मर्जरमा जाने बैंकको सेयर कारोबार रोक्का नहुने, कार्यान्वयनका लागि सेबोनसँग कानून नै छैन



काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा मर्जरमा जाने कम्पनीको कारोबार रोक्का नगर्ने व्यवस्था गरेको छ । अब यो कार्यान्वयनको जिम्मेवारी धितोपत्र बोर्डको बाँधमा पुगेको छ ।

‘बैंक तथा वित्तीय संस्था मर्जर तथा प्राप्तिको समयमा धितोपत्र कारोबार रोक्ने सम्बन्धी यस बैंकबाट जारी भएको विद्यमान व्यवस्था खारेज गरी धितोपत्र बोर्डको नियमनबमोजिम हुने व्यवस्था मिलाइने छ,’ मौद्रिक नीतिमा भनिएको छ ।

तर कार्यान्वयन गर्ने धितोपत्र बोर्डले भने कानूनी व्यवस्था नभएकाले केही गर्न नसक्ने अवस्थामा पुगेको छ ।

यसअघि राष्ट्र बैंकले आफ्नो नियम अनुसार मर्जर तथा प्राप्तिमा रहेका कम्पनीको सेयर कारोबार रोक्का गर्ने व्यवस्था गरेको थियो ।

अब राष्ट्र बैंकले मर्जर तथा प्राप्तिमा गएका कम्पनीको कारोबार रोक्का राख्ने वा नराख्ने भन्ने निर्णय गर्ने जिम्मा धितोपत्र बोर्डलाई नै दिएको छ ।

बोर्डका प्रवक्ता रुपेश केसी यो विषयमा बोर्डले तत्काल केही गर्न नसक्ने बताउँछन् । मर्जरमा रहेका कम्पनीको सेयर कारोबार लामो समय रोक्का भएपछि लगानीकर्ताले यसको विरोध गरिरहेका छन् ।

लगानीकर्ताले यसको विरोध गरेपछि मर्जर तथा प्राप्तिमा गएका कम्पनीको कारोबार कति रोक्का राख्ने विषयमा असारमा नै अध्ययन समिति बनेको छ ।

प्रवक्ता केसीका अनुसार उक्त समितिले गरेको अध्ययन प्रतिवेदन अन्तिम चरणमा छ ।

‘उक्त प्रतिवेदन आएपछि बोर्डले आवश्यक कानूनी व्यवस्था गर्ने छ’ उनले भने ‘अहिले यो विषयका बोर्डमा कुनै पनि कानूनी व्यवस्था छैन, अब प्रतिवेदन आएपछि थप प्रकृया अघि बढ्नेछ ।’

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् गरेको यो व्यवस्था निकै स्वागतयोग्य भएको प्रवक्ता केसीको भनाइ छ । पछिल्लो समय मर्जर तथा प्राप्तिमा गएको करिब साढे दुई दर्जन कम्पनीको सेयर कारोबार रोक्का भएको छ ।

राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत् गरेको व्यवस्थाले मर्जर तथा प्राप्तिमा गएका कम्पनीको कारोबार चाँडै खुल्ने अपेक्षा लगानीकर्ताको रहेको छ ।

तर, त्यसका लागि धितोपत्र बोर्डले अब कस्तो नीति लिन्छ भन्नेमा भर पर्ने भएको छ । बोर्ड अध्ययन समितिको अध्ययन प्रतिवेदन पर्खाइमा छ । उक्त अध्ययन बोर्डका अधिकारीहरुले नै गरिरहेका छन् ।


क्लिकमान्डु