बैंकको सीडी रेसियोः नबिल र ग्लोबल आईएमई टाइट, प्रभुलाई सहज



काठमाडौं । नबिल र ग्लोबल आईएमई बैंक कर्जा दिनै नसक्ने अवस्थामा पुगेका छन् ।

नेपाल राष्ट्र बैंकले कायम गरेको सीडी रेसियोको सीमाअनुसार नबिल र ग्लोबल आईएमई बैंक कर्जा दिनै नसक्ने अवस्थामा पुगेका हुन् ।

गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार नबिल बैंकको सीडी रेसियो सबैभन्दा ८९.७९ प्रतिशत छ ।

सीडी रेसियो भनेको कर्जा–निक्षेप अनुपात हो । केन्द्रीय बैंकले गत आवको मौद्रिक नीतिमार्फत् सीसीडी रेसियो (कर्जा–स्रोत अनुपात) खारेज गरी सीडी रेसियो ल्याएको थियो । यो भनेको बैंकहरुले १०० रुपैयाँ निक्षेप संकलन गर्दा ९० अधिकतम ९० रुपैयाँ कर्जा दिन पाउँछन् भन्नु हो ।

तर, गत असार मसान्तसम्म नबिल बैंकको सीडी रेसियो ८९.७९ प्रतिशत छ भने ग्लोबल आईएमई बैंकको सीडी रेसियो ८९.२१ प्रतिशत छ ।

सीडी रेसियोको सीमा नजिक पुगेका अन्य बैंकमा कृषि विकास बैंक र मेगा बैंक पनि छन् । कृषि विकास बैंकको सीडी रेसियो ८९.१७ प्रतिशत र मेगा बैंकको सीडी रेसियो ८९.०५ प्रतिशत छ ।

गत असार मसान्तसम्म वाणिज्य बैंकहरुको सीडी रेसियो औसतमा ८६.७६ प्रतिशत छ । औसतभन्दा बढी सीडी रेसियो हुनेमा १३ वटा बैंक छन् भने औसतभन्दा कम सीडी रेसियो हुनेमा १३ वटै बैंक छन् ।

गत असार मसान्तसम्मको वित्तीय विवरण अनुसार सबैभन्दा सहज प्रभु बैंकलाई छ । यसको अर्थ हो, प्रभु बैंकसँग कर्जायोग्य रकम पर्याप्त छ ।

सीडी रेसियोको सीमा ९० प्रतिशत भएको र प्रभु बैंकको सीडी रेसियो ७८.३५ प्रतिशत भएकाले बैंकसँग ११.६५ प्रतिशत कर्जायोग्य रकम छ ।

त्यसैगरी कुमारी बैंकको सीडी रेसियो ८५.१२ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकको ८५.१४ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ८५.१५ प्रतिशत र सिटिजन्स बैंकको सीडी रेसियो ८५.२० प्रतिशत छ ।

केन्द्रीय बैंकका अनुसार गत शुक्रबारसम्म बैंकहरुको सीडी रेसियो औसतमा ८७.८५ प्रतिशत छ ।

बैंकहरुले कुल ५० खर्ब ४५ अर्ब रुपैयाँ निक्षेप संकलन गर्दा ४६ खर्ब ८८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । जसमा वाणिज्य बैंकहरुको कुल निक्षेप ४४ खर्ब ४५ अर्ब रुपैयाँ र कर्जा प्रवाह ४१ खर्ब ६० अर्ब रुपैयाँ छ ।

बैंकहरुको कर्जा दिने क्षमता सीडी रेसियोमा मात्रै भर पर्दैन । उनीहरुसँग भएको प्राथमिक पुँजी र पुँजीकोषको महत्व झनै बढी हुन्छ ।

बैंकहरुले ११ प्रतिशत पुँजीकोष अनुपात प्राथमिक पुँजी (टायर १) तथा पुरक पुँजी (टायर २) जोडेर ११ प्रतिशत पुर्याउनुपर्छ । जसमा राष्ट्र बैंकले कम्तिमा प्राथमिक पुँजीकोष अनुपात साढे ८ प्रतिशत हुनुपर्ने व्यवस्था गरेको छ । तसर्थ, सीडी रेसियो कम्फरटेवल भए पनि पुँजीकोष अनुपात टाइट छ भने उसले ऋण दिन सक्दैन ।


क्लिकमान्डु