१४ सवारीसाधन बिक्रेता कम्पनीले एक वर्षमा गरे ५६ अर्बको कारोबार, होन्डा शीर्ष स्थानमा



काठमाडौं । कोरोना महामारीका कारण अन्य आर्थिक गतिविधि ठप्प प्रायः भएको अवस्थामा पनि आकर्षक व्यापार गरेका सवारी साधन बिक्रेता कम्पनीले सन् २०२१ मा पनि उल्लेख्य कारोबार गरेका छन् ।

देशभर सञ्चालनमा रहेका दर्जनभन्दा बढी सवारीसाधन बिक्रेता कम्पनीले एक वर्षमा ५६ अर्बको कारोबार गरेका छन् ।

केयर रेटिङ र इक्रा नेपालले सार्वजनिक गरेको कम्पनीको तथ्याङ्कअनुसार देशभरका विभिन्न सवारी साधन (व्यवसायिक, निजी, यात्रुवाहक, निर्माण उपकरणलगायत अन्य) बिक्री गर्ने कम्पनीमध्ये १४ वटा कम्पनीले एक वर्षमा ५५ अर्ब ९४ करोड ७२ लाख रुपैयाँको कारोबार गरेका हुन् ।

स्याकर ट्रेडिङ कम्पनीः होन्डाको नेपालको लागि आधिकारिक बिक्रेता स्याकर ट्रेडिङ कम्पनीले सन् २०२१ मा देशभरका सवारी साधन बिक्रीबाट सबैभन्दा धेरै १३ अर्ब ४२ करोड ९० लाखको कारोबार गरेको छ । कम्पनीले सन् २०२० मा ११ अर्ब ४६ करोड ७० लाख रुपैयाँको कारोबार गरेको थियो ।

होन्डा ब्रान्डको दुई पाङ्ग्रे सवारी साधन, निजी सवारी साधन र होन्डा पावर प्रडक्ट बिक्री वितरण गर्दै आएको कम्पनीका देशभर १६ वटा शोरुम र ११ वटा डिलर छन् । ज्योती ग्रुपअन्तर्गत सौरभ ज्योति अध्यक्ष र सुह्रिद ज्योति प्रबन्ध निर्देशक रहेको यस कम्पनीले सन् २०२१ मा बढी कारोबार गरी बजारमा लोकप्रिय ब्रान्डको रुपमा स्थापित भएको छ ।

कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजः किया र इसुजु सवारी साधनको नेपालको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेज सन् २०२१ मा १० अर्ब ९६ करोड ८० लाख रुपैयाँको कारोबार गरेको छ । सन् २०२० मा कम्पनीले ४ अर्ब ८९ करोड रुपैयाँको मात्रै कारोबार गरेको थियो ।

बजारमा सवारी साधन क्षेत्रमा बढ्दो प्रतिपस्र्धा रहेको अवस्थामा कम्पनीले सन् २०२२ को ६ महिनाको अवधिमा ६ अर्ब ६ करोड ६० लाखको कारोबार गरेको छ । काठमाडौंमा दुई वटा शोरुम र १२ वटा प्रादेशिक डिलर रहेको कम्पनीले किया र इसुजु सवारी साधनसँगै निर्माण क्षेत्रको कोमट्सु, ओकाडा र ओटिस ब्रान्डका निर्माण उपकरण बिक्री गर्दै आएको छ ।

दुगड ब्रदर्श एण्ड सन प्रालिः व्यवसायिक प्रयोजनाका लागि महिन्द्रा अर्थ मास्टर एण्ड एशोसररिज र महिन्द्रा एण्ड महिन्द्राको नेपालको आधिकारिक बिक्रेता दुडड ब्रर्दश एण्ड सन प्रालिले सन् २०२१ मा ४ अर्ब ६५ करोड ५० लाख रुपैयाँको कारोबार गरेको छ ।

कम्पनीले सन् २०२० मा २ अर्ब ९६ करोड ६० लाख रुपैयाँ र सन् २०१९ मा ३ अर्ब ९१ करोड ४० लाख रुपैयाँको कारोबार गरेको थियो । दुगड ग्रुप अर्थात् मोतीलाल दुगडले सञ्चालनमा ल्याएको दुगड ब्रदर्श एण्ड सनले निर्माण महिन्द्रको व्यवसायिक सवारी साधन, निर्माण क्षेत्रमा प्रयोग हुने सवारी साधनमा हाम कम्प्याक्टर एण्ड एसोसरिज एण्ड पीजीओका दुई पाङ्ग्रे सवारी साधनमा भेस्पा र अप्रिला बिक्री गर्दै आएका छन् ।

कम्पनीले विभिन्न देशबाट सवारी साधन आयात गरी बिक्री वितरण गर्दै आएको छ । कम्पनीको देशभर २१ वटा दुई पाङ्ग्रे सवारी साधनको डिलर र १५ वटा डिलर महिन्द्रा एण्ड महिन्द्रा सवारी साधनको रहेको छ । त्यसैगरी, कम्पनीको २२वटा शोरुम छन् ।

ट्रयाक्टर क्षेत्रमा विश्वको सबैभन्दा ठूलो उत्पादनकर्ता तथा भारतको सवारी साधनका ठूलो उत्पादनकर्ता रहेको महिन्द्रा एण्ड महिन्द्रले सन् २०२१ मा १० हजार ५८ वटा सवारी साधन बिक्री गरेको छ ।

mony

एड्भान्स अटोमोबाइल प्रालिः नेपालमा रेनल्ट एसएएसको आधिकारिक विक्रेता एड्भान्स अटामोबाइल प्रालिले सन् २०२१ मा १ अर्ब ६८ करोड २० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२० मा ९२ करोड ३० लाख रुपैयाँको कारोबार गरेको थियो । कम्पनीले सन् २०२१ मा ६१८ वटा र सन् २०२० मा ३११ वटा गाडी बिक्री गरेको थियो ।

विशाल ग्रुपद्वारा सञ्चालित यस कम्पनीको प्रबन्ध निर्देशक निकुञ्ज अग्रवाल हुन् । सन् १९०० मा फ्रान्समा उत्पादन शुरु भएको रेनल्ट सन् २०२१ सम्ममा २ अर्ब ६९ करोड ६० लाख वटा गाडी बिक्री गरिसकेको कम्पनीले उल्लेख गरेको छ ।
नेपालले रेनल्ट भारत प्रालिबाट आयात गरी बिक्री गर्दै आएका छन् । नेपालमा कम्पनीको देशभर २१ वटा डिलर छन् भने काठमाडौंमा पनि शोरुम छ ।

युनाइटेड ट्रेडर सिण्डिकेट प्रालिः टोयटाको नेपालको लागि आधिकारिक विक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट प्रालिले सन् २०२१ मा ४ अर्ब ८६ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ । कोरोना महामारीमा ३ अर्ब ३० करोडमा सीमित भएको कारोबार सन् २०२१ मा १ अर्ब बढीले कारोरबार गरेको छ । त्यस्तै, कम्पनीले सन् २०२२ को ६ महिनाको अवधिमा ४ अर्ब ४४ करोड ५० लाख रुपैयाँ (अपरिष्कृत) को कारोबार गरिसकेको छ ।

रज वैद्यको ६० प्रतिशत, रितु सिंह वैद्य ३० प्रतिशत र सुसन वैद्य श्रेष्ठको १० प्रतिशत शेयर रहेको कम्पनीको देशभर १० वटा डिलर छ । कम्पनीले टोयटाको सवारी साधनसँगै पाटपूर्जा पनि बिक्री वितरण गर्दै आएका छन् ।

पुण्यता ट्रेडिङ प्रालिः नेपालको लागि कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजअन्तर्गत काठमाडौंमा कियाको मोटर्स यात्रुवाहक सवारी साधन बिक्री गर्न अनुमति पाएको पुण्यता ट्रेडिङ प्रालिले सन् ८० करोड कारोबार गरेको छ । सन्तोष खतिवडा अध्यक्ष रहेको यस कम्पनीले काठमाडौंको महारजगञ्जबाट मात्रै सवारी साधन बिक्री वितरण गर्दै आएका छन् ।

प्यारामाउन्ट मोटर्स प्रालिः एमजी सवारी साधनको नेपालको लागि आधिकारिक विक्रेता प्यारामाउन्ट मोटर्स प्रालिले सन् ७१ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सो अवधिमा १३७ वटा सवारी साधन बिक्री गरेको थियो । तर, कम्पनीले सन् २०२२ को अवधिमा ३ अर्ब २८ करोडको कारोबार गरेको जनाएको छ । जसमा कम्पनीले ७०५ वटा सवारी साधन बिक्री गरिसकेको छ ।

शशिला मोटर्स प्रालिः नेपालको लागि टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङअन्तर्गत काठमाडौं र भक्तपुरमा प्रादेशिक डिलरका रुपमा सवारी साधन बिक्री वितरण गर्दै आएको शशिला मोटर्सले सन् २०२१ मा १ अर्ब ३२ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२० मा ८९ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो । टाटा मोटर्सको व्यवसायिक प्रयोजनमा कार्गो, पिकअप, ट्रक, टिपर तथा भ्यान सेग्मेन्टको सवारी साधन बिक्री गर्दै आएको कम्पनीको दुई वटा शाखा छन् ।

अटोवे प्रालिः नेपालका लागि टोयटा, इचर र कोमट्सु ब्रान्डका सवारी साधनको प्रादेशिक आधिकारिक बिक्रेता अटोवे प्रालिले सन् २०२१ मा १ अर्ब ९१ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ । सन् २०२० मा कोरोना महामारीका कारण कम्पनीले १ अर्ब ६४ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।

टोयटा, इचर र कोमट्सुको आधिकारिक वितरक रहेको कम्पनीले टोयटाको यात्रुवाहक सवारी साधन, इचर ब्रान्डको व्यवसायिक सवारी साधन र कोमट्सु ब्रान्डको निर्माणसम्बन्धी सवारी साधन बिक्री वितरण गर्दै आएको छ ।

सन् २००२ देखि अटो डिलरसिप राखेर यात्रु बाहक सवारी साधन र व्यवसायिक सवारी साधन बिक्री गर्दै आएको कम्पनीले टोयटा ब्रान्डका यात्रु वाहक सवारी साधनको गण्डकी, नारायणी अञ्चल र बुटवल सहरमा आफ्नो डिलरसिप राखेको छ ।

इचर ब्रान्डका सवारी साधन पनि गण्डकी, नारायणी, धौलागिरी र लुम्बिनी अञ्चलमा कम्पनीले आफ्नो डिलरसिप राखेर बिक्री वितरण गर्दै आएको छ ।

कम्पनीले कोमत्सु ब्रान्डका निर्माण सम्बन्धी सवारी साधनमा भने गण्डकी र धौलागिरी अञ्चलमामा आफ्नो डिलर स्थापन गरेको छ । यद्यपि कम्पनीले बुल ब्रान्डको निर्माण सम्बन्धी सवारी साधन सन् २०२१ को अगस्टबाट शुरु गरेको थियो ।

प्रबन्ध निर्देशकसमेत रहेको नारायण प्रसाद पौडेलको मात्रै कम्पनीमा पूर्ण स्वामित्व छ । तर, कम्पनीले आफ्नो दिदीबहिनीको कम्पनीसँग सहकार्य गरेर सवारी साधनको पाटपूर्जाको पनि बिक्री वितरण गर्दै आएको छ । कम्पनीको हालसम्म ३ वटा शोरुम÷बिक्री शाखा (पोखरा, नारायणघाट र बुटवल)मा रहेको छ ।

जीओ अटोमोबाइल प्रालिः फोर्डको नेपालका लागि आधिकारिक बिक्रेता अटोमोबाइल प्रालिले सन् २०२१ मा ३ अर्ब ४८ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ । कोरोनाका कारण सन् २०२० मा घटेको कारोबार सन् २०२१ मा रिबाउन्स भएको कम्पनीले जनाएको छ ।

तर, भारत सरकारले फोर्डको प्लान्ट गर्ने निर्णय गरेसँगै सन् २०२२ को ६ महिनाको अवधिमा आम्दानी घट्ने जनाएको छ । जसले गर्दा सन् २०२२ को ६ महिनामा १ अर्ब ३० करोड ५० लाख रुपैयाँ मात्रै कारोबार हुने जनाएको छ । गोल्छा अर्गनाइजेशनद्वारा सञ्चालित यस कम्पनीको देशभर १२ वटा शोरुम र दुई वटा शाखा छन् ।

बतास ब्रदर्स प्रालिः गण्डकी र धौलागिरी प्रदेशमा मारुती सुजुकीको आधिकारिक बिक्रेता बतास ब्रदर्स प्रालिले सन् २०२१ मा ४ अर्ब ११ करोड ६० लाख रुपैयाँ कारोबार गरेको छ । कम्पनीले सन् २०२० मा ३ अर्ब ८ करोड ७० लाख रुपैयाँ र सन् २०१९ मा ४ अर्ब २६ करोड ९० लाख रुपैयाँ कारोबार गरेको थियो ।

मारुती सुजुकी निजी सवारी, महिन्द्राको निजी सवारी/व्यवसायिक सवारी/ट्याक्टर र टीभीएसको दुई पाङ्ग्रे सवारी साधनको बिक्री वितरण गर्दै आएको कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा ३ अर्ब ३० करोड २० लाख रुपैयाँ कारोबार गर्ने अनुमान गरेको छ ।

विगत दुई दशकदेखि अटोमोबाइल क्षेत्रमा कारोबार गर्दै आएको बतास ब्रदर्स प्रालि बतास अर्गनाइजेशनको एक हिस्सा रहेको छ । कम्पनीले आन्तरिक बजारमा भोल्भो इचर सीभी र क्याटरपिलर ब्रान्डका निर्माण सामग्री बिक्री गर्दै आएका छन् । आनन्द राज बतास, शान्त राज बतास र बिपेन्द्र राज बतासको शेयर रहेको बतास ब्रदर्शको पोखरामा ३ वटा शोरुम र ४ वटा वर्कशप छन् ।

इस्ट लिङ्क मोटर्स प्रालिः बागमति प्रदेशमा टोयटाको यात्रुबाहक बस बिक्री गर्दै आएको इस्ट लिङ्क मोटर्स प्रालिले सन् २०२१ मा १ अर्ब ३६ करोड ४० लाख रुपैयाँको कारोबार गरेको छ । कम्पनीले सन् २०२० मा १ अर्ब ७ करोड ८० लाख रुपैयाँ आम्दानी गरेको थियो ।

कोरोना महामारीका कारण आम्दानी कम भएको कम्पनीले सन् २०२२ को ७ महिनाको अवधिमा २ अर्ब २२ करोड १० लाख रुपैयाँको व्यापार गर्ने अनुमान गरेको छ । टोयाटाको नेपालको लागि आधिकारिक विक्रेता युनाइटेड ट्रेडर सिण्डिकेट प्रालिको डिलरसिप रहेको यस कम्पनीले प्रिमियम मूल्यको मोडलमा प्राडो, फरच्यूनर र हाइलक्स बिक्री वितरण गर्दै आएको छ ।

नारायण प्रसाद पौडेल, राजेन्द्र विक्रम पौडेल र धनन्ज्य रेग्मीको सेयर रहेको यस कम्पनीको देशभर दुई शोरुम रहेको छ ।

बतास ट्रयाक्टर प्रालिः क्याटरपिलर निर्माण उपकरण, गोदरेज उपकरण र प्रोपेल–ब्रान्डका सवारी साधन बिक्री गर्ने आधिकारिक विक्रेता बतास ट्रयाक्टर प्रालिले सन् २०२१ मा ७८ करोड ४० लाख रुपैयाँ आम्दानी गरेको छ । सन् २०२० मा कम्पनीले ५२ करोड ५० लाख रुपैयाँ मात्रै कारोबार गरेको थियो भने सन् २०१९ मा १ अर्ब ५ करोड ६० लाख रुपैयाँ कारोबार गरेको थियो ।

त्यस्तै, कम्पनीले सन् २०२२ को ९ महिनाको अवधिमा ७३ करोड २० लाख रुपैयाँको आम्दानी हुने अनुमान गरेको छ । कम्पनीमा आनन्दराज बताससहित अन्य ४ जनाको सेयर छ ।

विवेक अटोमोबाइल प्रालिः रोयल इन्फिल्ड मोटरसाइकलका नेपालको लागि आधिकारिक विक्रेता विवेक अटोमोबाइल प्रालिले एकैवर्ष ८ हजार बढी रोयल इन्फिल्ड मोटरसाइकल बिक्री गरेको छ । कम्पनीले सन् २०२१ मा मात्रै ८ हजार ७ सय ६३ युनिट मोटरसाइकल बिक्री गरेको हो ।

कम्पनीले सन् २०२० मा ६ हजार १३३ मोटरसाइकल बिक्री गरेको थियो । जसमा कम्पनीले सन् २०२१ मा २ हजारभन्दा बढी मोटरसाइकल बिक्री गरेको जनाएको छ । कम्पनीले सन् २०२१ मा ६ अर्ब ५७ करोड १० लाख रुपैयाँको कारोबार गरेको छ । सन् २०२० मा ४ अर्ब १८ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो भने सन् २०१९ मा ४ अर्ब १९ करोड ६० लाख रुपैयाँको कारोबार गरेको थियो ।

दुगड ग्रुपद्वारा सञ्चालित विवेक अटोमोबाइल कम्पनीले रोयल इन्फिल्ड, जोन डिरी ट्रया्क्टर, पीयजीओ तीन पाङ्ग्रे सवारी साधन बिक्री गर्दै आएका छन् ।

हालसम्म कम्पनीको देशभर तीनपाङ्ग्रे सवारी साधनको १८ वटा डिलर र रोयल इन्फिल्ड मोटरसाइकलको ७ वटा डिलर रहेको छ । त्यसैगरी, कम्पनीको ३२ वटा शोरुम छ । त्यसैगरी, बजारमा कम्पनीको सवारी साधन उच्च माग भएकाले सन् २०२२ को ६ महिनाको अवधिमा ३ अर्ब ३२ करोड ६० लाख रुपैयाँको कारोबार गरेको छ ।

साथै, जनवरीसम्ममा ५ हजार ५८५ वटा सवारी साधन बिक्री गरिसकेको कम्पनीले जनाएको छ ।

साढे ३६ अर्बको रेटिङ
सन् २०२१ मा १३ वटा सवारी साधन कम्पनीले करिब ५६ अर्बको कारोबार गर्दा ३६ अर्ब ४९ करोड ८१ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीहरूले कारोबारको आधारमा सो रेटिङ गराएको हो ।

संकलित तथ्याङ्कअनुसार दुगड ब्रदर्स एण्ड सन प्रालिले ४ अर्ब १५ करोड रुपैयाँ, एड्भान्स अटोमोबाइल प्रालिले १ अर्ब ११ करोड, युटाइटेड ट्रेडर्स सिण्डिकेटले ४ अर्ब रुपैयाँ, पुण्यता ट्रेडिङले ६६ करोड र पारामाउन्ट मोटर्स प्रालिले १ अर्ब ५५ करोड रुपैयाँको रेटिङ गराएको छ ।

त्यसैगरी, शशिला मोटर्सले ८६ करोड रुपैयाँ, कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले ४ अर्ब ७५ करोड रुपैयाँ, अटोवे प्रालिले १ अर्ब ३८ करोड १० लाख रुपैयाँ, जीओ अटोमोबाइल प्रालिले १ अर्ब ६ करोड रुपैयाँ, बतास ब्रदर्स प्रालिले २ अर्ब ७९ करोड २० लाख रुपैयाँ, इस्ट लिङ्क मोटर्सले ७५ करोड ५० लाख रुपैयाँ, स्याकर ट्रेडिङ कम्पनीले ९ अर्ब ९ करोड रुपैयाँ, बतास ट्र्याक्टर प्रालिले १ अर्ब १६ करोड रुपैयाँ र विवेक अटोमोबाइल प्रालिले ३ अर्ब १८ करोड रुपैयाँको रेटिङको गराएको छ ।


अरिष्मा मोक्तान