विद्युतीय स्कुटर र रिक्सामा विदेशीको चासो, आयो १ अर्ब ३५ करोड लगानीको प्रतिवद्धता



काठमाडौं । मुलुकमा विद्युतीय गाडीको प्रयोग बढ्दै गएपछि विदेशी लगानीकर्ताको चासो पनि बढ्न थालेको छ । नेपालमा विद्युती चार पांग्रे, तीन पांग्रे र दुई पांग्रे गाडी एसेम्बल गर्न विदेशी लगानी भित्रिन थालेको छ ।

चालु आर्थिक वर्षमा ६ वटा परियोजनामा विद्युतीय स्कुटर र रिक्सा एसेम्बल गर्ने उद्देश्यले १ अर्ब ३५ करोड रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको छ ।

विभिन्न जिल्लामा उद्योग सञ्चालन गर्ने भन्दै दर्ता भएका यी परियोजनामा अधिकांशमा चीनबाट लगानी आएको छ । यी सबै उद्योगमा विद्युतीय स्कुटर र विद्युतीय रिक्सा एसेम्बल गर्ने भनिएको छ ।

चालु आर्थिक वर्षको भदौ १५ गते दुई पांग्रे र तीन पांग्रे विद्युतीय गाडी एसेम्बल गर्ने भनेर स्वीकृत भएका छन् । काभ्रे जिल्लामा स्थापना हुने भनिएको यी दुई उद्योगका लागि प्रति उद्योग २० करोडका दरले लगानी गर्ने प्रतिवद्धता जनाइएको छ ।

चीनबाट आएका यी दुई एसेम्बल उद्योगमा २२६ जनाले रोजगारी पाउने भनिएको छ । यहाँबाट दुई पांग्रे ५००० एनओएस र तीन पांग्रे २५०० एनओस उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

त्यस्तै, जेठ १० गते २५ करोड लगानीको परियोजना स्वीकृति भएको छ । चीनबाट आएको उक्त लगानीको परियोजना काभ्रे जिल्लामा स्थापना गर्ने र यहाँबाट विद्युतीय कुटर र ई–रिक्सा उत्पादन गर्ने भनिएको छ । जहाँ ८५ जनालाई रोजगारी दिने प्रतिवद्धता जनाइएको छ ।

यसै महिना जेठ १३ गते काठमाडौंमा एसेम्बल उद्योग स्थापना गरेर ई–स्कुटर र ई–रिक्सा उत्पादन गर्ने उद्देश्य राखिएको छ । यसका लागि चीनबाट २५ करोड रुपैयाँ बराबरको लगानीको प्रतिवद्धता आएको छ । उक्त परियोजनामा ८५ जनाले रोजगारी पाउने उल्लेख छ ।

जेठ २३ गते चीनबाट विद्युतीय गाडी एसेम्बल उद्योग स्थापनाका लागि अर्को विदेशी लगानी पनि आएको छ । २० करोड रुपैयाँ लगानी गर्ने प्रतिवद्धतासहित दुई पांग्रे र तीन पांग्रे गाडी उत्पादन गर्ने भनिएको ।

ललितपुरमा स्थापना हुने यस उद्योगमा विद्युतीय स्कुटर र ई–रिक्सा उत्पादन गर्ने उल्लेख छ । यस उद्योगमा ८३ जनाले रोजगारी पाउने उद्योग मध्यमस्तरको हुने बताइएको छ ।

यस वर्षको अन्तिम महिना असार १२ गते दुई पांग्रे र तीन पांग्रे विद्युतीय गाडी उत्पादन गर्ने एसम्बल उद्योग स्थापना गर्ने भनेर चीनबाट अर्को परियोजना आएको छ ।

जसमा २५ करोड रुपैयाँ लगानी गरेर ई– स्कुटर र ई–रिक्सा उत्पादन गर्ने भनिएको छ । ललितपुरमा स्थापना हुने उक्त उद्योगमा ११३ जनाले रोजगारी पाउनेछन् ।

नेपालमा एसेम्बल गाडी उत्पादनको चर्चा धेरै भएपनि उद्योगहरु स्थापना हुन सकेका छैनन् । अहिलेसम्म नेपालमा हुलास अटो क्राफले नवलपरासीमा बजाज मोटरसाइकलको एसम्बल उद्योग सञ्चालन गरिरहेको छ भने शंकर ग्रुपको जगदम्बा मोटर्सले टीभीएस मोटरसाइलकको एम्बल शुरु गरेको छ ।

दुई मोटरसाइकल कम्पनीको एसेम्बल उद्योग शुरु भए पनि ठूलो परीणाममा हुन सकेको छैन । अन्य धेरै उद्योग व्यवसायीले एसेम्बल उद्योग गर्ने स्थापना गर्ने भनिरहे पनि शुरु हुनसकेका छैनन् ।

केही समयभित्र यामाहा, होन्डा, सुजुकीजस्ता मोटरसाइलकको एसेम्बल उद्योग सञ्चालन गर्ने तयारी गरिरहेका छन् । त्यसै, अन्य कम्पनीले पनि चारपांग्रे गाडीको एसेम्बल उद्योग स्थापना योजना बनाइरहेका छन् ।

नेपालमा स्थिर र स्पष्ट नीति, सुविधा र करको दायर, जग्गालगायतको समस्याले गर्दा एसेम्बल उद्योग आउन नसकेको व्यवसायीहरु बताउँछन् ।

नेपालमा सवारी सधान एसेम्बलिङ उद्योग सञ्चालन सम्बन्धी नीति छ तर त्यसले स्पष्ट र ठूलो दायरलाई कभर गरेको छैन । अहिले एसेम्बल उद्योगलाई एकमुष्ट राखिएको छ तर विश्वमा विभिन्न देशले आफ्नो आवश्यकताअनुसार उद्योगको वर्गीकरण गरेका छन् ।

नेपालमा पनि कुन स्तरको एसेम्बल उद्योग स्थापना गर्ने र त्यसअनुसार कर र सुविधा फरक–फरक हुनुपर्ने व्यवसायीको भनाइ छ ।


क्लिकमान्डु