्रतिशत छ ।

प्राइम र लक्ष्मी ऋण लिनका लागि छैठौं महंगा बैंक हुन् भने एभरेष्ट छैठौं सस्तो ब्याजदर भएको बैंक हो । प्राइम र लक्ष्मीको आधार दर ९.९९ र एभरेष्टको ८.८२ प्रतिशत छ ।

सातौं महंगो ब्याजदर भएको बैंक हिमालयन हो भने ब्याजदर सस्तो भएको सातौं नम्बरको बैंक कृषि विकास बैंक हो । हिमालयनको आधार दर ९.८८ र कृषि विकासको ८.९० प्रतिशत छ ।

त्यस्तै, आठौं महंगो ब्याजदर भएको बैंक माछापुच्छ्रे हो भने आठौं सस्तो ब्याजदर भएको बैंक एनसीसी हो । माछापुच्छ्रेको आधार दर ९.८६ र एनसीसीको ९.२० प्रतिशत छ ।

त्यस्तै, बैंक अफ काठमाण्डू नवौं महंगो ब्याजदर भएको बैंकमा पर्छ भने प्रभु नवौं सस्तो ब्याजदर भएको बैंकमा पर्छ । बैंक अफ काठमाण्डूको आधार दर ९.८३ र प्रभुको ९.२४ प्रतिशत छ ।

त्यस्तै, ऋण लिनका लागि दशौं महंगोमा सानिमा बैंक पर्छ भने दशौं सस्तोमा एनआइसी एशिया बैंक पर्छ । सानिमाको आधार दर ९.७१ र एनआइसी एशियाको ९.२५ प्रतिशत छ ।

११औं महंगोमा नेपाल एसबिआई बैंक पर्छ भने ११औं सस्तोमा एनएमबि बैंक पर्छ । एसबिआईको आधार दर ९.६१ र एनएमबिको ९.३८ प्रतिशत छ । त्यस्तै, ऋणको ब्याजदरमा १२औं महंगोमा सिद्धार्थ र १२औं सस्तोमा ग्लोवल आइएमइ बैंक पर्छ । सिद्धार्थको आधार दर ९.४५ र ग्लोवलको ९.४० प्रतिशत छ ।

तर, थोरै तलमाथि आधार दर भएका बैंकबाट कर्जा लिँदा तपाईंलाई सस्तो र महंगोको अनुभूति नपर्न सक्छ । किनभने, ती बैंकले आधार दरमा तपाईंलाई थप गर्ने प्रिमियमले तपाईंको ब्याजदर सस्तो वा महंगो हुने हो ।

उदाहारणका लागि ९.७१ प्रतिशत आधार दर भएको सानिमाले तपाईंलाई २ प्रतिशत प्रिमियममा ऋण दियो भने तपाईंको ब्याजदर ११.७१ प्रतिशत पुग्ने भयो । तर, ९.२५ प्रतिशत आधार दर रहेको एनआइसी एशियाले तपाईंलाई २.५० प्रतिशत प्रिमियम थपेर ऋण दियो भने तपाईंको ब्याजदर ११.७५ प्रतिशत पुग्ने भयो । यस अर्थमा एनआइसी एशियाभन्दा सानिमाको ऋण महंगो भएन । उल्टै सानिमाको भन्दा एनआइसी एशियाको ब्याजदर महंगो हुने भयो ।

तसर्थ, तपाईंले ऋण लिने बेलामा प्रिमियममा बार्गेनिङ गर्न सक्नुहुने छ । कम आधार दर भएको बैंकले बढी प्रिमियम लियो र बढी आधार दर भएको बैंकले अत्यन्तै कम प्रिमियम लियो भने ब्याजदर उस्तै पर्न आउँछ । तर, अहिले बैंकहरुले सीमित ग्राहकलाईबाहेक अधिकांशलाई ३/४ प्रतिशत प्रिमियम असूल गरिरहेका छन् ।

आफ्नो नाफा नबढ्ने भएपछि गत आर्थिक वर्षको पछिल्लो ३ महिनामा बैंकहरुले स्प्रेड दर, आधार दर, ब्याजदर र प्रिमियम दर सबै बढाएका छन् । जसकारण अघिल्लो वर्षकोभन्दा २३.१४ प्रतिशतले बढी नाफा कमाउन सफल भए । नाफा बढेपछि बैंकहरुको लगानीमाथिको प्रतिफल पनि अघिल्लो वर्षको तुलनामा बढेको नै छ ।

बैंकहरुको स्प्रेड दर


क्लिकमान्डु