श्रीलंका र नेपालमा मात्रै होइन दक्षिण एशियाका अन्य देशमा पनि गहिरिँदै डलरको संकट



काठमाडौं । केही महिनायता नेपालको अर्थतन्त्र श्रीलंकाको बाटो छ वा छैन भन्ने विषयमा सञ्चारमाध्यममा कैयन समाचारहरु प्रकाशित भए । विज्ञहरुमाझ गम्भीर बहसको विषय बन्यो । यसका पक्ष र विपक्षमा बोल्नेहरुले आ–आफ्नै तर्कहरु पेश गरे ।

यसका पछाडि तर्क थियो, नेपालमा घट्दै गएको विदेशी मुद्राको सञ्चिति । अर्थात् विदेशबाट सामान खरिद गर्नका लागि प्रयोग हुने डलर । विदेशी मुद्रा घट्दै जाँदा ऋण तिर्न र विदेशबाट सामान किन्नका लागि पैसा पुग्दैन । र, अन्नतः नेपालको अर्थतन्त्र पनि श्रीलंकाको जस्तै टाट पल्टिने अवस्थाउन्मूख छ ।

विदेशी मुद्रा सञ्चिति घट्नु र बढ्नुमा के फरक पर्छ त ? यसको सोझो उत्तर हुन्छ, जति धेरै विदेशी मुद्रा सञ्चिति देशमा हुन्छ । उक्त देशले त्यति धेरै विदेशबाट वस्तु तथा सामान खरिद गर्न सक्छ ।

रेमिट्यान्स, निर्यात, वैदेशिक ऋण तथा अनुदान, पर्यटन, वैदेशिक लगानी, सुन, बन्ड, ट्रेजरी बिल, विदेशी मुद्रा निक्षेप लगायतका माध्यमबाट विदेशी मुद्रा देशमा प्राप्त हुन्छ । उक्त रकम वैदेशिक ऋण तिर्न, विभिन्न वस्तु तथा सामानहरु जस्तै खाद्यान्न, गाडी, सुन, पेट्रोलियम पदार्र्थलगायत वस्तु तथा सेवा खरिद गर्नका लागि प्रयोग हुन्छ ।

अर्थात्, विदेशी मुद्रा सञ्चिति भएन वा कम भयो भने उक्त देशलाई वैदेशिक ऋण तिर्न तथा सेवा तथा वस्तु विदेशबाट खरिद गर्न गाह्रो पर्छ ।

सन् २०२० देखि शुरु भएको विश्वव्यापी कारोना महामारी, रुस-युक्रेनको युद्ध, चीनमा लकडाउनका कारण आपूर्ति श्रृंखलामा आएको अवरोधका कारण विश्वभर मूल्यवृद्धि भएको छ । जसका कारण नेपाललगायतका देशहरुले महंगो मूल्यमा वस्तु तथा सेवा आयात गर्र्नुपर्यो । र, विदेशी मुद्रा अत्यधिक बाहिरिँदा सञ्चिति कम हुँदै गयो ।

कोरोना महामारीको अवधि र त्यसपछि विदेशी पर्यटकको संख्या कम छ, रेमिट्यान्स बढ्न सकेको छैन भने मूल्यवृद्धिका कारण सोही परिमाणको वस्तुलाई ३०० प्रतिशतसम्म बढी डलर खर्चनु परिरहेको छ । जसले गर्दा विदेशी मुद्रा सञ्चिति घट्दै गएको छ ।

के नेपालमा मात्रै विदेशी मुद्रा सञ्चिति घट्दै गएको हो ?

श्रीलंकामा आर्थिक संकट आउनुको कारण विदेशी मुद्राको सञ्चिति अत्यधिक कम हुनु हो । जसका कारण श्रीलंकासँग डलरमा लिएको विदेशी ऋणवापतको साँवा र ब्याज भुक्तानी गर्न सक्ने अवस्था भएन । महंगीका कारण आयातमा धेरै डलर खर्च हुँदाको असर श्रीलंकाको अर्थतन्त्रमा पर्यो ।

नेपालको हकमा पनि विदेशी मुद्रा सञ्चिति घट्दै गएको छ । गत वर्षको असार महिनामा ११ अर्ब ७५ करोड डलर रहेकोमा गत वैशाख महिनासम्ममा ९ अर्ब २८ करोड डलर मात्रै सञ्चिति छ । यसको अर्थ हो, नेपाललाई उक्त रकमले साढे ६ महिनाका लागि वस्तु तथा सेवा आयात धान्न पुग्छ ।

रेमिट्यान्स आप्रवाह कम हुँदै जानु, वैदेशिक ऋण तथा अनुदान र लगानी कम हुनु नै विदेशी मुद्रा सञ्चिति घट्नुको कारण हो ।

त्यतिमात्रै होइन, अत्यधिक सवारी साधान आयात, पेट्रोलियम, खाद्यान्नलगायतमा भएको चर्को मूल्यवृद्धिका कारण आयातमा अत्यधिक डलर खर्च हुनु पनि विदेशी मुद्राको सञ्चिति घट्नुको कारण हो । नेपालले गत वर्षको तुलनामा पेट्रोलियम पदार्थमा मात्रै ३०३ प्रतिशत बढी डलर खर्च भएको छ ।

विदेशी मुद्रा सञ्चिति घट्दै गएपछि सरकारले विभिन्न वस्तु आयातमा कडाइ समेत गर्यो । बैंकहरुले गाडी आयातका लागि एलसी (प्रतितपत्र) नै खोलेनन् । सरकार आफैले ४७ वस्तुको नामै तोकेर आयातमा कडाइ गर्ने नीति लियो ।

विदेशी मुद्रा सञ्चितिको महत्व कतिसम्म हुन्छ भन्ने बुझ्न दोस्रो विश्वयुद्धपछिको दक्षिण कोरियालाई हेरे पुग्छ

अन्य दक्षिण एशियाली देशमा के छ अवस्था ?

श्रीलंका र नेपालमा मात्रै विदेशी मुद्रा सञ्चितिको समस्या होइन । पाकिस्तान र बंगलादेशमा पनि विदेशी मुद्रा सञ्चिति कम हुँदै गएको छ । दक्षिण एशियामा घट्दो विदेशी मुद्राको सञ्चितिलाई लिएर विश्लेषकहरु ‘इन द आइ अफ स्ट्रोम’ भनेका छन् ।

अर्थात् श्रीलंकासँगै दक्षिण एशियाली देशमो घट्दो विदेशी मुद्रा सञ्चितिका कारण गम्भीर समस्या पर्न सक्ने प्रक्षेपण गरेका छन् ।

‘आगामी केही महिना दक्षिण एशियाली मार्केटको अर्थतन्त्र सुखद् हुने छैन,’ टुन्डर फोन्डरका चिफ इन्भेष्टमेन्ट अफिसर म्याटियस मार्टिनसनले भने, ‘यस अवधिमा मुद्रास्फीति, बढ्दो ब्याजदर र सम्बन्धित देशको मुद्राको अवमूल्यन भएको देख्न सक्नेछौं ।’

घट्दो विदेशी मुद्रा सञ्चितिको मारमा श्रीलंका मात्रै छैन । हिन्द महासागरको किनारामा रहेको मालदिभ्सदेखि सर्वोच्च शिखर सगरमाथाको देश नेपाल पनि यो समस्याबाट अलग छैन । पाकिस्तान, भुटान, बंगलादेश र भारत पनि घट्दो विदेशी मुद्रा सञ्चितिबाट चिन्तित बनेका छन् ।

दक्षिण एशियाली देशहरुमा विदेशी ऋणको मात्रा आकार ठूलो छ । जसमा चीनको हिस्सा धेरै ठूलो छ । पछिल्लो लामो समयदेखि बेइजिङले ‘स्ट्रिङ अफ पिअर्ल’को नीति अनुसार छिमेकी देशका विभिन्न दीर्घकालीन परियोजनाहरुमा ऋणको आकार बढाइरहेको छ । श्रीलंकामा मात्रै १० प्रतिशत ऋण चीनको छ भने पाकिस्तानमा कुल ऋणको २७.४ प्रतिशत हिस्सा चीनको छ ।

श्रीलंका

श्रीलंकामा विदेशी मुद्राको सञ्चिति जम्मा ९ दिनको वस्तु तथा आयात खरिद गर्न मात्रै पुग्छ । अर्थात्, श्रीलंकामा अहिले जम्मा २५ मिलियन डलरभन्दा कम विदेशी मुद्रा सञ्चिति छ । अवस्था कतिसम्म भने केही महिना अघि विद्यार्थीका लागि उत्तरपुस्तिका खरिद गर्नका लागि समेत पैसा नपुग हुँदा परीक्षा सञ्चालन हुन सकेको थिएन ।

हाल श्रीलंका सरकारसँग ५१ बिलियन डलर वैदेशिक ऋण छ । जसलाई तिर्न असमर्थ भएको भन्दै श्रीलंकाले हात उठाइसकेको छ । श्रीलंकन मुद्राको ८० प्रतिशतले अवमूल्यन भइ एक डलर बराबर ३६० रुपी पुगेको छ । यसले श्रीलंकामा मूल्यवृद्धि निकै बढाएको छ । खाद्यान्नमा मात्रै ५७ प्रतिशतले मूल्यवृद्धि भएको छ ।

सन् २०१९ मा भएको आतंकवादी आक्रामणपछि विदेशी पर्यटकको संख्यामा आएको कमीका कारण विदेशी मुद्रा कम भित्रियो । रेमिट्यान्स आप्रवाह पनि कम भयो भने उर्जाको मूल्यमा भारी वृद्धि भयो ।

श्रीलंकामा मूल्यवृद्धि यस वर्षको अन्त्यसम्ममा ३९.१ प्रतिशतसम्म पुग्ने प्रक्षेपण गरिएको छ । अर्थतन्त्र धराशायी भएपछि यतिबेला श्रीलंका सरकारले भारत र चीन सरकारसँगै आईएमएफसँग पनि सहयोगको अपिल गरिरहेको छ । तर, अपेक्षाकृतरुपमा सहयोग प्राप्त हुन सकेन ।

विदेशी मुद्रा सञ्चितिको अवस्था निकै कमजोर भएसँगै श्रीलंकन सरकारले प्रतिव्यक्तिले डलर राख्न पाउने सीमालाई १५ हजारबाट घटाएर १० हजार डलर कायम गरेको छ ।

मालदिभ्स

मालदिभ्समा विदेशी मुद्राको सञ्चिति एक वर्षको अवधिमा सन् २०२२ मार्च महिनामा ४ प्रतिशत र अप्रिल महिनासम्म ६ प्रतिशतले घटिसकेको छ ।

राष्ट्रपति इब्राहिम मोहमेद सोलिहले सन् २०१९ फेब्रुअरी ७ मा भएको गरेको भाषणमा सन् २०२३ सम्ममा विदेशी मुद्राको सञ्चितिलाई १ बिलियन डलर पुर्याउने लक्ष्य लिएको बताएका थिए । जसअनुसार मालदिभ्सले विदेशी मुद्राको सञ्चितिलाई बढाउदै गएको पनि थियो ।

तर, विश्वव्यापी भएको मूल्यवृद्धिका कारण विदेशी मुद्राको सञ्चिति ९८५ मिलियन डलरबाट घटेर सन् २०२१ को फेब्रअुरीमा ८५३ र पछिल्लो समय ८२९ मिलियन डलरमा सीमित भएको छ ।

पाकिस्तान

पाकिस्तानको सरकारले विदेशी मुद्रा सञ्चिति कमजोर बन्दै गएपछि आफ्ना नागरिकलाई कम चिया पिउन, खानाका परिकारमा एउटामात्रै ब्यञ्जन समावेश गर्न सुझाव दिएको थियो । कारण थियो चिनी तथा खाद्यान्न आयात गरिरहेको र मूल्यवृद्धिका कारण आयातमा बढिरहेको खर्च । एक अध्ययन अनुसार पाकिस्तानमा औसतमा एक जनाले दैनिक तीन कपसम्म चिया पिउँछन् ।

पाकिस्तानको केन्द्रीय बैंक स्टेट बैंक अफ पाकिस्तानका अनुसार एक सातामै विदेशी मुद्राको सञ्चिति ८.३२ प्रतिशतले घटेको छ । गत जुन १० तारिखमा पाकिस्तानसँग ८९८५.३ मिलियन डलर रहेकोमा जनु १७ मा ८२३७.७ मिलियन डलरमा सीमित भएको छ ।

त्यहाँको केन्द्रीय बैंकका अनुसार वैदेशिक ऋणको रिपेमेन्टका कारण विदेशी मुद्रा घटेको छ । र, आगामी दिनमा चाइना डेभलपमेन्ट बैंकलाई तिर्नुपर्ने ऋण बढ्ने भएकाले विदेशी मुद्रा सञ्चिति अझै घट्ने देखिन्छ ।

पाकिस्तानसँग सन् २०२१ मा हालसम्मकै सबैभन्दा बढी २०.१५ मिलियन डलर विदेशी मुद्रा सञ्चिति थियो । किनभने सन् २०२१ अगष्ट २४ मा आईएमएफबाट स्पेसल ड्रइङ राइट्स (एसडीआर) अन्तर्गत २७५१.८ डलर सहयोग लिएको थियो ।

भुटान

कोरोना महामारीका कारण शिथिर भएको भुटानको अर्थतन्त्र सन् २०२० मा १०.८ प्रतिशतले घट्यो । तर, त्यहाँको अर्थमन्त्रालयले सन् २०२१ मा ३.७ प्रतिशत भएको र सन् २०२२ मा ४.५ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको थियो । साथै, २०२३ मा ३.८८ प्रतिशतको आर्थिक वृद्धि हुने अनुमान गरिएको थियो ।

तर, खाद्यान्नको मूल्यमा भएको वृद्धि, बढ्दो यातायात खर्च, बढ्दो व्यापाघाटा, बढ्दो ऋण, कमजोर बनेको आन्तरिक राजस्व संकलन अर्थतन्त्रका लागि शुभ संकेत देखाएको छैन । जसका कारण भुटानमा गत वर्षको १.५६ बिलियन डलर रहेको विदेशी मुद्रा सञ्चिति घटेर यस वर्षको अन्त्यसम्ममा १.३३ बिलियन डरमा सीमित हुने अनुमान गरिएको छ ।

यद्यपि यो रकमले भुटानलाई २२ महिनाका लागि वस्तु तथा सेवा आयात गर्न पुग्छ । भुटानका प्रधानमन्त्री डा. लोते छिरिङले घट्दो विदेशी मुद्रा जोगाउन आयात कम गर्ने वा रोक लगाउन पनि सकिने बताइसकेका छन् । साथै २ देखि ३ वटा परियोजनामा विदेशी लगानी समेत ल्याउने योजना बनाइरहेको बताएका छन् ।

बंगलादेश

पछिल्लो समय तीव्र गतिमा आर्थिक वृद्धिदर कायम गरिरहेको बंगलादेशमा पनि विदेशी मुद्रा सञ्चिति घट्दै जाँदा चिन्ता व्यक्त गर्न थालिएको छ । सन् २०२१-२२ को पहिलो १० महिनामा ४१.४२ प्रतिशतले आयात बढेर ६८.६७ बिलियन डलर पुगेको थियो । अत्यधिक डलर आयातमा खर्च हुँदा विदेशी मुद्रा सञ्चिति ६ महिनाको आयातका लागि मात्रै बाँकी छ ।

गत वर्षको अगस्ट महिनामा कोरोना महामारीका कारण लागू भएको लकडाउनमा आयात कम हुँदा बंगलादेशमा हालसम्मकै सबैभन्दा बढी विदेशी मुद्रा सञ्चिति ४८ बिलियन डलरसम्म पुगेको थियो । बंगलादेशमा गत अप्रिलसम्म ४४.९६ बिलियन डलर थियो भने मे महिनाको अन्त्यसम्ममा ४२.२० बिलियन डलरमा विदेशी मुद्रा सञ्चिति सीमित भएको छ ।

बंगलादेशले विदेशी मुद्रा जोगाउनका लागि विलासी वस्तु तथा अत्यावश्यक बाहेकका वस्तुको आयातमा प्रतिबन्ध लगाउँदै सरकारी अधिकारीहरुलाई समेत अनावश्यक विदेश भ्रमणमा रोक लगाउने निर्णय गरेको थियो ।

भारत

भारतको विदेशी मुद्रा सञ्चिति लगातार घट्दो क्रममा छ । पछिल्लो तीन सातामा मात्रै ११ बिलियन डलर घटिसकेको छ । जुन १७ सम्मको तथ्यांक विश्व अर्थतन्त्रमा समस्या देखिएसँगै भारतबाट विदेशी लगानीकर्ताहरुले लगानी फिर्ता लैजान थालेपछिको असर विदेशी मुद्रा सञ्चितिमा देखिएको हो ।

भारतको केन्द्रीय बैंक रिजर्भ बैंक अफ इन्डियाका अनुसार तीन सातामा १०.७८५ बिलियन डलरले घटेर ५९०.५८८ बिलियन डलरमा सीमित भएको छ । यो रकमले भारतलाई १० महिनाको वस्तु तथा सेवा आयातका लागि पुग्छ ।

सन् २०२३ सम्ममा भारतमा विदेशी मुद्रा सञ्चिति घटेर ५६५ बिलियन डलरमा सीमित हुने प्रक्षेपण गरिएको छ । भारतसँग सन् २०२१ को सेप्टेम्बर ३ तारिखमा हालसम्मकै सबैभन्दा बढी ६४२.४५३ बिलियन डलर विदेशी मुद्रा सञ्चिति पुगेको थियो ।

यी देशमा छ सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति

सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति हुने देशमा चीन सबैभन्दा अगाडि छ । अर्थात् चीनसँग सबैभन्दा धेरै डलर छ । हाल चीनसँग ३४८० बिलियन डलर विदेशी मुद्रा सञ्चिति छ । दोस्रो स्थानमा रहेको जापानसँग १३७६ बिलियन डलर विदेशी मुद्रा सञ्चिति छ ।

साथै, स्विजरल्याण्डसँग १०३३ बिलियन डलर, रुससँग ६३० बिलियन डलर, भारतसँग ५९०.५८ बिलियन, ताइवानसँग ५४८ बिलियन डलर, हङकङसँग ५०४ बिलियन डलर, साउदी अरेबियासँग ४५१ बिलियन डलर विदेशी मुद्रा सञ्चिति छ ।

त्यसैगरी दक्षिण कोरियासँग ४४९ बिलियन डलर र सिंगापुरसँग ३६५ बिलियन डलर विदेशी मुद्रा सञ्चिति छ ।


क्लिकमान्डु